व्यापारीले बढाए चामलको मूल्य, बोरामै डेढ सय बढ्यो

व्यापारीले बढाए चामलको मूल्य, बोरामै डेढ सय बढ्यो

काठमाडौं : तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन्। व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन्। थोक मूल्यमा भएको वृद्धिसँगै चामलको उपभोक्ता मूल्य पनि बढेको छ। बाढीको नाममा तरकारी बिक्रेताले आफूखुसी तरकारीको मूल्यवृद्धि गरिरहेको अवस्थामा खाद्यान्नसम्बन्धी थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन्। थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरामा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन्। खुद्रा व्यापार संघले थोक बिक्रेताले बाढीको नाममा १० दिन अघिदेखि चामलको मूल्यवृद्धि गरेर बजारमा पठाउन थालेको जानकारी गराएको छ।

खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार असार महिनाको तुलनामा भदौ अन्तिम सातामा आएर थोक बिक्रेताले चामलको मूल्यवृद्धि गरी बजारमा पठाउन थालेको जानकारी दिए। श्रेष्ठका अनुसार थोक व्यवसायीले सोना मन्सुलीको एक बोरा (२५ किलो) चामलमा ८५ रुपैयाँ वृद्धि खुद्रा व्यापारीलाई उपलब्ध गराएका छन्। अहिले एक बोरा सोना मन्सुली चामलको उपभोक्ता मूल्य एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको छ। असारमा त्यही चामल एक हजार दुई सय ९० मा बिक्री भएको थियो। खुद्रामा सोना मन्सुली चामल एक हजार चार सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ।

 

यस्तै असारमा प्रतिबोरा (२५ किलो) एक हजार चार सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्यमा एक सय २५ रुपैयाँसम्म वृद्धि गरिएको छ। अहिले जिरा मसिनोको एक बोरा चामललाई उपभोक्ता मूल्य एक हजार पाँच सय ७५ रुपैयाँ कायम गरिएको छ। खुद्रामा यही जिरा मसिनो चामल एक हजार ६ सय ९० सम्ममा बिक्री भइरहेको छ। यसैगरी असारमा तीन हजार रुपैयाँ प्रतिबोरा (२५ किलो) बास्मतकीो चामल अहिले तीन हजार एक सय ५० मा बिक्री भइरहेको छ। बास्मती चामलको प्रतिबोरा एक सय ५० रुपैयाँसम्म वृद्धि गरिएको छ। खुद्रा व्यापारीले बास्मति चामल तीन हजार पाँच सयमा बिक्री गर्छन्।

‘बाढीको कारण देखाउँदै थोक व्यापारीले चामलमा ८५ देखि डेढ सयसम्म मूल्य वृद्धि गरी पठाएकाले पछिल्लो सातादेखि उपभोक्ता मूल्य पनि वृद्धि भएको हो,' खुद्रा व्यापार संघका महासचिव श्रेष्ठले भने। बाढीका कारण तराईका उद्योगमा पानी पसेर चामल भिजेर नष्ट भएको, सडक मार्ग जीर्ण भएर अवरुद्ध भएको र ढुवानी खर्च वृद्धि भएको भन्दै थोक खाद्य किराना व्यवसायी संघले चामलको उपभोक्ता मूल्य बढाएको हो। कारखानामा मौज्दात गरी राखिएका चामल बाढीको पानीले भिजेर नष्ट हुँदा मागअनुसार चामलको आपूर्ति नहुँदा मूल्य वृद्धि भएको संघका अध्यक्ष देवेन्द्र भट्टले दाबी गरे।

उनले भने, ‘त्यही बेला विभिन्न सडकखण्ड अवरुद्ध भयो। जीर्ण भएका सडकखण्डका कारण सामान विभिन्न अन्य सडकमार्गबाट ल्याउनुपर्दा ढुवानी खर्च बढ्यो। यसका कारण चामलको बोरामै मूल्यवृद्धि भएको हो।' संघका अनुसार असारदेखि भदौको समयमा उत्पादन भएका पुराना चामलको स्टक समय पनि हो। दसैंपछि उत्पादन भएका नयाँ चामल बजारमा भित्रिने भएकाले त्यसपछि बिस्तारै चामलको मूल्य घट्दै जाने संघका अध्यक्ष भट्टको भनाई छ। अन्य दैनिक उपभोग्य वस्तुको मूल्य भने यथावत् रहेको संघले जनाएको छ। संघले चामल तीन महिनालाई पुग्ने गरी मौज्दात छ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा सर्वाधिक चामल उत्पादन भए पनि सोही आर्थिक वर्षमा झन्डै २४ अर्ब मूल्य बराबरको चामल नेपालमा आयात भएको थियो। विश्व खाद्य कार्यक्रमले पनि तराईमा आएको बाढीका कारण खाद्यान्नको मूल्यवृद्धि भएको जनाएको छ। डब्लूएफपीले विज्ञप्ति जारी गर्दै खाद्यान्नको स्टक नष्ट भएकाले खाद्यान्नको मूल्यमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको जानकारी दिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार अहिले २० हजार मेट्रिक टन चिनी मौज्दात छ। चाडपर्वको अवसरमा कर्पोरेसनले अहिले प्रतिकिलो चिनी ७७ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ।

दालको मूल्य घट्दै

दालको तुलनात्मक मूल्य घटेको छ। असारको तुलनामा भदौमा मेही मुख्य दालको मूल्य घटेको हो। थोक खाद्य किराना व्यवसायी संघका अनुसार तीन वर्षको अवधिमा यो वर्षको भदौ महिनामा आएर दालको मूल्य निकै घटेको हो। मागभन्दा बढी आपूर्ति हुँदा दालको मूल्य घटेको संघका अध्यक्ष भट्टले जानकारी दिए। उनका अनुसार अहिले ठूलो मुसुरो दालको मूल्य ९० देखि ९५ छ। त्यसैगरी सानो मुसुरो दाल प्रतिकिलो एक सय ३० रुपैयाँमा झरेको छ। मासको दाल एक सय ३०, रहरको दाल एक सय १२ मा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.