महिला मन्त्रीलाई कुर्सी नै अप्ठयारो
काठमाडौ : महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले महिला माथिका हिंसालाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोली (रयापिड, रेस्पोन्स र एक्सन टिम) गठन गर्ने प्रस्ताव ल्याएकी छिन् ।
यसका लागि आफनो मन्त्रालयले आवश्यक योजना बनाइरहेको जानकारी दिदै मन्त्री कोइरालाले निकट भविष्यमै सबै स्थानीय तहमा तत्काल उद्धारका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने बताइन ।
महिला माथिका विभेद र हिंसाले गर्दा महिलाहरू पछाडि परिरहेको उल्लेख गर्दै मन्त्री कोइरालाले विभेद र कुरीतिको अन्त्य त्यस्तो टीम बनाउन लागिएको बताएकी हुन ।
कुनै पनि घटना घटेको २४ घन्टाभित्रै पीडितको उद्धार गर्न र घटना घट्न सक्ने संभावित स्थानमा सो घटना रोक्न पहलका लागि यस्तो टिम गठन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी हुन ।
मन्त्री कोइरालाले सातवटै प्रदेशमा पुनःस्थापनाका लागि ल्याइएका महिला, बालबालिका, अपांङग तथा ज्येष्ठ नागरिकलाई राख्न मिल्नेगरी बहुआयामिक पुनःस्थापना केन्द्र स्थापनाका लागि आफूले पहल गरिरहेको जानकारी दिइन । पाँच स्थानमा तत्कालै बहुआयामिक केन्द्र संचालनमा आउने पनि उनले बताइन ।
समाजमा व्याप्त बोक्सी, छाउपडी, दाइजो र तिलक जस्ता कुरीतिजन्य प्रथाको अन्त्यका लागि निकै पहल गर्दा पनि संस्कार तोड्न नसकिएको स्वीकार गर्दै यसको अन्त्य गर्न आवश्यकताअनुसार सचेत धक्का दिनुपर्ने उनले बताइन ।
मन्त्री कोइरालाले मन्त्रालयमा बस्ने कुर्सीदेखि बोक्ने फाइलसम्म महिलामैत्री नभएको बताइन । मंगलबार मन्त्रालयमा आयोजित महिला, बालबालिका तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने सञ्चारकर्मी महिलासँगको छलफल कार्यक्रममा मन्त्री कोइरालाले पुरुषप्रधान नेपाली समाजको प्रतिविम्ब सिंहदरबारमा पनि रहेको बताइन ।
‘सरकारी कार्यालयहरूमा कुर्सी, टेबुल र भरयाङ मात्र होइन, हामीले बोकेर हिँड्ने फाइलसमेत पुरुषमैत्री छन्’, उनले भनिन । मन्त्री कोइरालाले महिलाले सानो हाते व्याग बोकेर हिँड्ने हुनाले मन्त्रालयका फाइलहरू व्यागमा नअटाउने र हातैमा बोकेर हिँड्नुपर्ने समस्या रहेको बताइन । ‘यहाँ जे जति संरचना बनेका छन्, ती सबै पुरुषमैत्री मात्र छन्’, मन्त्री कोइरालाले भनिन ।
समाज कल्याण परिषदको अध्यक्षको कुर्सीमा बस्दा आफूलाई अप्ठेरो हुने गरेको मन्त्री कोइरालाले बताइन । मन्त्रीहरूले समेत यस्तो अप्ठेरो भोग्नुपरिरहेको अवस्थामा अन्यत्र काम गर्ने महिलाले झनै चुनौतीको सामना गर्नुपरेको उनले सुनाइन ।