प्रश्नमा कविता

प्रश्नमा कविता

 

कवितामा कोलाहल

साउन २८ गते शनिबार भुकुटीमण्डपमा चलेको पुस्तक प्रदर्शनीमा आयोजित काव्य उत्सवमा थिएँ— कवि मित्रद्वय शंकर भण्डारी र घनश्याम पाण्डेको साथमा । शिल्पी नाटकघरले चलाउँदै आएको 'मुक्त अनुभूति'को ११ वटा शृंखलामा अटाएका २३ कविका छानिएका ६९ वटा कविता र कविता-विमर्शसमेत संलग्न कविताकृति 'मुक्त अनुभूति'को विमोचन समारोहका साथै 'काव्य उत्सव' भएको थियो । देशका विभिन्न भागबाट आएका थिए कविहरू ।
काठमाडौं बाहिरका हामी । काठमाडौंलाई कर्मथलो बनाउन नसकेका वा नपाएकाहरू । सोचेका थियौं— बाफ रे ! यत्रो उत्सव ! यति नाम चलेका कविहरू ! राजधानीमा आयोजित कार्यक्रम ! अर्कै लोकमा पुगिने भयो आज !

कार्यक्रम अपेक्षित 'भव्य' भने भएन । अधिकांश कविता, कविता कम र 'कोलाहल' बढी लागे । बुटवलतिर नै कति सुनिएका थिए यस्ता कविता त ! नानीहरूले कविता पढेजस्तो कागजको टुक्रा वा किताब पढेर उम्किए धेरै कवि । कार्यक्रमले झन्डै तीन घन्टा खाइदिएर पनि अपेक्षित सन्तुष्टि दिन नसकेपछि 'मुक्त अनुभूति' किन्न र आद्योपन्त पढ्न बाध्य भइगएँ । र, पढेपछि केही लेख्न बाध्य !

 

विभिन्न शृंखलामा कविता वाचनका बीचमा न्यूनतम समय सीमाभित्रका विमर्शहरू अपेक्षित लक्ष्यमा पुगेनन् भनी गुनासो गर्नु सान्दर्भिक होला-नहोला, तर सत्य के हो भने 'विमर्श' सतही भएको छ । कविताको अन्वेषण, प्रकृति र परम्परा, इतिहास र भविष्य छैन विमर्शमा । वर्तमानको छिपछिपेमा अलिअलि भिजेर भागेको छ 'विमर्श' र यसले अर्को 'विमर्श'को सिर्जना गरेको छ । तथापि छिपछिप नै सही; पहिचान र राजनीति, भाषा र लयविधान, विचार र वशिष्ट्यउपरका छलफलले 'विमर्श'को इज्जत चैं राखिदिएको छ ।

कविताको गणितीय आयाम

कविताको महत्तम उद्देश्य परिवर्तन हो । र, राजनीतिको पनि । आफूलाई राजामहाराजाको दु;खसुखको वृत्त र रौरवबाट उहिल्यै मुक्त गरेर कविता मुक्तिका लागि हिँडेको छ । यसरी हेर्दा कविता र राजनीतिको गन्तव्य एउटै देखिन्छ, नदीको गन्तव्यजस्तै ।
हाम्रो राजनीति तर आततायी छिमेकीले लगाइदिएको बाँधमा छेकिएर आफैं डुब्ने नदीजस्तो भएको छ । कविता त्यस्तो नदी हुन सक्दैन । कविता त सारा उत्पीडन, शोषण र हस्तक्षेपका बाँध र किल्लाहरू भत्काएर अघि बढ्ने नदी हो ।

समकालीन नेपाली कविताको एउटा विशेषता छ— यसको शब्दकोष निकै पातलो छ । त्यसैले अधिकांश विम्ब 'क्लिशे' हुनुको सीमान्तमा छन् ।

कविता र राजनीतिबीचको फरक यही हो । कविता मजाले राजनीति हुनसक्छ । तर, राजनीतिका हरेक आयाम कविता हुन सक्दैनन् किनकि राजनीति शक्ति हत्याउने र लाद्ने फोहोरी खेल पनि हो ।
समकालीन कविहरू कवितालाई राजनीतिक आयामबाट मात्रै हेरिरहेछन् । कविताको गणितीय आयामबारे ती मौन छन् । 'चर्चित' भनिएका एक कविले विमर्शमा भनेका छन्, 'भर्टिकली वा होरिजन्टली जसरी सोचे पनि राजनीति नै सबै कुराको केन्द्र भएको छ ।'

यहाँनेर 'भर्टिकल्ली' र 'होरिजेन्टली' सोच्नुको फरक थाहा पाउनु जरुरी छ । भर्टिकल्ली सोच्दा विचारले काठमाडौंमा मात्रै टेक्छ तर होरिजेन्टली सोच्दा झापादेखी कञ्जनपुरसम्म टेकिरहेको हुन्छ । अझ समयको माग के हो भने तपाईं 'डायगोनोकल्ली' सोच्नुस् । यसरी सोच्दा विचारले झापालाई हुम्लासँग वा कञ्जनपुरलाई ताप्लेजुङसँग जोड्छ ।

काठमाडौंमा खाइखेलिरहेका कविहरूले त्यसरी सोच्न सकिरहेका छैनन् । मिडियामा पहुँचयुक्त केही साथीसंगीसहितको कम्फोर्ट जोनमा बसेर एउटा मुद्दाको चारभित्ताभित्र सीमित देखिन्छन् ती । पहिचान खोज्छन् तर आफ्नो नश्लभन्दा अर्को पहिचान स्वीकार्न अप्ठेरो मान्छन् । उपस्थिति खोज्छन् तर त्यो आफ्नै समुदायको हुनुपर्छ । त्यसैले त पहिचानको मुद्दा उठ्नासाथ किरात वा मधेसको आवाज जति चर्को सुनिन्छ; मगरात, तमु वा सुदूरपश्चिमको आवाज त्यति नै शुष्क !

जसरी सोचे पनि कुरा एउटै हो भनी निश्चित बिन्दुमा 'भर्टिकल्ली' मात्र सोचिरहेका कविहरूका कविता गलत 'लजिक'ले प्रोसेसिङ भएर 'गलत' उत्तरसहित उपस्थित छ समकालीन कविताको लहरमा ।
गणितका सबै सूत्र 'लजिकल्ली' प्रमाणित भएको सत्य हो । हाम्रा कविताहरूले विचार, कथानक र चरित्रलाई त्यसरी नै 'लजिकल्ली' प्रमाणित गर्नुपर्छ किनभने 'कविता गर्नु' दुनियाँको सबैभन्दा गाह्रो कामहरूमध्ये एक हो । कविता सत्य हो र सत्य बोल्नु वा लेख्नु निश्चय पनि गाह्रो काम हो । त्यो किन पनि भने सत्यका अनेक फग्ल्याटामा कुनै एक फग्ल्याटोले मात्र सम्पूर्ण सत्य बोल्न सक्दैन । त्यसैले नै 'डायगोनल एप्रोच'को आवश्यकता परेको हो ।

मुक्त अनुभूतिका केही मानक कविता

भनिन्छ, हरेक तेस्रो व्यक्ति कवि हो । आशय स्पष्ट छ— कविता सबैभन्दा बढी लेखिने र त्यसैले पढिने पनि विधा हो । यो त्यस्तो सिर्जना हो जो एकै बसाइमा पढिसकिन्छ । कुनै कुनै त एक मिनेट वा केही सेकेन्डमै । तर, किन खासै चर्चा हुँदैन कविताको ? 

कुनै आख्यान वा गैरआख्यानको कृतिले महिनौं चर्चा बटुलिरहँदा समकालीन नेपाली कविताको मानक सिर्जना कुन हो भन्ने प्रश्न पनि उठ्दैन । गुट-उपगुट बनाएर चर्चा बटुल्नेहरूले आफ्नो वृत्ति बाहिरका उत्कृष्ट मानक कविताहरूबारे मौन बसेको देख्दा उदेक लाग्छ ।

'मुक्त अनुभूति'भित्र समकालीन नेपाली कविताका केही मानक कविता छन् । संग्रहको ठूलो उपलब्धि हो यो । आशा गरौं— स्वनामधन्य समालोचकहरूले, सचेत पाठकहरूले यी कवितामाथि दृष्टि दिने नै छन् ।

स्त्री संवेदनाको आँखीझ्यालबाट मानवीय संवेदनाको भूगोल देखाउने उच्च कोटीको कविता हो— विप्लव ढकालको 'न्याउली रायो नीरमाया' । निर्मल मौन पात्र हो तर कवितामा उसको अभिव्यक्तिले मुटु छोइदिन्छ । ढकालकै 'कोटको टाँक'मा भने भुइँमान्छेहरू बोल्छन् र तिनको सरल अभिव्यक्तिले कवितालाई शिखरमा पुर्‍याउँछन् ।

विक्रम सुब्बाको चर्चित कविता 'सगरमाथा नांगै देखिन्छ'ले फरक दृष्टिकोण दिन्छ । मानवीय संवेदनाको शिखरमा उभिएर विक्रमका अरू दुई कविता 'दाइजो' र 'पाठक'ले पाठकलाई सोचमग्न बनाउँछन् ।श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' एक बहुचर्चित र जीवन्त सिर्जना हो । उनकै 'भानुभक्त' र 'पुरानो मानिस' पनि समकालीन कविताका प्रतिनिधि सिर्जना हुन् ।

शकुन्तला जोशी, मोमिला, विमला तुम्खेवा, सीमा आभास र सरिता तिवारी संग्रहमा समाहित नारी स्रष्टा हुन् । यीमध्ये सरिता र सीमाको कविता धरातल निकै विस्तृत र समृद्ध देखिन्छ । यिनका कवितामा 'नारीवाद' छँदैछ, युगीन विद्रोहको वैशिष्ट्य पनि छ ।

जीवनलाई हेर्ने नयाँ दृष्टिकोणको आविष्कार कविताको सबैभन्दा ठूलो उपलब्धि हो । मनु मञ्जिलले 'दुश्मन'मा यो उपलब्धि प्राप्त गरेका छन् । 'गाउँले बालक सम्झेर' मनुको अर्को एक मानक कविता हो । विम्ब र प्रतीकसँग खेलेर लय सिर्जना गर्न सफल मनुको 'उनी कविता जीवनको रङले लेख्छिन्' शिल्प र शैलीले एक उत्कृष्ट कविता हो । तर, उनले प्रस्तुत गरेको तस्बिर 'सहनशीला सुशीला'को हो । यो कवितामा मनु सरिता र सीमाको ठीक उल्टो सुनिन पुगेका छन् ।

विघटन र विग्रहप्रति तीव्र चेतना प्रवाहित 'ओ सुजाता !' मनप्रसाद सुब्बाको एक मानक कविता हो भने 'चिबे चरा' केशव सिलवाल र 'म्युजियममा कोक्पाको मोछम्मा' हेमन यात्रीको मास्टर पिस । सरिता तिवारीको 'आदिवासी' अर्काे एक उत्कृष्ट कविता हो । आदिवासीको अभिव्यक्तिसँग मेल नखाने एकाध शब्दमा ध्यान नदिने हो भने आदिवासीको अभिव्यक्ति सलल बग्दै पाठकको मनभित्र पस्छ र मस्तिष्कमा घन हान्छ । अहिले 'पहिचान'का लागि लेखिरहेका कतिपय कविले सरिताको यही शैली र वैशिष्ट्य पछ्याएको देखिन्छ ।

विनोदविक्रम केसीको 'अप्ठ्यारो मान्छे'ले स्वाभिमानको मूल्य बताउँछ । भूमण्डलीकरणले पुँजीवादी चरित्रलाई नांगेझार पार्छ । र, 'आज सरको क्लास लिन्छ विद्यार्थी'ले युगीन विसंगतिमाथि विद्रोह गर्छ।

सुमन पोखरेलको 'केटाकेटी' विम्ब, कला र संवेदना सबै दृष्टिले उत्कृष्ट कविता हो । बहुचर्चित 'सहर' विम्बमाथि लेखिएको 'यो कसको सहर हो ? ' फरक दृष्टिकोणले गर्दा सुमनको अर्को एक सुन्दर सिर्जना हो ।

उल्लिखित सबै कविता समकालीन नेपाली कविताका प्रतिनिधि कविताहरू हुन् । फरक विषय र भावभूमिमा लेखिएका भए पनि यिनमा एउटा गजबको समानता छ । त्यो के भने यिनका शिल्प विधान अत्यन्त सरल जनजिब्रोका शब्दहरू समेटेका छन् । लय विधानले आममान्छेको हृदय झंकृत बनाएका छन् ।टीएस इलियटले भनेजस्तै यी सबै 'पक्का' कविता हुन् जसले बुझिनुभन्दा पहिले नै पाठक÷ श्रोतासँग संवाद गर्छन् ।

'क्लिशे' विम्बका बीचमा प्रश्नको आविष्कार

समकालीन नेपाली कविताको एउटा विशेषता छ— यसको शब्दकोष निकै पातलो छ । त्यसैले अधिकांश विम्ब 'क्लिशे' हुनुको सीमान्तमा छन् । 'दु;खको घुम्टो', 'दु;खको साँचो', 'दु;खको...' । 'दिनको अन्धकार', 'तरुनी माटो', 'पठ्ठो हावा', 'आमाको लोरी', 'भोकको महाभारत', 'भोकको...' । लगायतका विम्ब संग्रहका कवितामा दोहोरिई रहेछन् ।

श्रवण मुकारुङको 'पुरानो मानिस'मा प्रयुक्त 'पसिनाको गहुँगोरो गन्ध' प्रकाश थाम्सुहाङको 'हरियो ग्रहको मान्छे'मा पनि प्रयोग हुनुले हामी विम्ब विधानमा कति 'क्लिशे' भइरहेछौं भन्ने स्पष्ट पार्छ ।
हेमन यात्रीले भने केही मौलिक विम्बहरू सिर्जना गरेको देखिन्छ । 'रूखबाट गीतका हरफ खसाल्नु', 'कटुसको झ्याङमा घडी हेर्नु', 'साँझको जूनकीरीजस्तै सम्झना' । उनका उपमाहरू राम्रै लाग्छन् । विक्रम सुब्बाको 'नेपालको लामो आकृतिजस्तै लम्पसार आमाको पार्थिव शरीर' लामो र मार्मिक उपमा हो । विनोदविक्रम केसीको 'पुँजीवादको पुत्ररत्न' र 'आँसुको रसायनशास्त्र' विम्ब पनि आकर्षक छ ।
भन्नुपर्छ, अधिकांश नेपाली कविता विम्बहरूको पुनरावृत्तिम अल्मलिएको छ । परम्परागत परिभाषा र विम्बहरूको परम्परागत मान्यताबाट शब्दहरूलाई मुक्त गर्दै सत्यको अन्वेषण र प्रश्नहरूको आविष्कार गर्नु आजको कविताको दायित्व हो । तर, यो दायित्व कमै कविहरूले मात्रै बोकिरहेका छन् ।
- 'किन चढाउँछ भक्तले देउतालाई

यो फोहर नोट ? ' (एउटा नोटको जीवनी, भूपिन)
- 'घाँस काट्न गएकी हाम्री बहिनीको
मुखमा रुमाल कोचेको तपाईंले नै त होइन ? (कोटको टाँक, विप्लव ढकाल)
- के राष्ट्रिय चरा हुन
डाँफेको जस्तै रंगीत प्वाँख नै हुनुपर्छ ? (चिबे चरा, केशव सिलवाल)
यी सामान्य प्रश्नहरू मात्र होइनन् । क्लिशे विम्बहरूका बीचबाट उदाएका सशक्त प्रश्नहरू हुन् जसले इतिहास र मान्यताहरूको पुनर्परीक्षणको माग गर्छन् । त्यसैले त कविता एक आविष्कार हो ।

चुनौती ; पात्रहरूको सिर्जना

कहिलेकाहीँ प्रश्न उठ्ने गर्छ— के कविताले पात्र निर्माण गर्छ ? मूलत; पात्र निर्माण आख्यानसँग जोडिन्छ तर कविताको स्पेस-टाइमका कर्ताहरू त पात्र नै हुन् । त्यसैले प्रत्यक्ष वा परोक्ष रूपमा कविता पात्रहरूकै सेरोफेरोमा घुमिरहेको हुन्छ । अत; अनिवार्य नै नभनिए पनि पात्रको सिर्जना कविताबाट पनि अपेक्षित हुन्छ । तर, बीस-चालीस पंक्तिको कवितामा एउटा प्रतिनिधि पात्र सिर्जना गर्नु खेलाँची होइन । पात्रहरूको सिर्जना समकालीन नेपाली कविताका लागि एउटा चुनौती हो।

यो चुनौतीलाई 'मुक्त अनुभूति'का अधिकांश कविताले स्वीकार्न सकेका छैनन् । कविताले पात्र सिर्जना गर्न त खोजेको छ कहीँकहीँ तर ती पात्र बोल्दैनन् । पात्रको काँधमा चढेर कवि पो कराउँछ एकोहोरो । कवि आफ्नो 'कथित' दर्शनमा आफैं डुब्छ, पाठकलाई डुबाउँदैन । कवि एक्लै 'कथित' कल्पनाको उडान भर्छ, पाठकलाई सँगै उठाउँदैन । कवि एक्लै रुन्छ, पाठकलाई रुवाउँदैन । ऊ एक्लै हिँड्छ, पाठकलाई हिडाउँदैन । किनभने, पाठकले सँगसँगै यात्रा गर्नसक्ने पात्र छैन कवितामा।

देवकोटाको कविता पात्र 'पागल', रिमालको 'आमा', भूपिको 'हो ची मिन्ह' लगायतका पात्रहरूका लहरमा खोइ नयाँ पात्र कविताको ? समकालीन कवितालाई श्रवण मुकारुङको 'बिसे नगर्ची', विनोदविक्रम केसीको 'रामप्रसाद' वा निभा शाहको 'मनसरा'ले मात्र पुग्दैन । युग बोलेर युगयुग बाँच्ने असंख्य पात्रको खाँचो छ हामीलाई ।

'मुक्त अनुभूति'मा केही कविले पात्र निर्माणको प्रयास भने गरेका छन् । श्रवणकै 'भानुभक्त', मनुको 'दुश्मन' र 'गाउँले बालक', हेमनको 'फोक्पा', सरिताको 'आदिवासी', सीमाको 'बैरागी काइँला', भूपिनको 'दोस्त', विप्लवको 'निर्मली', विमलाको 'मनमाया' स्मरणीय र मार्मिक पात्रहरू हुन् ।
केशव सिलवालको 'चिबे' एक वाचाल र अनुपम पात्र (विम्ब ? ) हो जसले आम सीमान्तकृत वर्गको प्रतिनिधित्व गर्छ । यीबाहेक अरू कविले पनि पात्रहरू त खडा गरेका छन् तर तिनको भाषा बुझिँदैन । कवि आफैं हावी हुन थालेपछि विचरा पात्रहरू स्वत; कमजोर हुन्छन् र तताण नै ढलिहाल्छन् ।
कवितामा भुर्लुक्क देखिएर तत्कालै ढालिने पात्रहरू नेपाली कविताको कमजोरी हो । शक्तिशाली र छोइने पात्रहरूको सिर्जना चुनौती हो ।

बाँकी प्रश्न

कविता युगको कथानकयुक्त दस्तावेज हो । यो युगयुग सर्दै जान्छ । तर, कवितामा युगको कथा भएन र यसले कलात्मक अभिव्यक्ति दिन सकेन भने यो सर्दैसर्दै जाँदैन, मर्दै जान्छ ।
पाँच हजार वर्ष अघिको धरातलमा उभिएको 'महाभारत' होस् वा अढाई हजार वर्ष अघिको कथामा आधारित 'ओडीसी' र 'इलियाड'; ती सबै पिँढी दर पिँढी सर्दैसर्दै आएका छन् र सरिरहनेछन् भविष्यमा सयौं पिँढीसम्म ।

के हाम्रा समकालीन कविताहरूमा त्यो गुण छ ? के हामीले वर्तमान समयको 'क्यानभास'मा कोरेका कविताहरू महान् ग्रिसेली लेखक प्लुटार्चले भनेजस्तै 'बोल्ने चित्र'जस्तै जीवन्त र सुन्दर हुन सकेका छन् ? कवि तुलसी दिवसले त्यही 'काव्य उत्सव'को मञ्चमा राख्नुभएको भनाइ अत्यन्त मननीय छन् ।

'कविता भाषिक अभिव्यक्तिको सर्वोत्कृष्ट कला हो र त्यसको वकालत गर्नसक्ने क्षमता प्रत्येक कविमा हुनुपर्छ ।'के हामीलाई हाम्रा कविताहरूले कविताको वकालत गर्ने उचाइमा पुर्‍याएका छन् ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.