पाँच रुपैयाँको माग बढी

पाँच रुपैयाँको माग बढी

काठमाडौं: दसैंमा सबैभन्दा बढी ५ रुपैयाँ दरका नोट बढी माग हुने गरेको छ। बिजोर अंकमा दक्षिणा दिने चलनका कारण ५ का नोटको माग बढेको हो। पहिला बिजोर अंकका लागि जति दक्षिणा दिए पनि १ रुपैयाँका नोट थपेर दिइन्थ्यो । राष्ट्र बैंकले १ रुपैयाँका लागि सिक्कामात्र निष्कासन गर्न थालेपछि ५ रुपैयाँका नोट प्रचलनमा आयो।

 

यसपालि दसैंका लागि राष्ट्र बैंकले ७० अर्ब रुपैयाँबराबरका नयाँ नोट तयार पारेको छ, जुन भदौ २८ गतेदेखि सटही सुरु हुनेछ । ‘यसमा कुन दरका नोट कति थान छन् हिसाब गरेको छैन', मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, ‘तर ५ का नोट बढी संख्यामा हुनेछन्।'

निष्कासन भइरहेकै कागजी मुद्रामा सबैभन्दा चलनचल्तीमा आउने पाँचका नोट हुन्। ‘खरिदबिक्रीमा फिर्ता दिन प्रयोग हुने भएकाले पाँचका नोटको माग बढी छ', उनले भने। अहिले बजारमा ५ रुपैयाँ दरका ४५ करोड थान नोट छन् । मूल्यका हिसाबले थोरै भए पनि संख्याका हिसाबले भने बजारमा यो नोटको बाहुल्य छ। राष्ट्र बैंकको तथ्यांकअनुसार पाँच दरका नोटपछि बजारमा बढी प्रचलनमा १० दरका नोट हुने गर्छन्।

अहिले बजारमा ३४ करोड थान १० दरका नोट यताउता भइरहेका छन्। दसैंमा मागको हिसाबले सय दरका नोट तेस्रो स्थानमा पर्छन् । अरु समयमा पनि सय दरका नोट तेस्रो नम्बरमै छ। बजारमा अहिले साढे २९ करोड थान एक सय दरका नोट चलनचल्तीमा छन् । दसैंको टीकाटालो होस् वा उपभोक्ताले खरिदबिक्रीमा सयको नोट एकदम प्रयोग हुन्छ। ठूला नोटमा जोखिम (नक्कली आदिको) हुने भएकाले मध्यमस्तरका नोटको बजारमा माग हुन्छ।
दसैं पर्ने पहिलो पहिलो त्रैमास (साउन, भदौ, असोज)मा गतवर्ष १० अर्ब ३२ करोडका पाँचदेखि एक सय दरका नोट साटिएका थिए। देशभरि उक्त दरका १२ अर्ब नयाँ तथा सुकिला नोट रहेको राष्ट्र बैंकले बताएको छ।

गतवर्ष पहिलो त्रैमासमा साटिएका ६६ अर्ब रुपैयाँमध्ये बाँकी पाँच र हजार दरका नोट भएको राष्ट्र बैंकले बताएको छ । गतवर्ष पाँचदेखि हजारसम्मका ५६ अर्ब रुपैयाँबराबरका नोट निष्कासन भएको थियो भने चार खर्ब २१ अर्ब मूल्यबराबरका नोट वितरण भएको निरौलाले बताए।

नोटको इतिहास
देशमा कागजी नोटको प्रचलन २००२ सालबाट सुरु भएको हो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्रा प्रतिस्थापन हुँदै गएका छन् । २००२ साल असोज १ गतेबाट श्री ३ जुद्धशमशेरले श्री ५ त्रिभुवनको श्रीपेचसहितको मुखाकृति अंकित १, ५, १० र १०० दरका नोट सदर मुलुकीखानामा छपाएका थिए । ५ दरका दुई लाख, १० दरका एक लाख र एक सय दरका पाँच हजार प्रतिनोट छापिएका थिए । नोटमा खजान्ची नरेन्द्रराज तथा जनकराजको हस्ताक्षर थियो।

२०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि तिनै तीन दरका नोटको निष्कासन जारी रहयो । २०२६ वैशाख १४ गतेदेखि एक हजार दरका नोट प्रचलनमा आए भने २०२७ साल जेठ ३० बाट पाँच सय दरका नोट पनि प्रचलनमा ल्याइयो।

त्यसरी नै ५० दरका नोट २०३४ वैशाख १४ बाट, २०३८ साल वैशाख १४ बाट दुई रुपैयाँ दरको नोट चलन चल्तीमा ल्याइयो। २०३९ साल कात्तिक २२ गते २० रुपैयाँको नोट नेपाल राष्ट्र बैंकले बजारमा पठायो । नेपालमा २०५२ चैत्र २८ र २९ गते क्रमशः दुई सय ५० र २५ दरका नोट प्रचलनमा आए । राजा वीरेन्द्रको गद्दी आरोहणको रजत जयन्तीको विशेष अवसर पारेर राष्ट्र बैंकले उक्त दरका नोट छापेको थियो । तिनमा दुई सय ५० दरको नोट भने चलन चल्तीमा छैन।

राष्ट्र बैंकले बेलायत, नेदरल्यान्ड्स, अस्ट्रेलियालगायत देशमा नोट छाप्दै आएको थियो । धेरै वर्ष बेलायतको ‘डिलारु करेन्सी'मा नोट छापिएको थियो । भारत र चीनमा पनि नेपाली नोट छापिएको छ । तत्कालीन गभर्नर युवराज खतिवडाको पालामा भारतमा छापिएको नोटमा कागजको गुणस्तर नभएको गुनासो आएपछि त्यहाँ नोट छाप्न बन्द गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.