राष्ट्र बैंकमा सहजै नोट सटही
काठमाडौं : गौशालाकी पेम्बा श्रेष्ठ दसैंका लागि नयाँ नोट साट्न शुक्रबार साढे १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली पुगिन्। हुन त उनलाई विभागले १० बजेदेखि नै नयाँ नोट वितरण गर्ने थाहा थियो। तर दिउँसो केही होलो हुने अनुमान गरेर मध्याह्नको सहयमा उनी कार्यालय पुगेकी थिइन्। छोटो लाइन देखेर उनी छक्कै परिन्। गतवर्ष पाँच घन्टा लाइन बस्दा बल्लतल्ल नयाँ नोट साटेकी उनले यस वर्ष भने त्यस्तो समस्या झेल्नुपरेन।
‘पोहोर बिहानै आएर लाइन बस्दा पनि फर्कंदा ३ बजेको थियो', उनले भनिन्, ‘अहिले त दुई घन्टामा नोट साटेर निस्किसकेँ। लाइन छोटो भएकाले पोहोरभन्दा अहिले नोट साट्न सहज भएको छ।'
धादिङका रामबहादुर थापा पनि गतवर्ष पाएको सास्ती सम्झेर बिहान ९ बजे नै नयाँ नोट साट्न राष्ट्र बैंक थापाथली आइपुगेका थिए। त्यतिबेला बैंकको मूल गेटमा केही मान्छेमात्रै थिए। १० बजे कार्यालय खुलेसँगै उनी कुपन लिएर सरासर मुद्रा विभागमा जाँदा लाइन बस्नुपरेन। एक घन्टा बित्दा नबित्दै उनी नयाँ नोट लिएर बाहिरिए। ‘गतवर्ष नयाँ नोट साट्न घाममा चिटचिट पसिना काढेर सात घन्टा लाइन बस्नुपरेको थियो', उनले भने, ‘गतवर्षको हेरेर यो वर्ष लाइनै छैन भन्दा पनि हुन्छ।'
राष्ट्र बैंकले यस वर्षदेखि सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक तथा कृषि विकास बैंकका १६ वटा काउन्टरबाट नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको छ।
गुल्मीका हरि दाहालको अनुभव पनि थापा र श्रेष्ठको जस्तै छ। दिनभर लाइन बसेर नोट साटेको सम्झिँदै उनले भने, ‘गतवर्ष पैसा साट्ने टोकन लिन मात्रै तीन घन्टा लाइन बस्नुपरेका थियो। तर यसपालि टोकन लिन लाइन बस्नुपर्दैन, जानेबित्तिकै पाइन्छ। यी त केही प्रतिनिधि पात्र मात्र हुन्, जसले राष्ट्र बैंकबाट सजिलै पैसा सटही गरी लगेका छन्। विगतका वर्षमा सर्वसाधारणलाई असजिलो भएको महसुस गरी राष्ट्र बैंकले यस वर्षदेखि सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक तथा कृषि विकास बैंकका १६ वटा काउन्टरबाट नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको छ। साथै उपत्यकाबाहिरका सातैवटा क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिएको छ।
अहिले राष्ट्र बैंकले दिउँसो २ बजेसम्म नयाँ नोट साट्ने टोकन दिने गरेको छ। तर राष्ट्र बैंकमा अहिले दिउँसो दुई बज्दानबज्दै टोकन लिने लाइनमा एक दुई जना मात्र हुन्छन्। सुरक्षाका लागि खटिएका गार्डलाई पनि अहिले विगतका वर्षको तुलनामा लाइन मिलाउन सजिलो भएको छ। अहिले राष्ट्र बैंकले आठ काउन्टरबाट नयाँ नोट वितरण गरिरहेको छ। तीमध्ये दुईवटा काउन्टर तोक लागेका अर्थात् सेना, प्रहरी, सरकारी निकाय, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था तथा विभिन्न सार्वजनिक निकायका लागि भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक भीष्मप्रसाद उप्रेदीले जानकारी दिए। राष्ट्र बैंकले ज्येष्ठ नागरिक तथा अशक्त र पेन्सन होल्डरका लागि छुट्टै काउन्टरको व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकको काउन्टरमा भने त्यति मानिस नआएको उप्रेतीले बताए।
शुक्रबार मात्र सर्वसाधारण तथा तोकआदेशबाट ११ करोड ३६ लाख रुपैयाँबराबरको नयाँ नोट सटही भएको छ। शुक्रबार एक हजार जनाले नयाँ नोट लिन टोकन लिएका थिए। दोस्रो दिन बिहीबार नोट विभागबाट एक अर्ब ४६ करोड ६० लाखबराबरको नयाँ नोट सटही भएको उप्रेतीले बताए। ‘त्यसमध्ये ४० करोड थापाथलीको बैंकिङ कार्यालयलाई दिइएको हो भने सर्वसाधारण र तोकादेशबाट १५ करोड २५ लाख सटही भएको छ', उनले भने। बिहीबार नै राष्ट्र बैंकको क्षेत्रीय कार्यालय नेपालगन्ज र जनकपुरकबाट पनि नोट गएको उनले बताए। बिहीबार थापाथलीबाट एक हजार दुई सय जनाले नोट साट्न कुपन लिएका थिए।
पहिलो दिन बुधबार एक हजार २८ वटा कुपनबाट १३ करोड ७७ लाख ५० हजार बाँडिएको थियो। ‘दसैंका लागि करिब १६ अर्ब रुपैयाँबराबरको नयाँ नोट साटिने हाम्रो अनुमान छ', उप्रेतीले भने, ‘गतवर्ष १० अर्ब ३१ करोडको नयाँ नोट साटिएको थियो।' यसपटक राष्ट्र बैंकबाट एकजनाले २७ हजार रुपैयाँ नयाँ नोट सटही गर्न पाउनेछन्। सरकारी स्वामित्वका अन्य बैंकबाट भने २० हजार रुपैयाँमात्र नयाँ नोट साट्न पाइन्छ।