बेवारिसे भनिएको शव प्रहरी नियन्त्रणमा मृत्यु भएको पुष्टि
दाङ : प्रहरीले बेवासिसे भनेर सार्वजनिक गरेको एक जना सर्बसाधरणको प्रहरी नियन्त्रणमै मृत्यु भएको पुष्टी भएको छ । संघीय प्रहरी मुख्यालय तुलसीपुर दाङले गरेको अनुसन्धानमा केही दिन अघि बेवारिसे शव भनेर सार्वजनिक गरिएका गंगटे नामका व्यक्तिको प्रहरी नियन्त्रणमा मुत्यु भएको पुष्टि भएको हो।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु भएको र घटनालाई लुकाउन शवलाई वेवारीसे बनाइएको विषयमा प्रमाण सहित सार्वजनिक भएपछि संघीय ईकाइ प्रहरी कार्यालय तुलसीपुरले एसएसी दिलीप चौधरीलाई सत्य तथ्य पत्ता लगाउन जिम्मा दिएको थियो । एसएसपी चौधरीले घटनाको विषयमा अध्ययन प्रतिवेदन तयार गरि एआइजीलाई बुझाएका छन् ।
वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको समयमा गंगटेको मृत्यु भएको निष्कर्ष संघीय प्रहरी कार्यालय तुलसीपुरले निकालेको छ । प्रहरी नियन्त्रणमा भएको मृत्युलाई सत्य सूचना लुकाएर गलत सूचना दिने जिल्ला प्रहरी कार्यालय दांङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्का तथा थुनुवा कक्षका ईञ्चार्जलाई विभागीय कारवाही गर्ने जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख एआईजी मिङ्गमार लामाले प्रहरी नियन्त्रणमा गंगटेको मृत्यु भएको बताए । ‘गंगटेको प्रहरी नियन्त्रणमै मृत्यु भएको पुष्टि भएको छ' लामाले भने,‘यो घटनाको सत्यत्थ्य लुगाउन खोज्ने संगठनका अधिकरीहरुलाई विभागीय कारवाही हुन्छ ।' लामाले सूचना लुकाएर प्रहरीले गल्ती गरेको स्वीकार गर्दै घटनामा संलग्न अधिकारीहरु माथि विभागीय कारवाहीको लागि सिफारिस भइसकेको जानकारी दिए ।
घटना छानविन समितिका संयोजक एसएसपी दिलिप चौधरीले हिरासद भित्र नभएर उपचारको क्रममा अस्पताल पुर्याउने बेला प्रहरी नियन्त्रणमै मुत्यु भएको बताए । ‘छानविनको क्रममा यो कुरा पत्ता लागेको हो, गंगटे भनिने व्यक्तिको हिरासतमा हैन उपचारका लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको रहेछ' उनले भने । दाङ प्रहरी प्रमुख दुर्गा सिहले सूचना गलत गएको स्वीकार गरेर प्रहरीको आन्तरिक विभागले गल्ती गरेको तर प्रमुखको हैसियतले आफु जिम्मा लिन तयार रहेको बताइन् ।
प्रहरी कार्यालयले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृयु चौपट्टामा भएको भन्दै फेसबुक मार्फत सूचना प्रवाह गरेको थियो । आफन्तहरु सम्पर्कमा नआएपछि भदौ १६ गते घोराही उपमहानगरपालीकाको जिम्मा लगाएर अन्तिम संस्कार गरिसकिएको थियो । चोरीको आरोपमा छानविन गर्न घोराही-१४ का गंगटे उपनामले चिनिने देव बहादुर विकलाई भदौ १३ गते नियन्त्रणमा लिएको थियो । उनको भदौ १४ गते प्रहरी नियन्त्रणमा मृत्यु भएको थियो ।