सत्यराजको रोजाइका पाँच गीत
जिनबाटै संगीतकर्म लिएर आएका गायक हुन्, सत्यराज आचार्य । सरस्वतीले बास गरेको घरमा जन्मिएका उनको हुर्काइ पनि पूर्ण सांगीतिक माहोलमै भयो । विभिन्न गीतकार संगीतकारसँग काम गरेका छन् उनले । उनले स्वर दिएका गीतलाई हजारौं श्रोतादर्शकले रुचाएका छन् । उनका दर्जनौं गीत लोकप्रिय छन् । तर, उनी आफैंलाई मन पर्ने पाँच गीतचाहिँ कुन कुन हुन् त ? हुन त आफ्ना सिर्जना सबै उत्तिकै प्यारा हुन्छन् । तापनि विशेष सम्झना जोडिएका र उनलाई मन पर्ने पाँच गीत यी हुन् ।
१. मीठो यादले सताइरहन्छ
चौथो एल्बममा समावेश गीत हो । २० वर्षअगाडि कम्पोज गरेको हुँ । आरडी वर्मनको फ्यान हुँ । वर्मन बिटमा गीत बनाउन मन थियो । यो गीत त्यही बिटमा बनाएको थिएँ । लामो समयसम्म रेकर्ड गरिनँ । संगीत बुझ्ने जसले पनि सुन्नासाथ गाउन मागिहाल्थे । एक दिन सपना श्री दिदीले माग्नुभयो । उहाँले मागेपछि नाइँ भन्न सकिनँ । सपना दिदीले रेकर्ड गर्ने कुरा भए पनि उपयुक्त समय मिलिरहेका थिएन । त्यही बीचमा सुकमित गुरुङ दिदीले मागेर दुईचार दिनमै रेकर्ड गर्नुभयो । पछि सपना दिदी मसँग बेस्सरी रिसाउनुभयो । सुकमित दिदीले आफ्नो एल्बममा राख्नुभएको यो गीत म आफैंले गाएर पहिलो एल्बममा राखेँ । यसको शब्द, मेलोडी नै मीठो लाग्छ ।
२. टाढा
एकजना अति मिल्ने साथी टाढा जानुभएको थियो । त्यति बेला पाँच मिनेटमा तयार भएको गीत हो यो । मेरो दिमागमा शब्द र ट्युन एकै पटकमा आउँछ । एकदमै मीठो ट्युन थियो । त्यसलाई एरेन्ज गर्न अलि फरक मान्छेको हातमा पुर्याएँ । आधुनिक गीत एरेन्ज गर्नेहरू नखोजी रकपप एरेन्ज गर्ने मनोज केसीलाई दिएँ । यसको नतिजा एकदमै राम्रो आयो । यो गीतले बेग्लै दुनियाँमा पुर्याउँछ । भित्री मनमा चित्तमा कताकता दुखेजस्तो महसुस गराउँछ । अहिले पनि साथीहरूको जमघटमा बस्दा यो गीत नगाई सुख पाउँदिनँ । फेरि रेकर्ड गर्न मन लागेको गीतमध्येमा यो पनि एउटा हो ।
३. गोरी भन्दा मलाई
यो मधुशाला एल्बमको गजल हो । मेरी श्रीमती अनिताप्रति समर्पित गरेको गीत हो । त्यसैले नै मेरो लागि विशेष छ । कवाली शैलीमा जीवन्त गजल बनेको छ । किरण कँडेलको एरेन्जमेन्ट, मीठो मेलोडी बनेको छ । स्टेजमा यो गजल सुरु भएपछि दर्शक श्रोताको ताली आउन थाल्छ । रमाइलो मुडमा गाउने सुन्ने गजल छ ।
४. आज एउटा खाम देखेँ
सामाजिक सञ्जाल, ईमेलको समय नआउँदैको कुरा हो । एक दिन कोठा सफा गर्ने क्रममा एउटा साथीको पत्र देखेँ । त्यति बेलै यो गजल बनेको हो । यमन कल्याण रागमा बनाएको छु । मलाई राम्रै लागेको थियो । बुवाले सुनेर मन पराएपछि झनै राम्रो लाग्यो । बुवालाई मन पर्न विशेष नै हुनुपर्छ । उहाँले मन पराउनु भनेको एकदम ठूलो कुरा हो । अरू राम्रा गायक गायिकालाई सोध्दा पनि यो गजललाई एकदमै प्रशंसा गर्नुभयो ।
५. जिन्दगीको दौडमा
यो पनि मधुशालामा रहेको गजल हो । एकदमै ‘हेभी कम्पोजिसन’ छ । यसलाई जसजसले सन्नुभयो, सबैले प्रशंसा गर्नुभयो । रूपक तालमा आजकाल त्यति गीत बनाइँदैन । यो गजल रूपक तालमा छ । संगीतका सबै नोट प्रयोग गरेको छु । अरू गीतहरूमा धेरै भए आठदसवटा नोट प्रयोग गरिएको हुन्छ । यसमा १२ वटा नोट प्रयोग भएको छ । अहिले आफैंले गाउन गाह्रो लाग्छ । संगीत सिक्नेहरूले यसलाई अभ्यास गर्न खोज्छन्, देखेर खुसी लाग्छ । संगीतकर्मीहरू गुलाम अली, मेहेदी हसनको स्तरको गजल भनेर प्रतिक्रिया दिनुहुन्छ ।