वृद्धवृद्धाका लागि कला
काठमाडौ : सधैं बिरामीको भीडले दिक्कलाग्दो हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रांगण अहिले रंगीन बनेको छ । कलाकार रचना मास्केका अनुभूतिहरू रंगमार्फत क्यानभासमा पोतिएका छन् । तिनै अनुभूतिका आकृतिहरू अस्पतालको प्रांगणमा प्रदर्शन गरिएका हुन् । अस्पतालमा नर्सिङ अधिकृतका रूपमा कार्यरत रचनाको कलाकारिता नेपाली परिवेशमा केन्द्रित छ । देश, प्रकृति, अनुभूति चित्रमा देखिन्छ । उनले देशको सांस्कृतिक सुन्दरतालाई चित्रमा देखाएकी छन् ।
रिस डाह, मनको तरेली विभिन्न रङबाट प्रस्तुत भएका छन् । रूखसँग महिलाको जीवनलाई जोडेर प्रस्तुत गरेकी छन् । पालुवा बनेर नयाँ जीवन दिने, वनलाई आकर्षक बनाएर सिँगार्ने रूख र महिलाको जीवनको समानता चित्रमा देखिन्छ । आमाको माया वर्णन गर्ने पाइँदैन । उनले चित्रमा आमाको माया देखाउन खोजेकी छन् । पिठ्यूँमा घाँसले भरिएको डोको हुँदाहुँदै पनि एउटा बच्चा त्यही भारीमाथि र अर्को बच्चा शरीरको अगाडिपट्टि मजेत्रोले बाँधेर बोकेको चित्रले आमाको गहिरो अनुभूति प्रस्तुत गरेको छ । गर्भावस्था र मातृवात्सल्य अर्को चित्रमा झल्किएको छ ।
प्रेमको गहिराइलाई पनि उनले क्यानभासमा अटाएकी छन् । प्रेममा समर्पित भावलाई चित्रमार्फत प्रस्तुत गरेकी छन् । श्रीमान्को सहयोगले जीवनलाई सुन्दर बनाउन सकेकी उनीभित्र प्रेमको अनुभूति पक्कै गहिरो हुनुपर्छ । त्यही अनुभूति क्यानभासमा पोखिएको होला । यी कोमल र प्रेमिल पक्षसँगै राजनीतिजस्तो कठोर विषयवस्तुलाई पनि समेटेकी छन् । राजनीति र देशको अवस्था चित्रमा देखिन्छ । प्रदर्शनीका केही चित्रले द्वन्द्वकाल स्मरण गराउँछ । सत्य घटनामा आधारित जिउँदै जलेकी नेपाली चेलीको हृदयविदारक चित्रले द्वन्द्वकालको घाउ बल्झाइदिन्छ । स्वास्थ्यकर्मी भएकाले होला, उनको चित्रमा यस क्षेत्रका गम्भीर विषय पनि भेटिए ।
गर्भपतन अनि आमाको मन, चितामा जलिरहेको श्रीमान् र सुत्केरी श्रीमतीको विलाप झल्किने चित्रहरू भावुक बनाउने खालका छन् ।उनले धेरैको जीवन, रोग र मरणलाई नजिकबाट नियालेकी छन्, १९ वर्षसम्म स्वास्थ्यकर्मी बनेर काम गर्दा । अस्पतालमा आउने वृद्धवृद्धा जिउन चाहँदाचाहँदै पनि मर्न बाध्य हुन्छन् । आमाबाबुले सम्पूर्ण जीवन सन्तानको सुखका लागि समर्पित गर्छन् । सन्तानको बजेटको प्राथमिकतामा कमै आमाबाबुको उपचार खर्च पर्छ । उनकै घरमा पनि बूढीसासू छिन् ।
सासूलाई देखेर जिम्मेवार महसुस गर्छिन् । बिरामीको पीडाले उनलाई कति रात निदाउन दिएको छैन । त्यो छटपटाहट मध्यरातमा चित्र बनाएर शान्त पार्छिन् । अस्पतालमा भर्ना भएका वृद्धवृद्धाको उपचारमा सहयोगार्थ यो प्रदर्शनी आयोजना भएको हो । आठ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका चित्र प्रदर्शनीमा छन् । उनले भनिन्, ‘चित्रहरूको बिक्रीबाट संकलित रकमले वृद्धवृद्धाको सहयोगार्थ कोष खडा हुनेछ ।’ प्रदर्शनी शुक्रबारसम्म चल्नेछ ।