सडक नहुँदा गाउँपालिकाबाट सेवा लिन सास्ती
बैतडी: सुर्नया-८ का कमल बोहरालाई गाउँपालिका केन्द्र पुग्न कम्तीमा चार घन्टा हिँड्नुपर्ने हुन्छ। काम पर्दा गाउँपालिका केन्द्र कसरी पुग्ने भन्ने चिन्ता हुने गर्छ, उनलाई। बोहरालगायत स्थानीयलाई गाउँपालिकाको केन्द्र रौलेश्वर पुग्न सडक सञ्जाल नहुँदा समस्या भएको हो। ‘गाउँपालिका केन्द्रमा हुने कामका लागि दुई दिन छुट्ट्याउनुपर्छ । सडक नभएकाले पैदल हिँड्नुको विकल्प छैन', वडा नम्बर ८, ढोलेका वीरबहादुर बोहरा भन्छन्, ‘हामीलाई सदरमुकाम जान सजिलो छ तर गाउँपालिका केन्द्र पुग्न निकै असहज छ ।'
जिल्लाका सुर्नया, डिलासैनी, पञ्चेश्वर र सिगास गाउँपालिकाका केन्द्रमा अझै सडकको पहुँच पुग्न सकेको छैन । जिल्लाकै विकट सिगास गाउँपालिकाको केन्द्र पुग्न कम्तीमा पाँच घन्टा पैदल हिँड्नुपर्ने वडा नम्बर ६, थालाकाँडाका पदम रोकाया बताउँछन् । ‘गाडीमा सदरमुकाम पुग्न तीन घन्टा लाग्छ', उनी भन्छन्, ‘अहिले गाउँपालिकाकै केन्द्र पुग्न पाँच घन्टा हिँड्नुपर्छ । गाउँपालिकाको केन्द्र जोड्ने सडक नहुँदा धेरै समस्या भएको छ।'
तल्लोसोराडस्थित पञ्चेश्वर गाउँपालिकाको केन्द्रलाई पनि सडकले छोएको छैन । गाउँपालिका केन्द्रमा सडक नपुग्दा स्थानीयवासीलाई सास्ती भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द बताउँछन् । ‘गाउँपालिकाको केन्द्रमा सडक पहुँच नहुँदा धेरै समस्या भएको छ', अध्यक्ष चन्द भन्छन्, ‘हामीले प्रथम गाउँसभाबाट गाउँपालिका केन्द्रसम्म सडक पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छौं । हामी चाँडै सडक पुर्याउँछौं।'
डिलासैनी-६, गोकुलेश्वरका कृष्णनाथ योगीको घर सडकछेउमै छ । तर, गाउँपालिकाको सेवा लिन भने उनले चार घन्टा उकालो चढ्नुपर्छ । गाउँपालिका केन्द्रमा सडक नपुगेकाले सेवाग्राहीले पैदल हिँड्नुको विकल्प छैन । ‘सडक पुगेका ठाउँमा वर्षौंपछि कालोपत्रे भएको छ । कतिपय कच्ची सडकमा गाडी नै गुड्न सकेको छैन', योगी भन्छन्, ‘गाउँपालिकाको केन्द्र जोड्ने सडक कहिले बन्ला खोइ !' सडक नबन्ने हो भने सदरमुकामभन्दा बढी टाढा गाउँपालिकाको केन्द्र हुने उनी सुनाउँछन्।
सडक नपुगेका स्थानीय तहका नागरिकलाई सेवा लिन सास्ती भइरहेको छ । सडक निर्माणलाई पहिलो प्राथमिकता दिएकाले यो समस्या धेरै दिन नरहने सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टको दाबी छ । ‘सडक पहुँच सबै ठाउँमा पुगेको छैन', अध्यक्ष विष्ट भन्छन्, ‘अत्यावश्यक विकासका पूर्वाधार गाउँपालिका केन्द्रसम्म पुर्याउन हामीले पहल गरिरहेका छौं।'
अब एक वर्षभित्र गाउँपालिका केन्द्रमा सडक पुग्ने सिगासका अध्यक्ष हरिसिंह धामी दाबी गर्छन् । ‘गाउँपालिका नहुँदा सडक निर्माणले त्यति चर्चा पाएको थिएन । अब कम्तीमा पनि गाउँपालिका केन्द्रमा सडक पुर्याउन हामीले पहल गरिरहेका छौं', अध्यक्ष धामी भन्छन्, ‘सुरुको अवस्थामा केही समस्या भए पनि एक-दुई वर्षभित्र यी समस्या हल हुनेछन्।'
यी गाउँपालिकाले गाउँसभाबाट सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् । नीति, कार्यक्रम तथा बजेटमा सडकलाई प्राथमिकता दिएको सुर्नया गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ । ‘नीति तथा कार्यक्रमअनुसार हामी अघि बढ्छौं', उनी भन्छन्, ‘सडक नहुँदा नागरिकले भोग्नुपरिरहेको सास्ती कम गर्न प्रयास गरिरहेका छौं।'
सिगास गाउँपालिकाले सडकका लागि गाउँसभाबाट ३ करोड ९० लाख बजेट विनियोजन गरेको अध्यक्ष धामीको भनाइ छ। स्थानीय तहका केन्द्र पुग्न समस्या भएकाले सेवा लिन असजिलो भएको सुर्नया-२, वासुलिङका मोहनबहादुर विष्ट बताउँछन् । ‘मैले सदरमुकाम पुग्न आधा घन्टा हिँडेर, आधा गाडीमा गरी एक घन्टाको मात्र यात्रा गर्नुपर्छ', उनी भन्छन्, ‘तर, गाउँपालिकाको केन्द्रमा पुग्न तीन घन्टा लाग्ने गर्दछ ।'