बन्दीपुरको पर्यटन विकासमा ३० करोड लगानी

बन्दीपुरको पर्यटन विकासमा ३० करोड लगानी

तनहुँ: तनहुँको सुन्दर पर्यटकीय नगरी बन्दीपुरको होटल व्यवसायमा झण्डै ३० करोड लगानी थपिएको छ। यस नगरमा फस्टाउँदो पर्यटन व्यवसायमा अहिले लगानीसमेत बढिरहेको छ। पर्यटक थप भित्र्याउनका लागि निजी क्षेत्रसमेत तातेको छ।

स्वदेशमा मात्र नभएर विदेशका पर्यटकमाझ निकै नै प्रसिद्ध बन्दीपुर बजार सांस्कृतिक ग्रामिण पर्यटनका दृष्टिले महत्वपूर्ण छ। पृथ्वी राजमार्गबाट करिब १५ मिनेटको सहज यातायात पहुँचबाट पुग्न सकिने बन्दीपुरमा पछिल्लो समय होटल थपिने क्रम बढेको छ। यसले लगानी समेत बढाएर बजारमा चहलपहल बढाउन थालेको छ।

पुरानो मौलिक भवनमा लगानीकर्ताको रुचि
बन्दीपुरमा पछिल्लो एक वर्ष भित्रमा उल्लेख्य मात्रामा लगानी भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष बैश गुरुङले बताए । ‘पर्यटकको रुचि बढेका कारण यहाँ पुराना शैलीमा भवन बनाउने र होटल चलाउने क्रम बढेको छ,' गुरुङ आफैले समेत झण्डै दुई करोड लागतमा यसै वर्षबाट सेवा थाल्ने गरी होटल बनाइरहेका छन्। बजारमा ठूला लगानीका मात्र झण्डै पाँच नयाँ होटल यसै वर्ष सञ्चालनमा आउँदैछन्। प्राचीन नेवारी संस्कृतिका कारण धनी बन्दीपुर बजारमा भक्तपुरे शैलीका नेवारी घर विदेशी पर्यटकको विशेष रुचिमा परेकाले पुराना भवनको मर्मत तथा नयाँ भवनको निर्माणमा लगानी विस्तार भएको गुरुङले बताए।

आधुनिक भवनमा प्रतिबन्ध
उनका अनुसार साँघुरो बजार बाहेकका आसपासका क्षेत्रमा समेत लगानी वृद्धि भैरहेको छ। बन्दीपुर बजार साँघुरो बन्दै जान थाले पछि अहिले आसपासका क्षेत्रमासमेत ‘मिनि बन्दीपुर'को अवधारणामा काम भैरहेको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए। गाउँपालिकाले बजारको पहिचान मेटिन नदिनका लागि पुराना शैलीमै मात्र घर बनाउनुपर्ने नियम बसालेको छ।

‘बन्दीपुरको सुन्दरतालाई आधुनिकताले नबिगारोस् भनेर यस्तो प्रबन्ध गरेका हौं,' उनले भने। गाउँपालिकाले मौलिकता नभएका भवनको जाँचपास समेत नदिने नीति लिएर बजारको पहिचान जोगाउन लागेको उनले बताए। ‘बन्दीपुरको पहिचान जोगाउन सकिए मात्र पर्यटकको संख्यालाई अझ विस्तार गर्न सकिन्छ,' उनले भने। गाउँपालिकाले तीन तल्ला भन्दा अग्लो भवन बनाउन समेत नदिने नीति लिएको छ।

विश्व सम्पदा सूचीमा पर्ने प्रसंग बेला बेलामा चल्ने बन्दीपुर बजार हल्लाखल्ला र कोलाहलमुक्त छ। बजारमा सवारी साधनको प्रवेश वर्जित रहेको बन्दीपुर साँच्चिकै सफा र मनमोहक छ। यस्ता सम्पदाले बजारको शोभा बढाएको र पर्यटकको ध्यान तानेको धारणा धेरैको छ।

पर्यटकको रोजाई पुराना सम्पदामा निर्मित होटलमा पर्ने भएकाले अहिले बजारभित्र पुरानै शैलीमा भवन बनाउने होड नै चलेको छ । बन्दीपुरको विदेशी पर्यटकको बाक्लो चहलपहल रहने चर्चित ओल्ड ईनले अहिले बजारभित्रै पुराना घर भाडामा लिंदै होटल विस्तार गरिरहेको छ । म्यानेजर रामशरण श्रेष्ठ पुराना शैलीका भवन नै विदेशीको रोजाइमा पर्ने भएकाले व्यापार बढेको बताउँछन्। ‘त्यही भएर थप भवन भाडामा लिएर पनि व्यवसाय विस्तार गरेका हौं,' उनले भने।

पूर्वाधार विकासको तयारी
बन्दीपुरको विशेषता सांस्कृतिक त छ नै ऐतिहासिक हिसाबले समेत महत्वपूर्ण छ। प्राचीन सेनवंशीय राजाको प्रिय सहर बन्दीपुरबाट देखिने प्राकृतिक दृश्यावलीसमेत धेरैका लागि मनमोहक छ । यस ठाउँको प्रचार प्रसारका कारण पछिल्लो समय पर्यटक आउने क्रम बढेको छ । ‘यहाँको पर्यटनमा आशालाग्दो अवस्था छ,' बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैश गुरु भन्छन्।

पर्यटनबाटै आफुलाई जोगाउन सफल पुरानो बन्दीपुर बजार क्षेत्रसँगै अहिले आसपासमासमेत पर्यटकीय पूर्वाधार विकासको काम भैरहेको छ। कृत्रिम तालदेखि भ्यु टावर र केबलकारसम्मका अवधारणाबारे काम भैरहेको बन्दीपुर गाउँपालिकाको भनाइ छ। बन्दीपुर मुलथलो भएर चितवन तथा राजधानीमा बस्ने बन्दीपुरेहरुले समेत आफ्नो ठाउँको विकासमा विशेष रुचि देखाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.