धागो र कपडा मेला हुँदै

धागो र कपडा मेला हुँदै

काठमाडौं: नेपालमा पहिलो पटक स्वदेशमै उत्पादित धागो तथा कपडाको भव्य प्रर्दशनी हुने भएको छ। नेपाल धागो उत्पादक संघले राजधानीको भृकुटीमण्डपमा यही भदौ ३० देखि अशोज ३ गतेसम्म मेला आयोजना गर्न लागेको हो। संकटमा पर्न लागेका स्वदेशी धागो तथा टेक्सटाइल उद्योगको बजार प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ।

 

स्वदेशी उद्योगबाट उत्पादित धागोबाट तयार पारिएका कपडा, होजियरी, सर्टिङ÷सुटिङ, निटिङ लगायत वस्तु प्रर्दशनीमा राखिने संघका अध्यक्ष पवन गोल्यानले बताए। साथै, स्वदेशी उद्योगबाटै उत्पादित खैरो तथा रंगीन धागो पनि प्रर्दशनीमा राखिने छ। सोमबार राजधानीमा अयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक प्रविधिका मेशीनरी समेत प्रर्दशनीमा राखेर उद्यमीलाई नयाँ प्रविधि तथा मेसिनरीको जानकारी गराउने बताए।

नेपालमा रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ र जगदम्बा स्पिनिङ गरी चारवटा धागो उद्योग सञ्चालनमा रहेका छन्। सरकारी स्वामित्वको बुटवल धागो कारखाना अहिले बन्द अवस्थामा छ। साथै, साना÷ठूला गरी झण्डै हजार टेक्सटाइल उद्योग छन्। यी उद्योगले स्वदेशमै उत्पादित धागो प्रयोग गरेर कपडा बनाउँदै आइरहेका छन्। चोरी पैठारीमार्फत विदेशबाट भित्रिने धागो पनि कपडा उत्पादनमा प्रयोग भइरहेको व्यवसायी बताउँछन्।

चारवटा उद्योगले पोलिस्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र ब्लेन्डेड रंगिन तथा सादा धागो उत्पादन गर्दै आइरहेको अध्यक्ष गोल्यानले जानकारी दिए। यी उद्योगले वार्षिक रुपमा करीव ४० हजार मेट्रिक टन धागो उत्पादन गर्दै आइरहेका छन् उत्पादित धागोमध्ये नेपालमा २० प्रतिशतमात्र खपत हुन्छ, बाँकी ८० प्रतिशत धागो भारत, बंगलादेश, टर्की लगायतका मुलुकमा निर्यात हुँदै आएको छ । विगतदेखि भारतमा निर्यात हुँदै आएको धागो पछिल्लो ६÷७ वर्षदेखि तेस्रो मुलुकमा निर्यात भइरहेको छ। वर्षेनी धागो निर्यात दरमा वृद्धि भइरहेको संघले जनाएको छ।

गोल्यानका अनुसार नेपालमा वार्षिक ७० हजार मेट्रिक टन धागो उत्पादन हुन्थ्यो । तर, बुटवल धागो कारखाना बन्द हुनुका साथै ज्योति स्पिनिङ (हाल जय स्पिनिङ) मिलको क्षमता घटेपछि ४० हजार मेट्रिक टनमा झरेको हो । नेपालमा चोरी पैठारी मार्फत विदेशबाट कपडा भित्रिएपछि नेपाली टेक्सटाइल उद्योग खस्किँदै गइरहेको संघले जनाएको छ । ‘धागो निर्यात बढेपनि टेक्सटाइल निर्यात अब सम्भव छैन, हाम्रो उत्पादन लागत उच्च रहेको छ’ उनले भने, ‘विदेशबाट चोरी पैठारी गरेर भित्रिने कपडा रोक्न सके पनि आन्तरिक खपतमा स्वदेशी उत्पादन प्रयोग हुन्थ्यो।’

विदेशी कपडा भित्रिँदा नेपाली टेक्सटाइल उद्योग समस्यामा परेका हुन् । विदेशबाट चोरी पैठारीमार्फत भित्रिने कपडा नियन्त्रण गर्न सकेमात्र पनि नेपाली टेक्सटाइल उद्योग पुनः फस्टाउने व्यवसायी बताउँछन् । मेलामार्फत स्वदेशी धागो तथा टेक्सटाइलको बजार प्रवद्र्धन गर्ने आयोजकको उद्देश्य छ । संघका उपाध्यक्ष बिष्णु न्यौपानेले पञ्चायतकालदेखि नै नेपाली टेक्सटाइल उद्योग पछाडि पर्दै गइरहेको र आयातमा भर पर्न थालिएको बताए । नेपालमा खपत हुने कपडामध्ये करीव ९० प्रतिशत विभिन्न मुलुकबाट आयात गरिँदै आएको उनको भनाई छ।

‘नेपालमा कपडाको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न उत्प्ररित गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको हो’ न्यौपानेले भने, ‘चोरी पैठारीले सञ्चालनमा रहेका उद्योग धरासायी भए, आगामी दिनमा चोरी पैठारी नियन्त्रण भएर स्वदेशी टेक्सटाइल उद्योग फस्टाउनु पर्छ भन्ने हो ।’
गोल्यानका अनुसार नेपालमा वार्षिक रुपमा अनुमानित ४५ करोड मिटर धागो आवश्यक हुन्छ । यसमध्ये नेपालमा ४/५ करोड मिटरमात्र कपडा, होजियरी, सर्टिङ÷सुटिङ, निटिङ उत्पादन हुन्छ । बाँकी ४० करोड मिटर कपडा आयात गरिन्छ । यसमध्ये ठूलो परिमाण चोरी पैठारी मार्फत भित्रिन्छ । राजश्व छली गरेर भित्रिएका कपडासँग प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उद्योग धरासायी भएको उपाध्यक्ष न्यौपानेको भनाई छ।

मेलामा ४० वटा स्टल रहने बताइएको छ । यस्तै, आधुनिक प्रविधि तथा मेसीनरीका ६/७ वटा स्टल रहनेछन् । मेलाले नेपाली टेक्सटाइल उद्योगको विकासमा सकरात्मक भूमिका खेल्ने विश्वास गरिएको छ । नेपालमा मेला÷महोत्सव मार्फत जसरी स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गरियो, त्यसरी नै नेपाली कपडाको बजार विस्तार गर्ने रणनीति आयोजक पक्षको छ।

संघका अनुसार नेपालमा कपडा उद्योगको विकास तीन दशक अगाडिदेखि भएको हो । कपडा (टेक्सटाइल) उद्योगका लागि आवश्यक पर्ने धागो उद्योगको तिब्र विकास दुई दशक अघिदेखि भएको मानिन्छ । नेपालमा कपडा, सटिङ/सुटिङ, होजियरी, स्वेटर, झुल आदि कपडा उत्पादनमा प्रयोग हुने धागो उत्पादन भइरहेको छ । यी धागो तथा कपडा उद्योगले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीव ५० हजारलाई रोजगारीको अवसर प्रदान गरेको गोल्यानले बताए।

धागो तथा कपडा उद्योग सबैभन्दा बढी भ्यालु एडिसन गर्ने उद्योग हुन् जसले बढी भन्दा बढी रोजगारीका अवसर समेत सिर्जना गर्छन् । अझ उद्योगमा सबैभन्दा बढी महिलाले रोजगारी पाउँछन् । यी उद्योग नेपालका लागि सुहाउँदो भएको व्यवसायी बताउँछन् । धागो उत्पादनका लागि अर्बौं रुपैयाँ लाग्छ । तर, टेक्सटाइल उद्योग पाँच लाख पुँजी हुनेले पनि सुरु गर्न सक्छ । आफ्नो हैसियत अनुसारको तान लगाएर उद्योग सुरु गरिहाल्न सकिने व्यवसायी बताउँछन् । स्वदेशमा उत्पादित टेक्सटाइलको बजारसमेत प्रशस्त रहेको गोल्यानले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.