भाषा : 'त' र 'द' कहाँ लगाउने ?
म एकातिर शिक्षक भएर नै बाँच्तै आएको व्यक्ति हुँ भने अर्कातिर लेखकका रूपमा पनि राम्ररी चिनिएको छु । भनाइको अर्थ के भने अङ्ग्रेजी भाषा र नेपाली भाषा दुवैमा म पढ्ने, पढाउने, लेख्ने, लेखाउने जस्ता कामहरू गरेरै यस पृथ्वीमा बाँचिरहेको छु । मेरो जन्म पुरातन परम्परामा चुर्लुम्म डुबेको नेपालजस्तो राष्ट्रको ग्रामीण ब्राह्मण परिवारमा भएकाले बोली फुटेकै बेलादेखि 'सप्तशती चण्डी' तथा 'रुद्री' जस्ता संस्कृतका ग्रन्थहरू घोक्ने कामबाट म पठनपाठन थाल्न बाध्य भएँ ।
अक्षरहरूको आरम्भ नै संस्कृत शैलीबाट अर्थात् परम्परागत घोकन्ते परिपाटीबाट भएको हुनाले चाँडोभन्दा चाँडो उच्चारण गर्ने दिशातिर म औधि सफलतासाथ लम्कँदै गएँ । कहाँसम्म भने अरु ब्राह्मणहरूले एघार आवृत्ति (=पटक) रुद्रीपाठ गरिसक्ता नसक्तै म बाईस आकृति पाठ गरिसक्थेँ ।
यसरी चाँच्चाँडो पढिसक्नु मेरा लागि गौरवको विषय लाग्थ्यो, तर पछि मलाई आधुनिक शिक्षा दिने मेरा अति आदरणीय प्रथम गुरु चन्द्रभक्त कसजुबाट मलाई ज्ञान भयो- शिक्षा प्राप्त गर्ने उद्देश्य त पढेका कुरा बुझ्नु र आत्मसात् गरेर जीवनमा प्रयोग गर्न सक्नु पो रहेछ । पुरानो परम्पराले मलाई घोकन्ते मात्रै बनाएको रहेछ । पढेका कुरा राम्ररी बुझ्नु र बुझेअनुसार ज्ञान बढाउँदै जानु पो शिक्षाको उद्देश्य हुनुपर्दो रहेछ ।
मेरा गुरु कसजु काठमाडौंस्थित इन्द्रचोकमा जन्मनुभएको थियो र उहाँ काठमाडौंमै पढ्दै हुनुहुन्थ्यो । उहाँ हाम्रा पूजनीय देशभक्तहरू गङ्गालाल, दशरथ चन्द, शुक्रराज शास्त्री तथा धर्मभक्त माथेमाकै समकालीन र परिचित मित्र हुनाले त्यतिबेलाको राणासरकारले कुनै पनि बेला कठोर सजाय देला भन्ने त्राहीत्राही थियो । त्यसमा पनि गुरुका पिता सरकारमा हाकिम पदमा हुनाले उहाँले सुटुक्क गुरुलाई दार्जिलिङको खरसाङ नगरस्थित पुष्परानी विद्यालयमा लगेर भर्ना गर्नुभएको थियो, तर त्यहाँ पढ्दापढ्दै नेपालको राजनैतिक स्थितिबाट असह्य हुँदै उहाँ भागेर बेलाइती सेनामा जानुभयो ।
नेवारहरूलाई र बाहुनलाई अङ्ग्रेजहरूले सेनामा लिँदैनथे । त्यसैले उहाँले आफ्नो नाम र त्यसका साथै थर पनि ढाँटेर सी.बी. कायस्थ हुँदै त्यसमा भर्ना हुनुभयो । तराईमा कायस्थहरू छेत्री हुने हुनाले उहाँ बेलाइती गोर्खा फौजमा सजिलै लिइनुभयो । उहाँको अङ्ग्रेजी राम्रो (लेखाइ र बोलाइ दुवै) हुनाले उहाँलाई साधारण पैदल सैनिक, नबनाएर लेखपढ हेर्ने कारिन्दा (अर्थात् अङ्ग्रेजीमा 'क्लर्क्') बनाइयो । उहाँ यसरी हङकङमा साढे आठ वर्ष काम गरेपछि सेनाबाट बिदा भएपछि सोझै काठमाडौं घर नगई पहाडको अभेग ठाउँ खोज्दै शिक्षक हुन इलामको फिक्कल (अर्थात् आजको 'सूर्योदय नगरपालिका') मा आइपुग्नुभयो र सौभाग्यले म उहाँको चेलो हुन पाएँ ।
पहिलो दिन नै मलाई उहाँले 'नेपाली आउँछ ? ' भनेर सोध्नुभयो र मैले 'आउँछ' भन्दा पारसमणि प्रधानले प्रकाशित गरेको एउटा नेपाली पुस्तक मलाई दिएर 'यो पढ त !' भनेर भन्नुभयो । पाणिनिको 'लघुसिद्धान्त कौमुदी' र यजुर्वेद पढिसकेको म जस्तो ठिटालाई नेपालीमा लेखिएको पुस्तक अति सजिलो लाग्नु स्वाभाविकै थियो, मैले फररर्र त्यस पुस्तकका दुई तीन पृष्ठलगत्तै पढेर सुनाएँ ।
अनि पो 'पढाइ कस्तो हुनुपर्छ ? ' भन्ने तथ्यको अर्थ छलङ्ग भयो । उहाँले सोध्नुभयो, 'तिमीले के बुझ्यौ त ? '
'मैले जम्मै स्वर र व्यञ्जनहरू तथा एक्ला र गाँसिएका वर्णहरू जस्ता छापिएका छन् सबै बुझें र तिनको शुद्ध उच्चारण सुनाएँ, पुगेन र ? '
'अहँ, पुगेन ! त्यहाँ के विषयमा लेखिएको रहेछ भन्ने कुरा पो बुझ्नुपर्छ त, वर्णहरू मात्र पररर्र उच्चारण गरेर कहाँ पुग्छ ? '
अनि उहाँले व्यावहारिक व्याकरणको शिक्षा दिनुभयो, 'बाख्राले घाँस खायो' भन्ने भनाइमा 'बाख्रा' को ठाउँमा 'बाछा', 'गाई' 'भेडा' वा 'गोरु' मध्ये एउटा कुनै लगाऊ, अर्थ खुल्छ, तर तिनका ठाउँमा 'घर' 'पराल', 'कलम','पाठशाला' जस्ता शब्द लगाएर हेर त, अर्थ निस्कन्छ ? जस्तै -
अर्थ निस्कन्छ- 'बाछाले घाँस खायो', 'भेडाले घाँस खायो', 'गाईले घाँस खायो' वा 'गोरुले घाँस खायो' तर 'घरले घाँस खायो ? ', 'परालले घाँस खायो', 'कलमले घाँस खायो', अथवा 'पाठशालाले घाँस खायो' सारा गल्ती हुन्छन् । व्याकरण पढ्दा वा पढाउँदा शुद्ध र वास्तविक तथ्य छर्लङ्ग हुनुपर्छ ।'
व्यावहारिक र यथार्थ तथ्यको ज्ञान दिनु नै भाषा र व्याकरणको उद्देश्य हुनुपर्दो रहेछ भन्ने ज्ञान बल्ल मैले पाएँ । अनि मलाई उहाँले 'निपात' के हो भनेर सोध्नुभयो, मलाई के थाहा हुनु नि ? उहाँले भन्नुभयो, 'नि', 'त', 'र', 'हो त', 'कि', 'कति नि', 'के र' जस्ता शब्दहरू नै निपात हुन् । जस्तै, 'तिमी जान्छौं ? ' भनेर सोध्दा ठाडो उत्तर 'जान्छु' वा 'जान्नँ' हुन्छ, तर 'म जाऊँ र ? ' भन्दा 'र' ले बुझाउने अर्थ 'मलाई जाने मन छैन, किन जाने ? ' भन्ने हुन्छ । निपातहरूले साह्रै गजबका अर्थहरू दिन्छन् ।
अब 'त' र 'द' कहाँकहाँ लगाउने भन्ने कुरालाई नै हेरौं । गुरुले मलाई 'बस्दैन' हुन्छ कि 'बस्तैन' हुन्छ कि 'बस्तैन' हुन्छ भनेर सोध्नुभयो । मैले भन्न सकिनँ अनि उहाँले सिकाउनुभयो, 'हाम्रो वर्णव्यवस्था संस्कृतका ठूला व्याकरणकार पाणिनिको 'सिद्धान्त कौमुदी' मा आधारित छ ।
'क' वर्गमा क, ख, ग, घ, ङ ।
'च' वर्णमा च, छ, ज, झ, ञ ।
'ट' वर्णमा ट, ठ, ड, ढ, ण ।
'त' वर्णमा त, थ, द, ध, न ।
'प' वर्णमा प, फ, ब, भ, म ।
यिनका पहिला दुई वर्ण 'अघोष' हुन् भने अरू सबै घोष हुन् । अर्थात् अघोषमा क, ख, च, छ, ट, ठ, त, थ, प, फ र अरू वर्णहरूमा 'श', 'स' अघोष हुन् भने सबै स्वरहरू घोष हुन् । अघोष वर्णसित त, ता, ति, ती, तै लाग्छन् भने घोषसित द, दा, दि, दी, दै लाग्छन् । जस्तै ; पाक्नु, भाक्नु, भुक्नु, लुक्नु, सुक्नु मा 'त' जोड्नुपर्छ । जस्तै पाक्तै छ, पाक्तापाक्तै, भाक्तै, भुक्तै, लुक्ता, लुक्तै, सुक्ता, सुक्तै । तर भाग्नुमा भाग्दैछ, भाग्दैन, भाग्दाभाग्दै आदि लाग्छन् ।
चन्द्रबिन्दु पनि घोष हुनाले खाँदाखाँदै, जाँदाजाँदै, रुँदारुँदै आदि हुन्छन् । चाख्तै छ, चाख्तैन जस्ता रूप शुद्ध हुन् ।कतिपय व्यक्तिहरू 'तर्कारी पाग्दैन', 'उसले सक्दैन' जस्ता कतिपय व्यक्तिहरू 'तर्कारी पाक्दैन', 'उसले सक्दैन' जस्ता अशुद्ध रूपहरू लेख्छन्, तर माथिको सरल नियम 'अघोष वर्ण भए त, ता, ति, ती, तै र घोष भए द, दा, दि, दी, दै लगाउनुपर्छ भन्ने मानेमा पुग्छ ।