अविरल यात्रामा दीपक जंगम
काठमाडौं : हिडन ट्रेजरले गत वर्षदेखि सुरु गरेको सांगीतिक कार्यक्रम अविरल यात्रामा यस वर्ष संगीतकर्मी दीपक जंगम प्रस्तुत हुने भएका छन्। असोज ४ गते आयोजना हुने कार्यक्रममा दीपकको संगीतमा बनेका १८ वटा गीत प्रस्तुत हुनेछन्।
नयाँ तथा पुराना गायकगायिकाले दीपकका गीतहरू गाउनेछन्। झन्डै साढे पाँच दशक लामो संगीतयात्राका अनगिन्ती गीतमध्ये १८ वटा छान्न उनलाई गाह्रो परेको थियो।
नयाँदेखि पुराना पुस्तासम्मका गायकगायिका कार्यक्रमका लागि छानिएका छन्। नारायणगोपाल, गुलाम अलीजस्ता गायकले गाएका गीतहरू पनि कार्यक्रममा प्रस्तुत हुनेछन्। दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, संगीता राणा, शैलेश सिंह, कर्ण दास, निशा देशार, बानिका प्रधान, सुमन कुमार श्रेष्ठ र उनकै सुपुत्र अजर जंगमले दीपकको संगीतमा गाउनेछन्। नयाँ पुस्ताले उनको गीतलाई कत्तिको न्याय गर्लान् ? सबैको खुलदुली हुन सक्छ। उनले भने, ‘कम्पोजरको भूमिकामा मात्र भए परिस्थिति बेग्लै हुन्थ्यो, अहिले यस विषयमा कमेन्ट गर्न मिल्दैन।’ बाबुछोरा एउटै मञ्चमा प्रस्तुत हुँदैछन्। एउटै गीतमा प्रस्तुत हुने नहुने दर्शक श्र्रोताको चाहनाले निर्धारण गर्ने उनले बताए।
दस वर्षअघिदेखि यस्तो कार्यक्रमको योजना बनिरहेको हो। तर उचित संयोग जुरेको थिएन। ‘लगानी गर्नेले लगानी उठाउन सकेन भने त्यसपछि उसले कहिल्यै यस्तो कार्यक्रम गर्दैन’, उनले भने, ‘संगीतप्रतिको अनास्था सिर्जना हुनुभन्दा ब्याक हुनु उचित लाग्यो।’
‘म्युजिक कन्डक्टर’ राजु सिंहले जंगमका गीतमा काम गर्न पाउनुलाई चुनौतीपूर्ण अवसरको रूपमा लिएका छन्। चार पुस्ताका संगीतकर्मीको अर्केस्ट्रा समूहको प्रत्यक्ष संगीतको माहोललाई सिंहले ‘सांगीतिक महोत्सव’ ठानेका छन्। जिउँदा स्रष्टालाई सम्मान गर्ने हेतुले हिडन ट्रेजरले गत वर्षदेखि अविरल यात्रा सुरु गरेको हो।