मिथिलामा जितिया
जनकपुरधाम : छोराछोरीको दीर्घायुको कामना गर्दै आमाले गर्ने कठिन व्रत जितिया मिथिलाञ्चलमा बुधबार मनाइएको छ । पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलाशयमा नुहाएर (नहायखाय) घिरौंलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवान्लाई चढाएपछि व्रत आरम्भ हुन्छ । व्रतभन्दा एक दिनअगाडि व्रतालुले माछा, कोदोको रोटी, सागसहितका परिकार खाने गर्छन् ।
जितियाको सबभन्दा रमाइलो पक्ष औगठन मानिन्छ । व्रतको एक दिनअगाडि सूर्य उदाउनुभन्दा पूर्व व्रतालु महिलाले चिउरा, दही, मिठाईलगायत परिकार खानुलाई औगठन भनिन्छ । औगठनको सन्दर्भमा रहेको एउटा उखान मिथिलामा प्रसिद्ध छ, ‘जितिया पावैन बड भारी, धियापुताके ठोकी सुतेलौ अपने खेलौ भरी थारि ।' आमाले यो व्रत सुरु गरी नवमी तिथि आरम्भ भएसम्म निराहार बस्ने प्रचलन छ । यो व्रतमा पानीसमेत नखाने र व्रत अवधिभर महिलाले केही सामान नतोड्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता नियम छन् ।
पण्डितहरूका अनुसार सत्ययुगमा एक दम्पतीले आफ्नो एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडको आहार नबनोस् भनी भगवान्सँग प्रार्थना गरेर जितवाहन भगवान्को पूजाअर्चना गरेका थिए । उनको पूजापाठले खुसी भएका भगवान्ले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर त्यस दम्पतीको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जीवित पारेको हुनाले यो पर्व आफ्नो छोराछोरीको दीर्घायुका लागि मनाउन थालिएको धर्मग्रन्थमा उल्लेख छ ।