रातु पुलमा बन्यो बेली ब्रिज
बर्दिबास: महोत्तरी र धनुषाको बीचमा रहेको रातु खोलामा बेली ब्रिज हालेपछि सवारी साधनको आवागमन सुचारु भएको छ। साउन २८ गते रातिको बाढीका कारण महोत्तरीतर्फको चौथो पिलर भासिएपछि पुलबाट यातायातका साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो। पिलर भासिएको ठाउँमा ३५ मिटर लामो बेली ब्रिज आठ दिनमा जडान गरी पुलबाट सवारी साधन गुड्न थालेका हुन्।
‘चारपांग्रे हलुका सवारी साधन पुलबाटै गुड्न थालेका छन्', बर्दिबास इलाका प्रहरीका डीएसपी प्रवीण पोखरेलले भने, ‘पुल जडान इन्जिनिरिङ हिसाबले मिलेको छ कि छैन भन्ने जाँच्न हलुका सवारी साधन सञ्चालनमा ल्याइएको हो।' एक-दुई दिनपछि हेभी गाडी पनि पुलबाटै गुड्न सक्ने प्राविधिकलाई उद्धृत गर्दै उनले सुनाए।
मालवाहक गाडी अहिले पनि खोलाबाटै एकतर्फी रूपमा गुडिरहेका छन्। आइतबार साँझ बाढीले डाइभर्सन बगाउँदा सयौं सवारी साधन महोत्तरीको बर्दिबास र धनुषाको लालगढमा जाममा परेका थिए। बाढी घटेपछि वैकल्पिक बाटो बनाएर खोलाबाट मालवाहक गाडी गुड्न थालेका छन्।
दक्षिणतर्फको वैकल्पिक बाटो बाढीले पटक-पटक बगाउँदा चार दिनसम्म यातायात अवरुद्ध भएको थियो। पूर्व-पश्चिम राजमार्गमा पर्ने रातु पुल भासिँदा सबैभन्दा बढी मालवाहक सवारी साधन समस्यामा परेका थिए। २०७१ सालमा पनि दुईवटा पिलर भासिँदा बेली ब्रिज जडान गरी पुल सञ्चालनमा ल्याइएको थियो। उत्तरतर्फ नयाँ पुल बन्ने क्रममा छ।