बालबालिकासँग रमाइन् राष्ट्रपति

बालबालिकासँग रमाइन् राष्ट्रपति

काठमाडौं : ‘नेपालको दुर्गम पहाडी जिल्ला भोजपुरमा म जन्मेको हुँ । त्यतिखेर छोरीलाई पढाउने चलन थिएन । अनि गाउँमा स्कुल पनि थिएन', राष्ट्रपति विद्यादेवी भण्डारीले यति भनिरहँदा शीतलनिवासमा भेला भएका बालबालिका उनको विद्यार्थी जीवनका रमाइला पाटा सुन्न उत्साहित देखिन्थे । राष्ट्रपति भण्डारीले बुधबार काठमाडौंका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई आफू विद्यालय जाँदाका क्षण यसरी सुनाइन्, ‘मेरो घर र गाउँबाटै स्कुल जाने पहिलो छोरी मै थिएँ ।

 

गाउँबाट एसएलसी दिने पनि सायद म नै पहिलो हुँ ।' विद्यार्थीलाई शीतलनिवासमा देख्दा आफूलाई बाल्यकालको आभाष भएको बताउँदै उनले थप प्रसंग जोडिन्, ‘प्रावि जान पनि करिब एक घन्टा हिँड्नुपर्ने भएकाले कहिलेकाहीँ त स्कुलै नगई भागेर बाटैमा बसौं कि जस्तो लाग्थ्यो । हाइस्कुल जाँदा पनि आफैँले खाना बनाएर खाएपछि चार घन्टाको बाटो हिँडेर मात्रै स्कुल पुगिन्थ्यो ।'

एकदिन स्कुल जान ढिला भएपछि साथीहरूको लहैलहैमा लागेर बाटैमा खेलेर बसेको र विद्यालय छुट्टी भएपछि अरू विद्यार्थीसँगै घर गएको घटना सम्झँदा आज पनि पश्चात्ताप हुने उनले सुनाइन् । रातोमाटोलाई फलेकमा राखेर पहिले औंलाले अनि पछि बाँसको सिन्काले कोर्दै अक्षर चिनेको प्रसंग राष्ट्रपतिले कोट्याउँदा विद्यार्थीले निकै चाखपूर्वक सुनेका थिए ।

राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले शिक्षामा लगानी बढाएर धेरै सुविधा दिएकाले यसको फाइदा नयाँ पुस्ताले उठाउनुपर्ने सुझाब दिइन् । राष्ट्रपति भण्डारीले विद्यालयका क्रियाकलाप, पठनपाठनलगायत सबै देशको हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा काठमाडौंका विभिन्न सामुदायिक विद्यालय र बालमन्दिरका बालबालिकाले राष्ट्रपति भण्डारीलाई आ-आफ्नो प्रतिभासमेत प्रस्तुत गरेका थिए।

रातोमाटोलाई फलेकमा राखेर पहिले औंलाले अनि पछि बाँसको सिन्काले कोर्दै अक्षर चिनेको प्रसंग राष्ट्रपतिले कोट्याउँदा विद्यार्थीले निकै चाखपूर्वक सुनेका थिए ।

कालिमाटीस्थित परोपकार स्कुलका सम्झना नेपाल र अनुशा नेपालले पहिलोपटक आफूहरूले देशकै सबैभन्दा ठूलो व्यक्तिलाई भेटेर प्रतिभा देखाउन पाउँदा निकै खुसी लागेको बताए । राष्ट्रपतिसामु नृत्य प्रस्तुत गर्न जाँदा पहिले अलि नर्भस भए पनि राष्ट्रपतिको हँसिलो अनुहार हेरेपछि आत्मविश्वास पलाएको अनुशाले बताइन् । ‘उहाँ हामीलाई नै हेरेर हाँसिरहनुभएको थियो, त्यो देखेपछि मलाई त नाच्न झन् हौसला मिल्यो । पढाइमा पनि राम्रो गरे उहाँजस्तै ठूलो मानिस बनिन्छ भन्ने पनि लाग्यो', सम्झनाले थपिन् ।

शारदा स्कुल तिलगंगामा कक्षा १० पढिरहेकी तुलसा खड्काले योभन्दा पहिले पनि एउटा कार्यक्रममा राष्ट्रपतिलाई देखेकी थिइन् । माइती नेपालमा बस्दै आएकी तुलसा र उनकी साथी मनमाया मगरले त्यहाँ नृत्य प्रस्तुत गरिएला भनेर सोचेकै थिएनन् । सबैले गर्ने भनेपछि उनीहरूले पनि आफ्नो विद्यालयको वार्षिकोत्सवका लागि तयार गरेको नृत्य राष्ट्रपतिलाई देखाए ।

आफ्नो नृत्य हेर्दै हाँसिरहेकी राष्ट्रपतिलाई देख्दा आफूलाई पनि धेरै पढेर भविष्यमा ठूलो मानिस बन्ने सपना जागेको तुलसाले बताइन् । कार्यक्रममा समता स्कुलका कक्षा १० का छिरिङ शेर्पाले निकै मधुर संगीत सुनाए । परोपकार स्कुलकै सरला नेपालले ‘माया लाग्छ आमाको अनि बाबाको पनि, म हुँ साझा दुवैको आँखाको नानी' बोलको गीत सुनाउँदा हलमा उपस्थित सबै भावुक बनेका थिए ।

कार्यक्रममा उपस्थित सबै विद्यालयका बालबालिकासँग पालैपालो फोटो खिचेपछि शीतलनिवासकै एक बगैंचामा उनीहरूका लागि खेल्ने व्यवस्था मिलाइएको थियो । बगैंचामा पुगेर केही बालबालिका बेलुन र बल खेल्न थाले भने केही चित्र कोर्नमा व्यस्त रहे । कार्यक्रम सकिएको केही क्षणमै बगैँचामा उपस्थित राष्ट्रपति भण्डारीलाई देखेर निकै खुसी भएका बालबालिकामध्ये कतिले आफूले बनाएका चित्र उनलाई उपहार पनि दिए । चित्र कोरिरहेका केही बालबालिकालाई हेर्दै राष्ट्रपतिले ‘राम्रो छ' भनेपछि उनीहरू थप हौसिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.