उदाहरणीय पाम र मनिता
आमाबाबुविहीन बालबालिकालाई हुर्काउनु र पढाउनु कम्ती चुनौती छैन । अझ यस्ता बालबालिकामा देखिने विकृतिलाई समाधान गर्नु पहाड फोरेर गल्छी बनाएसरह गाह्रो हुन्छ । तर, पहाड फोरेर बनाईएको गल्छीको बाटो हिँड्दाको मजा भने बेग्लै हुन्छ ।काठमाडौंको बालाजु चोकबाट करिब दुई किलोमिटर भित्र गएपछि नागार्जुनको काखमा तीन रोपनी क्षेत्रफलमा एउटा घरसहितको संरचना तयार पारिएको छ । उक्त संरचना सफल बन्दी सहायता नियोग (पाम)को हो।
अहिले त्यही पाममा कैदीबन्दी जीवन बिताइरहेका बाबुआमाका चारदेखि १८ वर्षका २८ छोराछोरी बस्छन् । अनि त्यहीँबाट सुरु हुन्छ, उनीहरूको भविष्यमा एउटा सफल खेलाडी बन्ने सपना ।
खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल पाममा कैदीबन्दी आमाबाबुका छोराछोरीलाई जुडो खेल सिकाउनुका साथै आवास र पठनपाठनको समेत व्यवस्था गरिँदै आएको छ ।
२०४८ सालमा लेखक विष्णुकुमारी वाइबा (पारिजात)ले यो संस्था स्थापना गरेकी हुन् । अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आ श्रय दिने उद्देश्यले खोलिएको पामलाई पछि व्यवस्थापनमा समस्या भयो । र, बालबालिकालाई अनुशासनमा राख्न पनि कठिन भयो ।
कठिन अवस्थामा आठ वर्षअघि समाजसेवी डा. नारायणकाजी श्रेष्ठले पामको जिम्मेवारी लिए । जुडो खेलका प्रशिक्षकसमेत रहेका श्रेष्ठले पामको जिम्मेवारी लिएपछि बालबालिकालाई जुडो खेलाउन पाए अनुशासन त्यहीँ सिकाउन सकिन्छ भन्ने विश्वास थियो । त्यसैले श्रेष्ठले नै पाममा जुडो खेल भित्याए।
'धेरैजस्तो बाबु जेल पर्दा आमा नयाँ विवाह गरेर जाने अनि आमा जेल परेपछि बाबुले छोराछोरीलाई बेवास्ता गर्ने । यस्ता आमाबाबुका छोराछोरीलाई आ श्रयमा राख्दा अनुशासित बनाउन निकै कठिन हुने । यसलाई समाधान गर्न हामीले जुडो खेल राखेका हौं । खेलमा लागेपछि बालबालिका आफंै अनुशासित बन्दा रहेछन्', श्रेष्ठले नयाँ अनुभव सुनाए ।
सुरुमा बच्चामा विकृति देखिएको थियो । नारायणकाजीको योजनालाई वास्तविकतामा परिणत गर्न जुडो खेलकै अर्का प्रशिक्षक सूर्यनारायण श्रेष्ठले पनि होस्टेमा हैंसे गरे । पाममा विस्तारै जुडो खेलको माहोल बन्यो । सुरुको अवस्थामा बालबालिकामा अन्योल भविष्य, कमजोर मानसिकता, सामाजिक अपहेलना र आपराधिक मनोवृत्ति पनि देखिने गरेको थियो । अहिले कैदीबन्दीका बच्चाहरू नेपाल र नेपालीको शान बढाउने खेलाडी बनेका छन् ।
आठ वर्षअघि जुडो प्रशिक्षण सुरु गरेका पामका बच्चालाई तीन वर्ष लगातार प्रशिक्षण दिएपछि पहिलोपटक बाहिरी प्रतिस्पर्धामा उतारिएको थियो । पहिलो सहभागितामै घरेलु प्रतियोगितामा पाम टोली टिम च्याम्पियन बन्यो । आठौं वर्षको यात्रामा पामबाट उत्पादित खेलाडीले राष्ट्रिय, दक्षिण एसियाली खेलकुद (साग) हुँदै विश्व च्याम्पियनसिप सम्मको यात्रा तय गरे । पामले सयौं उपाधिसमेत जित्न सफल भयो ।
अहिले पामको जुडो हलमा पदकको थुप्रो छ । स्थापनाकालको आठ वर्षमै पामले राष्ट्रिय स्तरको प्रतियोगितामा १४ पटक टिम च्याम्पियनको उपाधि जितिसकेको छ । पामले राष्ट्रियस्तरमा ९२ स्वर्ण पदक हात पारेको छ । पामले अन्तर्राष्ट्रियस्तरमा २१ पदक भित्याइसकेको छ । पामका उत्पादन मनिता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ, सुरेश दोङ, रोशन दोङ, देवकी माया श्रेष्ठ, सुबोध मण्डलले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका छन् ।
बाँकी खेलाडी उनीहरूको पाइला पछ्याइरहेका छन् ।गत सोमबारमात्र पामका लागि दुईवटा खुसीको अवसर एकैपटक मिल्यो । वर्ष २०७३ को पल्सर स्पोर्टस् युवा वर्ष खेलाडीको अवार्ड जुडोकी मनिता श्रेष्ठ प्रधानले जितिन् । उनी पाममै हुर्किएकी खेलाडी हुन् । लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्न सफल मनिता यसपटक चार प्रतिस्पर्धीलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएकी हुन् ।
अघिल्लो वर्ष भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । उनले भारतको कोचीमा भएको १०औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा नेपालका लागि कांस्य पदक दिलाएकी थिइन् ।
मनिताले यस अवार्डको मनोनयनमा परेका क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पारेकी थिइन् । अवार्ड जितेपछि दंग परेकी मनिताले पामलाई जन्म दिने बाबाआमाभन्दा माथिल्लो गुन लगाएको भन्दै धन्यवादमात्र दिइनन्, भविष्यमा नेपालका लागि अझै पदक जितेर ल्याउने प्रतिबद्धतासमेत जनाइन् ।
यसैगरी मनितासँगै नेपाली खेलकुदमा विशेष योगदान गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने गरेको एनएसजेएफ स्पेसल अवार्ड-२०७३ पनि पामले पायो । खेलकुदमार्फत व्यक्तिको भाग्य र भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल बन्दी सहायता नियोग (पाम)लाई यसपटक स्पेसल अवार्ड प्रदान गरिएको हो ।स्पेसल अवार्ड पाएपछि भावुक बनेका पामका उनै जुडो अभियन्ता डा. नारायणकाजी श्रेष्ठले पामको सफलतामा सयौं सहयोगीको हात रहेको प्रतिक्रिया दिए ।
'पामको योजना अब ४० खेलाडी पुर्याउने छ । सुरुमा त म आफैंलाई कठिन थियो । बच्चाहरू मानसिक रूपमा कमजोर थिए । हामीले मानसिक र शारीरिक रूपमा चुस्त बनाउने हिसाबले जुडो प्रशिक्षण दियौं । विस्तारै बच्चाहरूमा परिवर्तन आउन थाल्यो । एकआपसमा मेलमिलापको भावना देखाए । अनुशासनमा राख्न खेलिएको जुडो खेल बच्चाहरूलाई जीवनको पाठ पढाउने माध्यम बन्यो', नारायणकाजी भन्छन् ।
'सामाजिक सेवामार्फत पामले नेपाली खेलकुदका लागि सानो सहयोग गरेको हो । खेलमा मात्र होइन, पामका बच्चा पढाइमा पनि अब्बल छन् । अधिकांशलाई पढाइकै आधारमा छात्रवृत्ति पनि मिलेको छ । राष्ट्रि«य उपलब्धि सहितको सहयोग गर्न पाउँदा निकै गर्व लाग्छ', उनले भने । अहिले डा. नारायणकाजीलाई पामको उपलब्धिले घनघोर पहाडलाई फोरेर बनाएको गल्छीको सोझो बाटो हिँडेजस्तै मज्जा दिएको छ । पामलाई सहयोग र तारिफ गर्नेको जमात पनि ठूलो छ ।