प्रदीपका बडीगार्ड 

प्रदीपका बडीगार्ड 

 काठमाडौं : पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको छ । तर केही दिनयता राम्रा चलचित्र र त्यसको व्यापारभन्दा पनि अभिनेता प्रदीप खड्का र उनका बडीगार्डको चर्चा बढी छ । कतै उनलाई स्याबासी दिँदै त कतै उडाएर सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन् । केही दिनअघि चलचित्र ‘लिली बिली'को घोषणा कार्यक्रमपछि यो चर्चा सुरु भएको हो । त्यहाँको दृश्य देख्दा चर्चा गर्न लायककै थियो । तर प्रदीपलाई हाँसोको पात्र बनाउन कति उचित छ भन्ने विषय अहिले चलचित्रकर्मीमाझ बहस चलिरहेको छ ।

 

सम्भवतः यसअघि त्यो स्तर र शैलीमा नेपाली चलचित्रको घोषणा सायदै गरिएको थियो । पाँचतारे होटेलमा चलचित्रकर्मीको बाक्लो उपस्थिति । सानदार रूपमा सजाइएको स्टेज । केही क्षणको पर्खाइपछि दुई युवती पालैपालो दुईदुईजना बडीगार्डसहित मञ्चमा आए । पर्दामा कहिल्यै नदेखिएका उनीहरूको व्यक्तित्व अनि प्रस्तुति देख्दा लाग्थ्यो उनीहरू चर्चित सेलिब्रेटी हुन् । उनीहरू मञ्चमा आसनग्रहण गरिनसक्दै अभिनेता प्रदीप खड्का चारजना बडीगार्डसहित कार्यक्रम हलमा भित्रिए । दर्जनौं क्यामराका फोकसमा उनी चम्किए । ती दृश्य देख्दा लाग्थ्यो त्यहाँ बलिउड वा हलिउड स्टार अभिनीत चलचित्रको घोषणा वा प्रिमियर हुँदैछ । तर त्यो मिलन चाम्स निर्देशित चलचित्र ‘लिली बिली'को घोषणा कार्यक्रम थियो ।

प्रेमगीत, प्रेमगीत २ जस्ता चलचित्र दर्शकमाझ आएपछि अभिनेता प्रदीप खड्काको क्रेज बढ्दो छ । तर उनी चारचारजना बडीगार्ड लिएर कार्यक्रमस्थलमा पुगेको सायद धेरैलाई अनौठो लाग्यो । वास्तवमा अभिनेता खड्का त्यहाँ आफ्ना निजी गार्ड लिएर गएका थिएनन् । निर्माण पक्षले कलाकारलाई दिएको सम्मान थियो । यसबारे भएका नकारात्मक टिप्पणीप्रति निर्देशक मिलन चाम्सको गुनासो छ । ‘नेपाली चलचित्र र कलाकार अब यो स्तरमा पुग्नुपर्छ । त्यहाँसम्म पु¥याउने हामीले नै हो', उनले भने, ‘यदि कुनै विदेशी चलचित्रका लागि यति गरेको भए सबैले वाह भन्थे । नेपाली चलचित्रको स्तर उन्नतिका लागि प्रयास गर्दा उल्टै नकारात्मक टिप्पणी हुन्छ । मैले कुरै बुझिनँ ।'

मिलन चाम्स निर्देशित यो छैटौं चलचित्र हो । उनको निर्देशनमा बनेको चलचित्र ‘हँसिया' र ‘वीरविक्रम' दर्शकमाझ आइसकेको छ भने ‘बब्बी', ‘ब्लाइन्ड रक्स' र ह्याप्पी डेज' प्रदर्शनको तयारीमा छ । ११ महिनामा ठूलो बजेटका चारवटा चलचित्र निर्देशन गरेका चाम्स ‘लिली बिली' छायांकनका लागि सम्पूर्ण युनिटलाई लिएर दसैंपछि बेलायत उड्दै छन् । ‘यो चलचित्रको सम्पूर्ण छायांकन यूके र स्कटल्यान्डमा हुँदैछ', उनले जानकारी दिए ।

चलचित्रमा प्रदीपसँग पहिलो पटक अन्स्क्रिन रोमान्स गर्दैछन् जसिता गुरुङ र रेभिता गुरुङ । जसिता बेलायतमा आयोजित ‘यूके डान्स अफ २०१७' को विजेता हुन् भने रेभिता मोडलिङ हुँदै चलचित्र क्षेत्रमा आएकी हुन् । चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्मस् र टाइम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको यस चलचित्रमा अनुपविक्रम शाहीको पनि अभिनय रहनेछ । गोविन्द शाही र सुदीप खडकाको लगानी रहने चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्र आगामी चैत ३० गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.