अदालतका अधिकृतले कुटे ड्युटीका प्रहरी

अदालतका अधिकृतले कुटे ड्युटीका प्रहरी

विराटनगर: उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेलले सोमबार साँझ ड्युटीमा भएका प्रहरीमाथि कुटपिट गरेका छन्। अत्यधिक मादक पदार्थ सेवन गरेर स्कुटर चलाउँदै आएका प्याकुरेलले विराटनगरको अति नै व्यस्त रहने जलजला चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंहमाथि साँझ ७ बजे कुटपिट गरेका हुन्।

सिंह जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत जवान हुन्। कुटपिटबाट सिंहको छात्ती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ भने ड्युटीका क्रममा लगाएको पोशाक पनि च्यातिएको । उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ। छात्तीको भित्री भागमा चोट लागेको जानकारी चिकित्सकले गराएका छन्।

प्रत्यक्षदर्शीका अनुसार को ३० प ८४१० नम्बरको स्कुटर चलाएर उत्तरबाट जलजला चौकमा आइपुगेका प्याकुरेलले वान वे रहेको शनिमन्दिरतर्फ स्कुटर मोड्न खोजेपछि ट्राफिक प्रहरीले रोकेको थियो । ‘स्कुटर वान वे तर्फ मोड्न खोज्दा मैले त्यता जान मिल्दैन भनेर रोकें,' सिंहले भने, ‘सम्झाई बुझाई गर्न खोज्दा उल्टै गालीगलौजमा उत्रिए।'

अत्यधिक मदिरा सेवन गरेका प्याकुरेलले आफू अदालतको अधिकृत भएकाले एउटा ट्राफिक जवानले आफूलाई रोक्न नसक्ने धम्की दिंदै कुटपिट गरेको उनले बताए। ‘जवरजस्ती गर्न खोजेपछि मैले ब्लुबुक, सवारी चालक अनुमति पत्र लगायतका कागजपत्र पनि मागें,' सिंहले भने, ‘त्यसपछि एक्कासि गालीगलौज गर्दै आक्रमणमा उत्रिएर म माथि मुक्का बर्साइयो।'

प्रहरीले आफूसंग सवारी साधनको कुनै पनि कागजपत्र माग्ने हैसियत राख्न नसक्ने भन्दै दुरव्यवहार र कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीका प्रहरीमाथि प्याकुरेल एकोहोरो रुपमा कुटपिटमा उत्रन थालेपछि स्थानीय बासिन्दा आएर छुट्याएका थिए । प्रत्यक्षदर्शीका अनुसार आफूले कुटाई खाइरहँदा ट्राफिक जवान सिंहले भने प्याकुरेलमाथि कुनै पनि दुरव्यवहार गरेनन्।

ट्राफिक प्रहरीलाई कुटपिट गरेर भाग्न खोज्दा नियन्त्रणमा लिने क्रममा प्याकुरेलले वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत हवल्दार निर्मल कार्कीलाई पनि मुक्का प्रहार गरेको डीएसपी सुरेन्द्र सिटौलाले बताए। ड्युटीमा भएका प्रहरीमाथि कुटपिट गर्ने अदालतका अधिकृत प्याकुरेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको सिटौलाले बताए। उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मादक पदार्थ सेवन गरेको पत्ता लागेको छ। उनले चलाएको स्कुटर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा राखिएको छ।

विराटनगर ४ घर भएका ३९ वर्षीय प्याकुरेलको नायव शुब्बा (नाशु) बाट बढुवा भएर अधिकृत भएपछि उच्च अदालतमा पोष्टिङ भएको थियो । नाशु हुँदा उनी जिल्ला अदालत मोरङमा कार्यरत थिए। प्याकुरेललाई मादक पदार्थ सेवन गरेर सवारी चलाएको र ड्युटीमा भएका प्रहरीमाथि दुरव्यवहार गरेको घटनामा यस अघि पनि प्रहरीले पक्राउ गरेको थियो। कारवाही नगर्नका लागि विभिन्न दवावमा परेको प्रहरीले त्यतिबेला उनलाई विना कारवाही छाडेको थियो।

जिल्ला अदालत मोरङका एक कर्मचारीले अदालतका अधिकृत भएर मादक पदार्थ सेवन गर्दै ड्युटीमा भएका ट्राफिक प्रहरीमाथि कुटपिट गरेर सिंगो न्यायालयकै बद्नाम गरेको प्रतिक्रिया दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.