स्थानीय तहको चुनाव: जनकपुरमा ‘साहुजीहरू
जनकपुर: दुई नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको जनकपुर उपमहानगरमा ‘साहुजी समुदाय' कै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रमुख तीन दलका साथै मधेसकेन्द्रित दलले समेत व्यापारिक वर्गका रूपमा चिनिएको ‘साह' समुदायबाट उम्मेदवार बनाएपछि जातीयता प्रमुख मुद्दा बनेको छ । उपमहानगरका १९ मेयर उम्मेदवारमध्ये ११ जना ‘साहुजी समुदाय' का छन्।
कांग्रेसले मनोज साह, एमालेले लक्ष्मीनारायण साह भगत, माओवादीले चन्द्रशेखर साह, राजपाले लालकिशोर साह, फोरम नेपालले विष्णुदेव साह र फोरम लोकतान्त्रिकले हंसराज साहलाई मेयर उम्मेदवार बनाएका छन् । जनकपुरस्थित रारा बहुमुखी क्यापसका राजनीतिशास्त्रका प्राध्यापक नवीन मि श्र भन्छन्, ‘जातीयता, पैसा र शक्तिको संगमले यहाँ उम्मेदवार छनोट भएको देखिन्छ।'
०६८ को जनगणनाअनुसार जनकपुर उपमहानगरको जनसंख्या १ लाख ५४ हजार ५ सय ८९ छ । त्यसमध्ये यहाँ ‘साहुजी समुदाय' को संख्या २२ हजार हाराहरी छ । २५ वटा वडा रहेको यो उपमहानगरमा ७५ हजार ५ सय ९४ मतदाता छन् । दुई नम्बर प्रदेशमा सबैभन्दा बढी १८ दशमलव ३ प्रतिशत दलित छन् भने यादवको जनसंख्या १४ दशमलव १२ प्रतिशत छ।
धनुषा जिल्लाको समग्र जनसंख्यामा यादव समुदायको बाहुल्य छ । त्यसपछि मुसलमान छन् । धनुषामा यादवको जनसंख्या १७ दशमलव ४९ प्रतिशत र मुस्लिमको जनसंख्या ५ दशमलव २० प्रतिशत छ । साहुजी समुदायको जनसंख्या समग्र जिल्लामा ५ दशमलव २० प्रतिशत छ।
जनकपुरकै अर्का प्राध्यापक सुरेन्द्र लाभ भन्छन्, ‘राजनीतिमा सस्तो नारा खोज्ने क्रम प्रतिदिन बढ्दै गएको छ । जातीयताको नारा दिएर नेतालाई मत बटुल्न सबैभन्दा बढी सहज भएको देखियो । मधेसी समाजमा अन्तरजातीय बिहे बढिरहँदा मधेसको राजनीतिमा जातीय पक्ष बलियो ढंगले हाबी भइरहेको छ।'
तराईसँगै छिमेकी भारतको बिहार र उत्तरप्रदेशको सीमावर्ती भएकाले तराई–मधेसमा यसको प्रभाव पहाडभन्दा बढी देखिएको आकलन उनको छ । ‘यसले हाम्रो निर्वाचन प्रणालीलाई नै पुनः परिभाषित गर्ने अवस्था निम्त्याइदिन सक्छ', उनले भने।
कांग्रेस र राजपा उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको यो उपमहानगरबाट संविधानसभाको दुवै निर्वाचनमा सञ्जय साहले जितेका थिए । साहुजी समुदायकै उनी विभिन्न आपराधिक गतिविधिमा मुछिएपछि अहिले जेलमा छन् । मधेस आन्दोलनपछि जनकपुरमा ‘बाहुबली नेता' का रूपमा चिनिएका सञ्जयको विकल्प खोज्न थालिएको छ । राजपाका उम्मेदवार लालकिशोर साहलाई सञ्जयका समर्थकले पार्टीगत नाताले सहयोग गरिरहेको देखिएको छ । सञ्जयका प्रतिद्वन्द्वीका रुपमा रहेका डन जीवनाथ चौधरीको समर्थनमा कांग्रेसका मनोज साह देखिएका छन् । यिनै दुई उम्मेदवारबीचमा यहाँ कडा प्रतिस्पर्धा भएकाले धेरैले जनकपुरको पुरानो विरासतसँग समेत अहिलेको चुनावलाई हेरिरहेका छन्।
‘जनकपुरमा साहुजी अर्थात् व्यापारी समुदायको निर्वाचनमोह पैसा र सत्तासँग जोडिएको विषय हो । निर्वाचनमा जातसँगै पैसा पनि हाबी भयो', युवा अभियन्ता अशोक साह भन्छन्, ‘पैसासँगै सत्ता पनि जोडिन पुगेको देखिन्छ।'
विमलेन्द्रको परीक्षा
जनकपुरमा सोमबार पत्रकार भेटघाटमा कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरसहित दुई नम्बर प्रदेशभरि नै कांग्रेसको पक्षमा जनलहर चलेको दाबी गरे । उम्मेदवार छनोटका क्रममा नेता निधि हाबी भएको भन्दै केन्द्रमा पौडेलसहितका अन्य गुटका नेताले कडा विरोध गरेका थिए। तर, निधिले त्यसको बचाउ गरे । निधिको सिफारिसमा साहलाई जनकपुरको मेयर उम्मेदवार बनाइएपछि धनुषा कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ।
प्राध्यापक लाभ जनकपुरको मेयरमा मनोज साह पराजित भए निधिको साख कमजोर पर्ने विश्लेषण गर्छन्। उनी भन्छन्, ‘मनोजभन्दा धेरै बलियो उम्मेदवार हुँदाहुँदै निधिले मनोजलाई अघि सारेका छन्, यसले उनको पकडको समेत परीक्षा हुनेछ।'