एघार दिने सुत्केरी सरकारी सुविधाबाट बञ्चित
महोत्तरी: एघार दिनको सुतकेरी।खानपिनको अभाव।गरिबी जीवन।समाजमा छुवाछुतको व्यवहार।पीडैपीडाको व्यथाबाट गुज्रिरहेको जीन्दगीबाट छट्पटाइ रहेकी गीता डोमले मुख खोलिन्। महोत्तरीको औरही नगरपालिका-१ की ३५ बर्षीय गीता देवी डोम जो सरकारको सबै सुविधाबाट बञ्चिछ छन्। सरकारको शिक्षा, स्वास्थ्य, खानेपानी, यी सबै सेवासुविधाको कस्तो हुन्छ भनेर स्वाद उनले चाख पाएकी छैनन्।
एघार दिन अघि दोस्रो सन्तानको रुपमा गीताले राजकुमारलाई जन्म दिइन्।तर गीताकै जस्तै उनको छोरोको पनि भविष्य अन्धकारमय छ। जीवन कहिले उज्यालो बन्ने सपना गीताले बर्षैंदेखि देखिरहेकी छन्।
धेरै सरकार फेरियो।नजिकैको जंघा खोलोमा कति बाढीको पानी बगिसक्यो। खोलाले धारपनि परिवर्तन गर्यो। तर गीताको जीवन दुःखमय छ।
छोरालाई जन्म दिने दिनसम्म गीताले बासको समाग्री तयारमा खटिन्।६ दिनमै सुतकेरीबाट निस्किइन्।सुत्केरी हुँदा उनीले पोष्टिक आहारपनि खान पाइनन्।उनी फेरि जीवन बचाउन काँखी च्यापेर छोरो च्यापेर हात मुख जोड्न बासको चोयासँग जीवन साटदैछिन्।
चुनावमा उठ्ने नेताले केही गरिदिन्छ की भनेर मुख ताक्दै छिन्।उनको घरमै मंगलबार एक उमेदवारको टोली चुनावी झण्डा लिएर भोट माग्न हात जोड्दै पुगे।उमेदवारसँग उनले भनिन्, 'श्रीमान्को नागरिकता छैन।
श्रीमान्को नागरिकता नभएर मेरो बनेन। हामी दुवै जनाको नागरिकता नभएर जन्मेको छोरोकोपनि जन्मदर्ता बन्दैन। जेठी छोरी निभको जन्मदर्ता बनेन।छोरीको स्कुलमा भर्ना भएको छैन।'
गीताले पीडमर्का सुनाउँदै गर्दा उनका श्रीमान् जोगिन्द्र मल्लिकले भने, 'हामी गाउँभरीलाई सेवा गर्छौं। हाम्रो नागरिकता बनाइदिन कसैले सहयोग गर्दैन। हामीसँग केही कागजहरु पनि छैन। सडक पेटीमा बस्छौं।' मंगलबार औरही बजारमा ढालो बनाएर बिक्री गरि राती चुलो बाल्न गीता, उनका श्रीमान् र छोरी कसिएका थिए।
गीताले ती उमेदवारसँग अघि भनिन्, 'एक चुटकी चामल घरमा छैन।एघार दिनको सुतकेरी हुँ। के खाने ठेगान छैन। बच्चाको सेहार कसरी गर्ने? छोरालाई मालिस गर्ने घरमा तेल पनि छैन। भोट माग्न सबै नेता आउँछ। सहयोग कसैले गर्दैन।'
गीताका छिमेकी छोठे डोमले गीताको कुरामा थप्दै भोट माग्न आएका उमेदवारलाई भने, ‘मेरो नाम भोटो लिष्टमा छ। हाम्रो डोमको जसले जग्गा दिएर घर बनाइ दिन्छ।नागरिकता दिलाउँछ।उसैलाई भोट दिन्छु। एक भोटले जित हार हुन्छ। मेरो भेलु नेताले गरेभने मेरो भोट त्यही नेतालाई जन्छ।'
डोमहरुको मुख्य पेशा भनेको बासका समाग्री पंखा, ढालो, नांगलो, सुपली जस्ता बासका समाग्र बनाएर जीवन यापन गर्छन्। चार्डवाडमा बासका समाग्री बजारमा बिके पनि अरु समयमा खासै विक्दैनन् प्लाष्टीजन्य समाग्रीको दबदवाले।
जीवन चलाउन गाह्रै हुन्छ उनीहरुलाई।डोमले बनाएको बासको समाग्री सबैले पुजाप्रतिष्ठानमा भगवानलाई चढाउछ। तर, डोमलाई समाजमा छिःछि दुरदरको व्यवहार गरिएको बिजलपुरा जुडीका बेचन डोमले बताए।
उनले भने, 'हामीले बनाएको सरसमान भगवानको लागी पवित्र हुन्छ। हामीसंग छुवाछु गर्छ। के हामी मान्छे होइन्? यो अन्त्य कहिले हुन्छ।'धेरै पटक नेताहरु भोट लिएर गए हाम्रा लागि केही नगरिदिएको उनको गुणसो छ।
पसलमा खाजा खान जाँदापनि दुव्र्यहार सहनु परेको गीता डोम बताउँछिन्। उनी भन्छिन्,‘अरुलाई गिलासमा पानी दिन्छ होटलवालाले, हामीलाई प्लाष्टीको गिलासमा दिन्छ। बेन्चमा बसेर खाजा खान दिदैन। भुइमा अलगै राख्छ।
हाम्रै अगाडी अरुले प्लेटमा नास्ता खान्छ, हामीलाई पत्रिकामा राखेर नास्ता दिन्छ। यस्तो किन भन्दा उल्टै लागी खानु पर्छ।'दलितका अरु जात भन्दा डोमलाई बढी छुवाछुत गर्ने गरेको श्याम डोमले बताए। 'हामी आत्मसम्मानले बाँच्न चाहन्छौं। यो माग पुरा गर्ने नै हाम्रो डोमको नेता हुन्छ।'