हिमालयन बैंकको ‘ई कमर्स पेमेन्ट गेटवे’
काठमाडौं: हिमालयन बैंक लिमिटेडले विद्युतीय भुक्तानी प्रणाली ‘एचबीएल ई कमर्स पेमेन्ट गेट वे’को नयाँ संस्करण सुरु गरेको छ। यससँगै स्वदेशीविदेशी व्यापारी तथा ग्राहकले अनलाइन सेवामार्फत वस्तु तथा सेवाको खरिदबिक्रीका लागि डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन्।
बैंकले सन् २०१५ जनवरीदेखि नै अन्तर्राष्ट्रिय कार्ड धारकलाई लक्ष्य गरी नेपाली व्यापारीमाझ ई कमर्स सेवा प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा सरकारलाई सन् २०१५ को भूकम्पपछि प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशबाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवामार्फत संकलन भएको थियो।
उक्त समय करिब ९३ हजार पाँच सय अमेरिकी डलर एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको बैंकले जनाएको छ। ई कमर्सको नयाँ संस्करण एसिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवाप्रदायक टुसिटुपी थाइल्यान्डसँगको सहकार्यमा बैंकले सुरु गरेको हो। ई कमर्सको यस संस्करण अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकलाई लक्ष्य गरी विकास गरिएको छ।
नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको सुरुवात गरेको हो । ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरिद तथा बिक्री विद्युतीय प्रणालीमार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीले आफ्ना उत्पादन सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने बैंकले जनाएको छ।