गैरदलितकी छोरी भित्र्याउँदा निर्घात कुटपिट : केटी खोसेर लगे, केटा बेपत्ता

गैरदलितकी छोरी भित्र्याउँदा निर्घात कुटपिट : केटी खोसेर लगे, केटा बेपत्ता

सुर्खेत : अन्तरजातीय बिहेपछि एक दलित परिवारमाथि निर्घात कुटपिट भएको छ। गैरदलित समुदायकी छोरी भित्र्याएको बराहताल गाउँपालिकास्थित दमारको एक परिवार आइतबार मध्यरात आक्रमणमा परेको हो। कुटपिटबाट गम्भीर घाइते भएका दुईजना मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचाररत छन्। आइतबार मध्यरात चारजनाको समूहले गैरदलितकी छोरी भगाउने स्थानीय बलबहादुर विक, उनका बाबु भक्तबहादुर र आमा अमृतामाथि आक्रमण गरेको हो।

 

उक्त समूहले भक्तबहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालेको थियो। आक्रमणकारीले हात बाँधेर कुटपिट गरेको पीडितले बताएका छन्। गम्भीर घाइते भएका भक्तबहादुर र अमृतालाई उपचारका लागि सोमबार दिउँसो क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। बलबहादुरको अवस्था भने अज्ञात छ। स्थानीयका अनुसार आक्रमण गर्ने समूहले नै बलबहादुरलाई हात बाँधेर लगेको छ। पीडितका आफन्तले भने कुटपिटपछि बलबहादुरलाई बेपत्ता भएको जनाएका छन्।

असार १४ गते बलबहादुरले दैलेखको तल्लो डुंगेश्वरकी रम्मा शाहीलाई भगाएका थिए। त्यसपछि उनीहरू माइती पक्षले खोस्ने त्रासका कारण लुक्दै आएका थिए। केही दिनअघि उनीहरू घर पुगेको जानकारी पाएपछि माइती पक्ष शनिबार राति आएर रम्मालाई खोसेर लगेका थिए। त्यसको भोलिपल्ट आइतबार राति केटा पक्षको घरमा आक्रमण भएको हो।

बलबहादुरकी दिदी कृष्णा सुनारले भाइलाई केटी पक्षले बेपत्ता बनाएको दाबी गरिन्। ‘मध्यरातमा घरमा आक्रमण गरे, बुबा र आमालाई मरणासन्न हुने गरी कुटे', उनले भनिन्, ‘मेरो भाइलाई पनि उनीहरूले नै बेपत्ता बनाएका छन्, बुहारीलाई पनि खोसेर लगे।' कुटपिटका कारण भक्तबहादुर र अमृता बेहोस भएका थिए। उनीहरूले रगत बान्ता गरेको र शरीरभर घाउ रहेको अस्पतालले जनाएको छ। स्थानीय बासिन्दाले उनीहरूलाई उपचारका लागि अस्पताल ल्याएका थिए।

दलित अधिकारकर्मी बसन्त विकले दोषीमाथि कडा कारबाहीको माग गरे। प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ। घटनाको बारेमा थप अनुसन्धान अनि दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ। केटी पक्षले भने छोरी फिर्ता ल्याए पनि कसैलाई कुटपिट नगरेको दाबी गरेको छ। केटीका दिदी विष्णुकुमारी शाहीले केटाको घरमा पुगेर बहिनीलाई ल्याएको स्वीकार गरिन्। तर, भोलिपल्ट कुटपिट भएको विषयमा थाहा नभएको उनको भनाइ छ। केटाले आफू थापाको छोरा भन्दै फसाएकाले बहिनीलाई फिर्ता ल्याएको उनको दाबी छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.