यार्सागुम्बासहित दुई भारतीय नागरिक पक्राउ
दार्चुला: एक सय ग्राम यार्सासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। भारतको धार्चुलाबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा छोटी भन्सार कार्यालय दार्चुलाको पुल घाट चेक पोष्टमा रहेका सुरक्षाकर्मीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म दार्चुलाको संयुक्त टोलीले भारतीय नागरिक १८ बर्षका मन्नु राठौर र २० बर्षका अमित नग्याललाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक जनक बहादुर शाहीका अनुसार पकेटमा लुकाई छिपाई ल्याएको अवस्थामा चेकजाँच गर्दा यार्सागुम्बा फेला परेको हो। उनीहरुलाई आवश्यक कारवाहीका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमा पठाइएको छ।
उनीहरुलाई वन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही प्रकृया अगाडि बढाइने निमित्त संरक्षण अधिकृत पेम्बा शर्माले जानकारी दिइन्।