३४ वर्षपछि पूरा हुँदै सडक सपना
बैतडी: जिल्लाको पञ्चेश्वर गाउँपालिकाका दिनेशबहादुर चन्दलाई गाडीमा चढेर नेपालकै बाटो भएर सदरमुकाम कहिले पुगिएला भन्ने लाग्थ्यो। तर, दिनेशजस्तै तल्लो सोराडवासीको ३ दशकअघिको सडक सपना अब पूरा हुने भएको छ। आर्थिक वर्ष २०४०/४१ मा सुरु भएको पाटन-पञ्चेश्वर सडकको ट्र्याक खोल्ने काम चालु आर्थिक वर्षमा पूरा हुने डिभिजन सडक कार्यालय बैतडीले जनाएको छ।
६२ किलोमिटर सडकमध्ये ५३ किलोमिटर ट्र्याक खुलिसकेको र बाँकी ९ किलोमिटर चालु आर्थिक वर्षमै खुल्ने डिभिजन सडक कार्यालयका प्रमुख ललितजंग खनालले बताए। उनले भने, ‘पाटन-पञ्चेश्वर सडक निर्माणका लागि गएको ४ वर्षयता केन्द्रीय तहबाट बजेट विनियोजन हुन थालेको हो । त्यसपछि मात्रै सडक निर्माण कार्यले तीव्रता पाएको हो। गत आर्थिक वर्षमा सडकका लागि १२ करोड विनियोजन भएकोमा चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन भएको छ।'
६२ किलोमिटर सडक निर्माणका लागि बैतडीको तल्लो सोराडवासीले ३ दशकभन्दा बढी कुरे पनि अब सडक निर्माण कार्य पूरा हुने भएपछि खुसी भएको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए। उनले भने, ‘अहिले वर्षात् नभएको दिन शिवनाथको सुल्लेखानसम्म गाडी जान्छ। पहिलाको भन्दा धेरै सजिलो भएको छ। कम्तीमा अहिले कच्ची सडक त पुगेको छ । यसले हामीलाई सजिलो भएको छ।'
पाटन-पञ्चेश्वर सडकको ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने कार्य सँगसँगै चलिरहेको डिभिजन सडक प्रमुख खनालले बताए। उनले भने, ‘पाटन-पञ्चेश्वर सडकको पाटनदेखि स्याडीगाडसम्मको १३ किलोमिटर सडक चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यअनुसार काम भइरहेको छ। यस्तै स्याडीगाडदेखि मेलौलीसम्मको १८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का भइसकेको छ।'
सडक फराकिलो बनाउने, वाल लगाउने र बीचमा पर्ने खोलामा पुल निर्माणको काम भइरहेको खनालले बताए। स्याडीगाड खोला र बाग्गोठ खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको छ। पुल निर्माणले सडक सञ्चालनमा झन् सजिलो भएको प्रमुख खनालले बताए।
पाटन-पञ्चेश्वर सडक निर्माण कार्यले तीव्रता पाएसँगै जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सजिलो भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् । उनले भनिन्, ‘अहिले पाटन-पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएको छ। यसबाट गाउँगाउँमा शाखा सडक पनि निर्माण भइरहेका छन्। सडक पुगेसँगै यो क्षेत्रका नागरिकको दैनिकीमा सहजता आएको छ।'
शिवनाथ गाउँपालिकाका ६० वर्षीया हजारी चन्दको आफ्नै जीवनकालमा गाडी चढ्ने सपना पूरा भएको छ। ‘यो ठाउँमा गाडी आउला र म पनि चढुँला भन्ने सोचेकै थिएनँ', उनले भनिन्, ‘अहिले गाडी चढ्ने सपना पूरा भएको छ। सडकमा उड्ने धुलो पनि एक दुई वर्षमा नउडेको देख्न पाऊँ।'
ग्रामीण उत्पादनले बजार पाउँदै
तल्लो सोराडमा पाटन-पञ्चेश्वर सडक पुगेसँगै स्थानीय कृषि उपजले बजार पाउन थालेको छ। सडक पुगेसँगै किसान पनि व्यवसायिक खेती गर्न थालेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने, ‘पहिलापहिला बारीमा फलेको तरकारी बारीमै सडेको हुन्थ्यो तर सडक पुगेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको छ। यसले किसानको आयआर्जनमा समेत वृद्धि भएको छ।'
तल्लो सोराडका किसान व्यवसायिक रूपमा अघि बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताए। उनले भने, ‘तल्लो सोराडमा सडक पुगेसँगै किसान व्यवसायिक बन्न थालेका छन्। नयाँ कृषि समूह पनि दर्ता भएका छन्।'
आफ्नो बारीमा उत्पादित तरकारीले बजार पाउन थालेको मेलौली ९ का किसान खडकबहादुर चन्दले बताए। उनले भने, ‘सडक पुगेसँगै हामीलाई व्यवसायिक बन्न सजिलो भएको छ । हाम्रा उत्पादनले बजार पाएको छ । हामी पनि सडक पुगेसँगै व्यवसायिक बनेका छौं ।'
बिरामीलाई सजिलो
तल्लो सोराड क्षेत्रमा सडक पुगेसँगै उपचारका लागि भारत जानुपर्ने बिरामीको बाध्यता हटेको छ। ‘जिल्ला अस्पतालमा सडकको पहुँच नहुँदा अप्ठ्यारो हुने गरेको थियो। सडक पुगेसँगै त्यो बाध्यता हटेको छ', मेलौलीका केशवसिंह भाटले भने, ‘भारतमा उपचारका नाममा हुने ठगीबाट बचेका छौं। अब यो सडकलाई छिट्टै कालोपत्रे गरेर यो क्षेत्रका नागरिकको माग पूरा गर्नुपर्छ।'
पाटन-पञ्चेश्वर सडक निर्माणले तीव्रता पाएसँगै तल्लो सोराड क्षेत्रबाट उपचारका लागि भारतीय बजारमा जाने रुपैयाँ बचेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘सडक नहुँदा समान्य उपचारका लागि पनि भारत जानुपर्ने बाध्यता थियो । सडक पुगेसँगै त्यो बाध्यता हटेको छ। यसलाई सकेसम्म छिटो कालोपत्रे गर्नुपर्छ । जनप्रतिनिधिको हैसियतले गर्न सक्ने काम हामी पनि गर्छौं।'
भारतमाथिको परनिर्भरता घट्दै
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उद्घाटन गरेको सडक ३४ वर्षपछि निर्माण कार्य सम्पन्न हुँदैछ। यसले दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारत जानुपर्ने सोराडवासीको बाध्यतालाई विस्तारै अन्त्य गर्दै लगेको छ। ‘पहिलापहिला तल्लो सोराडमा भारतीय मुद्राको मात्रै कारोबार हुन्थ्यो। बजारमा भारतीय सामग्री मात्रै पाउने गरेको थियो । पाटन-पञ्चेश्वर सडकको ट्र्याक खुलेपछि अहिले बजारमा नेपाली सामग्री पाइन थालेको छ भने नेपाली मुद्राको कारोबार हुन थालेको छ ।' मेलौलीका व्यापारी कृष्णदत्त भट्टले भने, ‘अब यो सडकलाई प्राथमिकताका साथ कालोपत्रे गर्नुपर्छ।'
बैतडी सदरमुकाम पुग्नसमेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए । उनले भने, ‘महाकाली नदीमा डुंगाको यात्रा सुरुवात गर्ने बेला नेपाली ढाकाटोपी गोजीमा हालेर भारत पस्नु पथ्र्यो अनि झुलाघाट नाकाबाट नेपाली भूमिमा छिरेर नेपाली टोपी लगाउने गर्थ्यौं ढिलै भए पनि यस क्षेत्रका बासिन्दाको पहिचान लुकाउने बाध्यता अन्त्य भएको छ।'
सडक विस्तारले बजारमा पाइने सामग्री पनि उपभोक्ताले रोजेर किन्न पाउने अवस्था आएको अध्यक्ष चन्दले बताए। उनले भने, ‘पहिला भारतीय बजारबाट म्याद गुज्रेका सामग्री नेपाली बजारमा आउँथ्यो। त्यही सामग्री प्रयोग गर्न हामी बाध्य थियौं। अहिले त्यो बाध्यताको पनि अन्त्य भएको छ।'