गुण्डागर्दी अन्त्य गर्ने धरान प्रहरी प्रमुखको उद्घोष
धरान : संघीय प्रहरी इकाई धरानले राजनीतिक पार्टीको आडमा गुण्डागर्दी गरी शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध विशेष अप्रेशन सुरु गरी कारबाही गर्ने भएको छ। संघीय प्रहरी इकाई धरानका प्रहरी प्रमुख एसएसपी हरिबहादुर पालले बिहीबार पत्रकार भेटघाटमा गुण्डागर्दी अन्त्य गर्ने उद्घोष गरेका छन्।
पत्रकार सम्मेलनमा एसएसपी पालले सुनसरी र मोरङ जिल्लामा राजनीतिक दलको आडमा गुण्डागर्दी गर्नेलाई बारबाही गरी यस क्षेत्रको शान्ति सुरक्षामा आमुल परिवर्तन गर्ने दाबी गरे।
भर्खरै संघीय प्रहरी इकाई धरानको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पालले सुनसरी र मोरङ जिल्लामा गुण्डागर्दी, तस्करी र लागु औषध कारेवारीका कारण समाजमा विकृति बढेको पाइकाले त्यस्ता अपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिको पहिचान गरी कारबाही प्रकृया अगाडि बढाइने बताए।
उनले राजनीतिक आडमा गुण्डागर्दी गरी शान्ति सुरक्षामा खलल पुर्याउनेलाई संरक्षण नगर्न पनि पार्टी नेतालाई आग्रह गरे। एसएसपी पालले धरान, इटहरी र विराटनगर र धनकुटा जिल्लामा विभिन्न प्रकारका लागु औषध, गाजाको कारोबार बढेको पाइएकाले अपराधिलाई पक्राउ गर्नका लागि डीएसपी भीम दाहालको नेतृत्वमा प्रहरीको विशेष टोली परिचालन भएको जानकारी दिए।
दसैं नजिकिदै गरेको अवस्थामा जुवातास खेलेर समाजमा विकृति बढाउन सक्ने भन्दै एक नम्बर प्रदेशका सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा जुवातास खेल्न प्रतिबन्ध लगाइएको पनि एसएसपी पालले बताए।
उनले धरानमा लागु औषध कारेबारी र सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउदै आफ्ना छोराछोरीलाई सुधार गर्नका लागि अभिभावकले जिम्मेवार ढंगले आफ्ना छोराछोरीको क्रियाकलापमा निगरानी बढाउन समेत आग्रह गरेका छन्। सरकारले कोसी अञ्चल प्रहरी कार्यालयलाई नयाँ संरचना अनुसार एक नम्बर प्रदेशका ६ वटा जिल्ला हेर्नेगरी संघीय प्रहरी इकाई धरान बनाएको छ।