धागो तथा कपडा प्रदर्शनी सुरु 

धागो तथा कपडा प्रदर्शनी सुरु 

काठमाडौं : राजधानीको भृकुटीमण्डपमा शुक्ररबादेखि स्वदेशी धागो तथा कपडाको प्रदर्शनी सुरु भएको छ । असोज ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्योग सचिव शंकरप्रसाद कोइरालाले उद्घाटन गरे । मेलामा धागो, टेक्सटाइल र तयारी पोसाक प्रदर्शनीमा राखिएको छ । संकटमा पर्न लागेका स्वदेशी धागो तथा टेक्सटाइल उद्योगको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल धागो उत्पादक संघले प्रदर्शनी आयोजना गरेको हो ।

 

मेला उद्घाटन समारोहमा उद्योग सचिव कोइरालाले हरेक देशमा कपडा उद्योग मातृउद्योगका रूपमा रहेको बताए । ‘नेपाली उद्योगको प्रवद्र्धनका लागि सरकार सहकार्य गरेर अगाडि बढ्नेछ', उनले भने, ‘ऐनकानुन पनि स्वदेशी उद्योग प्रवद्र्धनमा सहयोग पुग्ने गरी परिमार्जन गरिनेछ ।' निजीक्षेत्रसँग सहकार्य गरेर कानुन बनाउन र कार्यान्वयन गर्न सरकार सकारात्मक भएको उनको भनाइ थियो । उनले उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगर्न उद्योगीलाई सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा औद्योगिक विकासका लागि सरकार चिन्तित नदेखिएको बताए । सरकार मुलुकभित्र उद्योग व्यवसाय प्रवद्र्धनभन्दा राजस्व संकलनमा बढी केन्द्रित देखिएको उनको भनाइ छ । ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योगको योगदान घट्दै गएको छ, कुनै समय जीडीपीमा उद्योगको १५ प्रतिशतसम्म योगदान थियो, अहिले पाँच प्रतिशतमा खुम्चिएको छ', उनले भने, ‘सरकारले मुलुकमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगलाई संरक्षण गर्नुपर्छ ।' धागो तथा कपडा उद्यो बढी रोजगारी सिर्जना गर्ने उद्योग भएकाले राज्यको प्राथमिकतामा पर्नुपर्ने उनको तर्क थियो ।


मेलामा स्वदेशी उद्योगबाट उत्पादित धागोबाट तयार कपडा, होजियारी, सर्टिङ-सुटिङ, निटिङलगायत वस्तु प्रदर्शनीमा राखिएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हरिभक्त शर्माले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले नै सहयोग गर्नुपर्ने धारणा राखे । स्वदेशी धागो तथा कपडाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए । स्वदेशी कपडाको प्रयोग बढाउन निजामती कर्मचारी र सुरक्षा निकायले प्रयोग गर्ने कपडा अनिवार्य नेपाली हुनुपर्ने व्यवस्था गर्न उनले आग्रह गरे । ‘नेपालमा तीन दशक अघिबाट आधुनिक कपडा उत्पादन सुरु भएको हो', उनले भने ।

मेलामा स्वदेशी उद्योगबाट उत्पादित धागोबाट तयार पारिएका कपडा, होजियारी, सर्टिङ-सुटिङ, निटिङलगायत वस्तु प्रदर्शनीमा राखिएको छ । रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ र जगदम्बा स्पिनिङ मिल्सको पनि मेलामा स्टल छन् । खासगरी मेलामा धागोसहित, ढाका, दौरासुरुवाल, सर्टिङ-सुटिङका कपडा, टोपी, स्वेटर, साडी, पर्दाका कपडा, टिसर्ट, मोजा, रुमाललगायत राखिएको छ । यस्तै, नेपाली पोसाकको प्रवद्र्धनका लागि ‘फेसन सो'समेत आयोजना गरिएको छ ।

मेलामा पहिलो दिन नै ग्राहकको भीड लागेको छ । मेलाले नेपाली धागो तथा कपडा उद्योगको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । नेपालमा मेला÷महोत्सवमार्फत जसरी स्वदेशी जुत्ताको बजार प्रवद्र्धन गरियो, त्यसरी नै नेपाली कपडाको बजार विस्तार गर्ने रणनीतिअनुसार प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ ।

मेलास्थलमा कपडा बुन्ने आधुनिक मेसिन राखेर उद्यमी÷दर्शकलाई प्रत्यक्ष जानकारी गराउन खोजिएको छ । नेपालमा सञ्चालन भएका धागो तथा कपडा उद्योगले प्रत्यक्ष रूपमा ५० हजारलाई रोजगारी प्रदान गरेका छन् । सानाठूला गरी झन्डै हजार टेक्सटाइल उद्योग र चारवटा स्पिनिङ मिल्स नेपालमा सञ्चालित छन् । चारवटा उद्योगले पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र ब्लेन्डेड रंगीन तथा सादा धागो उत्पादन गर्दै आएको अध्यक्ष गोल्यानले जानकारी दिए । यी उद्योगले वार्षिक करिब ४० हजार मेट्रिक टन धागो उत्पादन गर्दै आएको उनको भनाइ छ । त्यसमध्ये नेपालमा २० प्रतिशतमात्र खपत हुन्छ, बाँकी ८० प्रतिशत धागो भारत, बंगलादेश, टर्कीलगायत मुलुकमा निर्यात हुँदै आएको छ ।

विगतदेखि भारतमा निर्यात हुँदै आएको धागो पछिल्लो ६÷७ वर्षदेखि तेस्रो मुलुकमा निर्यात भइरहेको छ । बर्सेनि धागो निर्यात दरमा वृद्धि भइरहेको व्यवसायी बताउँछन् । नेपालमा धागो उद्योगको जडित क्षमता वार्षिक ८५ हजार मेट्रिक टन रहेको छ । तर, गत आर्थिक वर्षमा ४५ हजार मेट्रिक टन धागो उत्पादन भएको संघले जानकारी दिएको छ । ज्योति स्पिनिङ (हाल जय स्पिनिङ) मिलको क्षमता घटेको छ भने बुटवल धागो कारखाना पूर्ण रूपमा बन्द छ ।
नेपालमा चोरीपैठारीमार्फत विदेशबाट कपडा भित्रिएपछि नेपाली टेक्सटाइल उद्योग खस्किँदै गएको अध्यक्ष गोल्यानको भनाइ छ । विदेशी कपडा भित्रिँदा नेपाली टेक्सटाइल उद्योग समस्यामा परेका हुन् । विदेशबाट चोरीपैठारीमार्फत भित्रिने कपडा नियन्त्रण गर्न सकेमात्र पनि नेपाली टेक्सटाइल उद्योग पुनः फस्टाउने व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार नेपालमा खपत हुने कपडामध्ये करिब ९० प्रतिशत विभिन्न मुलुकबाट आयात भइरहेको छ । यसमा न्यून बीजकीकरण र चोरीपैठारी गरेर भित्रिने कपडाको परिमाण धेरै छ ।

चोरीपैठारीका कारण आठ दशकदेखि सञ्चालनमा रहेका कतिपय टेक्सटायल उद्योग धरासयी बनेको व्यवसायीको भनाइ छ । नेपालमा वार्षिक करिब ४५ करोड मिटर धागो आवश्यक पर्छ । यसमध्ये नेपालमा ६ करोड मिटरमात्र कपडा, होजियारी, सर्टिङसुटिङ, निटिङ उत्पादन हुन्छ । बाँकी ३९ करोड मिटर कपडा आयात गरिन्छ । संघका अनुसार १२ करोड मिटर भन्सारबाटै न्यून बिजकीकरण भएर भित्रिन्छ भने २७ करोड मिटर कपडा चोरीपैठारी गरेर अवैध भित्रिन्छ । अवैध रूपमा भित्रिएको कपडासँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उद्योग संकटमा परेको व्यवसायीको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.