घरेलु संघको सचिवालय भवन बन्ने
भक्तपुर : भक्तपुर घरेलु तथा साना उद्योग संघले सचिवालय भवन बनाउने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्तीमा उक्त भवन बन्ने भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मंगलबार एक कार्यक्रमबीच साढे तीन तले उक्त भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यासकै क्रममा मंगबालर एक लाखभन्दा बढी आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष वीरेन्द्र जतीले जानकारी दिए । उनका अनुसार जग्गा खरिद गरेको करिब १५ वर्षपछि भवन शिलान्यास भएको छ । उनले अबको दुई वर्षभित्र भवन निर्माण पूरा गरी संघको सचिवालय सञ्चालनमा ल्याइने सुनाए ।
भवन शिलान्यास गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले आत्मनिर्भर भएर पनि सरकारले घरेलु तथा साना उद्योगको विकासमा ध्यान नदिएको आरोप लगाए। घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिए विदेशमा यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
‘सरकारको कुनै पनि काम कारबाही पारदर्शी छैन, कति संघसंस्थाको कामकारबाही र हिसाब पनि अपारदर्शी छ’, सांसदसमेत रहेका अध्यक्ष बिजुक्छेले भने, ‘तर घरेलु तथा साना उद्योगी व्यवसायी र संघको कामकारबाही र आर्थिक पारदर्शी हुनुपर्छ ।’
कार्यक्रममा भवन निर्माण समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष सत्यनारायण प्रजापतिले यसअघि नै भवन निर्माण गर्ने प्रयास गरिए पनि सफलता हात नलागेको सुनाए । भवन नहुँदा भाडामा बस्नुपरिरहेको संघ अब छिट्टै आफ्नै सचिवालय भवनमा सञ्चालन हुने उनले बताए ।