कोरियन र नेपाली कविताको फ्युजन

कोरियन र नेपाली कविताको फ्युजन

 

कविताको अनुवाद दुरुह कार्य हो । कविताको अनुवादमा कविको भाव, संवेदना र भाषिक निजत्व गुम्ने जोखिम हुन्छ । त्यसकारण भनिन्छ - कविताको सोझो अनुवाद त होला, तर विशिष्ट अनुवाद हुन गाह्रो छ । कोरियन कवि किम मेयोङ होई पनि यो भनाइलाई स्वीकार गर्छिन् । यद्यपि, कविताको अनुवाद निरन्तर जारी छ । अनुवाद गरिनु पनि पर्छ । अनुवादले कविलाई विस्तार गर्छ । एउटा कवि विस्तारित हुनु भनेको कवि सँगसँगै कविको सांस्कृतिक चेतनालगायत अन्य पाटोको विस्तार हुनु हो ।

भर्खरै कोरियाली र नेपाली प्रतिनिधि कविताको अनुवादसंग्र्रह 'विश्वकविता साहित्य' प्रकाशित भएको छ, जहाँ ६१ कोरियन कविको कविता नेपालीमा र ५१ नेपाली कविको कविता कोरियन भाषामा अनुवाद भएको छ ।

 

अनुवादकद्वय ई गिजु र मोहन कार्कीले यी कविता अनुवाद गरेका हुन् । कृतिको प्रकाशकीयमा युरेसिया कल्चर फोरमका अध्यक्ष होङ थेसिग लेख्छन्, 'कुनै एउटा देशको व्यक्तिले अर्को देशको व्यक्तिको झुकाव वा सामूहिक मूल्यमान्यता थाहा पाउन कविता गतिलो माध्यम हुन सक्छ ।' उनको कथनलाई आधार मान्ने हो भने दुई देशको काव्यिक चेत, मूल्य-मान्यता र सांस्कृतिक चैतन्य बुझ्न प्रस्तुत अनुवाद कृति निश्चय नै गतिलो माध्यम हुन सक्छ ।
म भनेको म नै हुँ

यहाँ उभिएको पूर्ण कदको धनी म नै हुँ
इतिहासले आउँछ भनेर पर्खिबसेको
वर्तमान र भविष्य कालले नेतृत्व गर्छ भनेर आशा गरिबसेको
निराशाहरू विघाटन गर्न सक्ने त्यो घटना
म नै हुँ
धर्मेन्द्रविक्रम नेम्बाङ
२०७३ साल फागुनमा नेपाली लेखक संघ र युरेसिया कल्चर फोरम कोरियाको संयुक्त आयोजनामा काठमाडौंमा दुईदेशीय कला साहित्य महोत्सवको आयोजना भएको थियो । उक्त सुन्दर सहकार्यको निरन्तरता हुनुपर्छ प्रस्तुत कृति । मूलत; नेपाली कवितालाई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याउन यो अनुवाद कृतिले सार्थक प्रयत्न गरेको छ । अर्कोतर्फ विदेशी कवि र कविताप्रति विशेष चासो राख्ने नेपाली पाठकहरूको निमित्त यो कृति उल्लेखनीय प्राप्ति हो ।

कोरिया खण्ड

६१ कोरियन कवितामा प्राय; दिवंगत कवि र अरू समकालीन कविका कवितालाई क्रमबद्ध अनुवाद गरिएको छ । यसो हुँदा कोरियन कविताको इतिहास र वर्तमान बुझ्न पाठकलाई सघाउ पुगेको छ । पुराना हुन या नयाँ, कोरियन कविहरूले प्रकृति लाई अपनत्व महसुस गर्दा रहेछन् । फलस्वरूप उनीहरूको काव्यिक बिम्ब प्रकृतिसँग सम्बन्धित छन् । फूल, समुद्र, घाम, हिउँ, पुतली, पहाड आदिजस्ता बिम्ब प्राय; कवितामा आएको छ ।


कोरियामा सम्भवत सामाजिक विभेदको अनेकौं शृंखला नभएकै कारण होला सोसियल इस्युज माथि कविहरूले चिन्तन गर्न परेको छैन । राजनैतिक स्थायित्व र इमानदारिता भएको कारणले होला कविहरूले राजनैतिक विसंगतिप्रति खबरदारी गर्नु परेको छैन । यस्ता दायित्वबाट एउटा कवि मुक्त भएपछि कलामा ज्यादा खेल्न पाउँदोरहेछ । साथै कवितामा कल्पनाशीलता प्रचुर पाइँदो रहेछ । त्यसकारण, अधिकांश कोरियन कविका कविता कलाका उत्कृष्ट नमुना बनेका छन् ।

कोरियन कविहरू प्राय; छोटो कविता लेख्न रुचाउने रहेछन् । कवितामा आफ्ना वैयक्तिक अनुभूतिसँग संवाद गर्न उनीहरूलाइ प्रिय लाग्दोरहेछ । कुनै कविता त मन्त्रजस्ता लाग्छन् । प्रकृति र मानिसको सम्बन्ध, कृषि संस्कृतिको उच्च मूल्यांकन यी कविताहरूमा पाइने अन्य तत्व हन् । यतिबेला कोरिया उत्तरऔद्योगिक युगमा छ । उत्तरऔद्योगिक युगले मानिसलाई फगत यन्त्र बनायो ।

मानिस र उसको संवेदनालाई उत्पादनसँग तुलना गर्‍यो भनेर केही चिन्तकको विश्लेषण छ । तर, ६१ कोरियन कविहरूको कविता पढ्दा उत्तरऔद्योगिक युगप्रति उनीहरूको कुनै गुनासो छैन । पुँजीवादको साइड इफेक्टले मानिस आक्रान्त छैन । श्रमिक आक्रान्त छैन । समाज आक्रान्त छैन । यस्तो पनि हुन्छ र ? मनमा प्रश्न उठ्छ । कि त प्रविधिको चरम प्रगति र त्यससँगको निरन्तर संसर्गले वाक्क -दिक्क भएर कोरियन समाज प्रकृतितिरै फर्कने मार्गमा अग्रसर छ ।

कोरियाको इतिहासमा पनि प्रजातन्त्रको लागि अप्रिल विद्रोह भएको थिएछ । समकालीन पुस्ताका दुई कवि गिम जिहा र गिम ग्वाङग्युले प्रजातन्त्रको अभीष्ट राखेर कविता सिर्जना गरेका रहेछन् । उक्त दुई सिर्जना प्रस्तुत अनुवाद कृतिमा समाविष्ट छ । त्यस्तै एउटा कविता कोरियामा विभाजित भएर उत्तर र दक्षिण भएको सन्दर्भमा लेखिएको रहेछ ।

कोरिया विभाजनले एउटै परिवारका सदस्यहरू कोही उत्तरमा परे, कोही दक्षिणमा । कहिलेकाहीँ दुई कोरियाको सम्बन्ध केही सामान्य हुँदा सिमानामा ती परिवारका सदस्यबीच क्षणिक भेट गराइन्छ । टेलिभिजनमा देख्ने गरिन्छ, त्यो भेट साँच्चै नै भावविह्वल हुनेगर्छ । कवि ई योङहाग लेख्छन् -

हिउँ पर्दैछ कि उत्तरतिर
आकाश नै पग्लदै छ कि उत्तरतिर
लहर बनेका पहाड पहाडबीचमा
तिमीलाई छोडेर आएको
सानो गाउँमा पनि भाग्य बर्साउने हिउँ पर्दै छ कि ।

नेपाल खण्ड

विश्व कविता सायित्यमा संगृ्रहीत अधिकांश कोरियन कविहरू दिवंगत थिए । तर, नेपाल खण्डका सबै कवि जीवित छन् । रोचक पक्ष के छ भने नेपालका कविहरूको नेपाली र कोरियन दुवै भाषामा कविता प्रकाशित भएको छ । यसो हुदाँ नेपाली पाठक दोहोरो फाइदामा छन् । कवि बैरागी काइँलाको पुस्तादेखि सुको साइबरको पुस्तासम्म सम्मिलित प्रस्तुत कृतिले काव्यिक जगत्मा गम्भीर अर्थ पक्कै राख्नेछ । करिबकरिब नेपाली कविताको पाँच दशकको रचना प्रवृत्ति, संरचना र सौन्दर्य चेतना एउटै कृतिमा भेटिनु कविताको गम्भीर अध्येताको लागि बम्पर उपहार हो ।

नेपाली लेखक संघका अध्यक्ष कवि श्रवण मुकारुङ भन्छन्- 'कविताले मानिसमा निहित अन्तर्संस्कृति वा राष्ट्रकै संस्कृतिलाई प्रतिबिम्बन गर्ने भएकोले यो कृतिमार्फत दुई देशका जनताले एकअर्कोलाई सम्पूर्णमा चिन्न र एकअर्काको आर्थिक, सामाजिक एवं कूटनैतिक सम्बन्धलाई मजबुत बनाउन गहिरो भूमिका खेल्नेछ ।' कविताले बोल्ने सांस्कृतिक चेत, समाज चित्रण र समय चेतनालाई मात्र विश्लेषण गर्ने हो भने कवि श्रवण मुकारुङको भनाइ सत्यबोध हुन्छ । प्रस्तुत कृतिमा कवि अमर गिरीको कविता छ- 'चटामरी' । यो कविताले नेपालको एउटा खास जातिको खानपिन संस्कृतिको प्रतिनिधित्व गरेको छ । यो कविता कोरियन पाठकहरूलाई निश्चय नै नवीन लाग्नेछ, स्वादिलो चटामरी झैँ ।

प्रस्तुत कृतिको सबैभन्दा सबल पक्ष भनेको कवि र कवितामा विविधता हुनु हो । कृति नेपाली लेखक संघका माध्यमबाट निस्किए पनि यहाँ मार्क्सवादी कविहरूको गम्भीर र अर्थपूर्ण सहभागिता छ । जस्तै- मातृका पोखरेल, आहुति, फूलमान बल, विमल निभा, विप्लव ढकाल, श्यामल, शशी लुमुम्बू, स्वप्नील स्मृति, सरिता तिवारी, रावत, चन्द्र रानोहँछा, बिना थिङ तामाङ आदिका कविता अटाएका छन् । समकालीन नेपाली कविताको यी अनुहारलाई अनदेखा गर्ने हो भने नेपाली कविता सायदै सग्लो देखिन्छ । यी कविहरूको पनि कविता अनुवादले कोरियन पाठकहरूमा नेपाली कविताको प्रभावशाली उपस्थिति भएको छ ।कवि भूपपन भन्छन्- 'चित्र जस्तो लाग्ने भाषामा कविता ! स्पर्श गर्दामात्रै अलौकिक अनुभूति हुने रहेछ ।'

यस्तो सुन्दर कार्य वास्तवमा राज्यस्तरबाट गरिनुपर्ने हो । जे होस्, दुई देशको साहित्यिक संस्थाबाट एउटा सिर्जनात्मक कार्यको थालनी भएको छ । भविष्यमा पनि यस्तो असल कार्यको निरन्तरता रहोस् । विश्वमा सुन्दर समाजको निर्माण यस्तै सिर्जनात्मक कार्यले हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.