कमल थापाले लगाएका आरोपहरु सही होइनन्ः अध्यक्ष राणा
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको स्पष्ट पारेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताए।
मधेश आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्नको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। राणाले भने,‘मधेशका मागहरु सम्बोधन हुनुपर्छ, मधेशका जायज आवाजहरुलाई दबाउनुहुँदैन, यदि मधेशका माग सम्बोधन नगर्ने हो भने मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन।'
पार्टीबाट सरकारमा सहभागी केही नेता अनियमितामा संलग्न रहेको भन्नेबारे आएका समाचारको उनले खण्डन गरे। कमल थापा निकट विद्यार्थी संगठनले भ्रष्ट्राचारमा मन्त्री दीपक बोहरा संलग्न रहेको भन्दै उनीविरुद्ध आन्दोलन गरिरहेको सन्दर्भमा राणाले भने, ‘कमल थापाले हामीलाई विभिन्न रुपमा सम्बोधन गर्नुभएको छ, उहाँले लगाएका आरोपहरु सही होइनन्, पार्टी कमजोर भएकोले उहाँले रिस पोखि रहनुभएको छ।'
अध्यक्ष राणाले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको ए-राप्रपा राष्ट्रवादीले चाहेमा पार्टी एकता गर्नको लागि आफ्नो पार्टी तयार रहेको समेत बताए।