ब्युटी विथ ब्रेन
सन् २०१० मा मिस नेपालको ताज पहिरिँदा र भदौ २३ गते शिक्षा दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्याभूषण प्राप्त गर्दाका क्षणलाई सदीक्षा श्रेष्ठ जीवनकै लागि सम्मानित अवसर मान्छिन् । ग्ल्यामर र मोडलिङ क्षेत्रमा लागेपछि अध्ययनलाई अगाडि बढाउन गाह्रो हुन्छ भन्ने सोच राख्नेका लागि पूर्व मिस नेपाल सदीक्षाले गलत साबित गरिदिएकी छन् । उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)बाट बिजनेस एडमिनिस्ट्रेसनमा विशिष्ट श्रेणी सरहको ग्रेड प्राप्त गरी राष्ट्रपति भण्डारीको हातबाट विद्याभूषण ग्रहण गरेकी हुन् ।
मिस नेपालको ताज पहिरिएपछि हरेक युवतीले ‘ब्युटी विथ ब्रेन’को उपाधि पनि सँगै पाउँछिन् । आफूले पाएको यही उपाधिलाई यथार्थमा परिणत गरिदिइन् सदीक्षाले । भनिन्, ‘विद्याभूषण ग्रहण गर्दा शिक्षाको पनि ताज पहिरिएको जस्तो लाग्यो । म दंग परेँ ।’ उनी बैंककबाट काठमाडौं आएको दुई सातामात्रै भयो । त्यसैले उनले अहिले के काम गर्ने भनेर सोचिसकेकी छैनन् । ‘सायद ब्रान्ड मार्केटिङ वा बिजिनेस डेभेलपमेन्टमध्ये कुनै एकमा लाग्छु’, उनले योजना सुनाइन् ।
दसैं तिहार नजिकिएकाले दुई वर्षसम्म मनाउन नपाएको चाड यसपटक परिवारसँग मनाउने उनको योजना छ । ‘त्यसपछि कामको खोजीमा लाग्छु’, उनले भनिन् । जुनसुकै काममा लागे पनि आफूले पहिलेदेखि गर्दै आएको सञ्चारसम्बन्धी काम नछाड्ने उनको अठोट छ । उद्घोषणलाई आंशिक रूपमा भए पनि अगाडि बढाउने उनको रहर छ ।
चलचित्रमा अभिनय र मोडलिङको प्रस्ताव उनलाई मिस नेपाल हुनु अगाडिदेखि नै आएको हो । तर, उनी आफूलाई चलचित्र हेर्दा रमाउने दर्शकको रूपमा मात्रै लिन्छिन् । अभिनय गर्न सक्छु भन्ने उनलाई कहिल्यै लागेन । ‘मनले नखाएको क्षेत्रमा मेहनत गर्ने इच्छा पनि जागेन’, उनले प्रस्ट्याइन् । म्युजिक भिडियो र र्याम्प नाप्ने रहरसमेत नभएकी उनी अहिले एभरेस्ट बैंक, कुल प्याड मोबाइल लगायतका कम्पनीको ब्रान्ड एम्बासडर बनेकी छन् ।
स्नातकोत्तरमा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बिजनेस एडमिनिस्ट्रेसनमा विशिष्ट श्रेणीसरहको ग्रेड प्राप्त गरेकी पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ भन्छिन्, ‘बैंककको यौन पर्यटन विश्वचर्चित छ तर कुनै पनि विदेशी साथीलाई त्यस्ता ठाउँमा उनीहरू लिएर जाँदैनन् ।
नर्सरीदेखि १० कक्षासम्म ईपीएस मीनभवनमा पढेकी उनले त्यहाँबाटै एसएलसी दिइन् । सेन्ट जेभियर्स कलेजमा आईएस्सी सकाएर बसेको समयमा मिस नेपालमा भाग लिएकी थिइन् । मिस नेपालको ताज चुमेपछि आफूले पाएको ‘एक्सपोज’ले गर्दा धेरै मानिससँग चिनजान गर्ने र सम्बन्ध बनाउने मौका पाइन् ।
सोही वर्ष चीनमा आयोजित मिस वल्र्डमा उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । कार्यक्रमको सिलसिलामा भारत, बंगलादेशलगायत विभिन्न मुलुकमा उनले नेपालको प्रतिनिधित्व गरेकी छन् । बैंककमा उनी पढ्ने कलेजमा अध्यक्षको अफिसमा कार्यरत एक नेपालीले उनको परिचय अध्यक्षलाई खुलाएपछि कलेजका अध्यक्ष स्वयंले सदीक्षालाई ‘स्मार्ट एन्ड मस्ट ब्युटिफुल’ भनेर आफ्नो फेसबुकमा पोस्ट गरेका थिए ।
त्यसपछि कलेजका सबैलाई उनी मिस नेपाल भन्ने थाहा भयो । कलेजले लिएको पहिलो सेमेस्टरको परीक्षामा राम्रो नतिजा आएपछि आफ्नो परिचयको इज्जत राख्न सकेको उनले महसुस गरिन् । कुनै पनि क्षेत्रमा दृढ भएर लागे नसोचेको सपना पूरा हुनसक्छ । यस्तै महसुस गरेकी सदीक्षाले एआईटी टप गरेर विलियम हिल प्राइज पाएपछि उनलाई बैंककमै जागिरका लागि प्रशस्त अवसर आएको थियो । तर, नेपालमै बसेर केही गर्ने इच्छा बोकेर उनी फर्किएकी हुन् ।
बैंकक यौन पर्यटनका लागि चर्चित छ । यति राम्री साथीलाई भड्काएर कहिले कुनै थाई साथीले त्यस्ता ठाउँहरूमा लैजाने प्रयास गरेनन् त भन्ने जिज्ञासामा उनले भनिन्, ‘बैंककको यौन पर्यटन विश्वचर्चित छ तर कुनै पनि विदेशी साथीलाई त्यस्ता ठाउँमा उनीहरू लिएर जाँदैनन् ।’
थाइल्यान्डमा बैंकक लगायतका धेरै सुन्दर ठाउँहरू भएकाले घुम्न तिनै सहर एवं समुद्रको किनार, होल्डिङ टेम्पल, कञ्चनापुरीमा उनी जाने गर्थिन् । त्यहाँको भौतिक संरचना, विकासका पूर्वाधार अनि जीवनशैली देख्दा नेपालको अवस्था सम्झन्थिन् । तापनि उनलाई आफ्नै देश प्यारो लाग्यो ।
मिस नेपाल भएपछि मोडलिङ र चलचित्रमात्रै होइन, शैक्षिक क्षेत्रमा पनि धेरै गर्न सक्छन् भनेर देखाउन पाएकोमा सदीक्षा गर्व गर्छिन् । मिस नेपाल बनेपछि स्नातक पढ्दै गर्दा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीको हातबाट ‘भाउ टप टेन कलेज अवार्ड’ थापेकी उनले स्नातकोत्तरमा उत्कृष्ट नतिजा हात पारेर राष्ट्रपति भण्डारीबाट विद्याभूषण थापिन् ।
आज धेरै नेपाली महिलाका लागि रोल मोडल बनेकी सदीक्षालाई अब ‘प्रोफेसनल लाइफ’मा कसरी सफल हुने भन्ने चुनौती थपिएको छ । पढाइ सकेर घर बसेकी छोरीको विवाहको कुरा चल्नु नौलो कुरा होइन । तर, सदीक्षा भने करिअर बनाएरमात्रै विवाहबारे सोच्ने मुडमा छिन् ।