गड्डाचौकी भन्सारमा एक्सरे मेशिन जडान
महेन्द्रनगर : पश्चिमी नाका गड्डाचौकी भन्सार कार्यालयमा प्रविधियुक्त ब्यागेज एक्सरे मेशिन सञ्चालनमा ल्याईएको छ । भन्सार विभागले काठमाडौं उपत्यका बाहिर पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा एक्सरे मेशिन जडान गरेको हो ।
शुक्रबार भन्सार विभागका उप-महानिर्देशक श्रीकृष्ण नेपालले गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेशिनको उद्घाटन गरेका हुन् । मेशिन जडान पश्चात उद्घाटन भएसंगै शुक्रबारदेखि नै नाकामा मेशिनका माध्यमबाट ब्यागेज चेकजाँच थालिएको छ । सिमा क्षेत्रमा आवतजावत गर्ने यात्रुको सहजताका लागि एक्सरे मेशिन सञ्चालनमा ल्याइएको हो । ‘भन्सार प्रणालीलाई प्रविधियुक्त बनाउन खोजिएको छ' विभागका उप महानिर्देशक नेपालले भने,‘ पश्चिमी नाका भएर नेपाली कामदार सहित अन्यको आवतजावत ठूलो हुने देखेरै पहिलो पटक यहाँ जडान गरिएको हो' । उनले भन्सार प्रणालीलाई व्यवस्थित र सुधार गर्नका लागि जडान गरिएको मेशिनले सहजता ल्याउने बताए ।
मेशिन जडानसगैं आवतजावत गर्ने यात्रुहरुका लागि समेत सहज हुने र उनीहरुले झन्झट खेप्नु नपर्ने विभागले जनाएको छ । उनले अन्र्तराष्ट्रिय मापदण्डमा आधारित रहेर नाकामा मेशिन सञ्चालनमा ल्याइएको बताए । यो मेशिन जडानसंगै भन्सारको बाटो भएर कसैले पनि अवैध सामान ल्याउन लैजान नसक्ने भन्सार अधिकारी बताउँछन् ।
ब्यागेजमा के कस्ता सामानहरु राखेर ल्याईएको छ भन्ने कुरा सबै मेशिनले प्रष्ट देखाउने छ । मेशिन सञ्चालनका लागि कर्मचारीहरुको क्षमता विकास र आवश्यक तालिम दिने काम समेत भएको विभागले जनाएको छ । विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपालका अनुसार गड्डाचौकी भन्सार पछि अब विभागले कृष्णनगर, विराटनगर, मेची र नेपालगन्जमा उक्त मेशिन जडान गर्ने जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले मेशिन सञ्चालनमा आएसंगै नेपालतर्फ समेत तीन-तीन ठाउँमा हुने चेकजाँच बन्द हुने बताए । उनले सुरक्षा निकायका प्रमुखहरुलाई अलग-अलग ठाउँमा बसेर चेकजाँच गर्ने काम रोक्न र एउटै माध्यमबाट चेकजाँच गर्न समेत निर्देशन दिएका छन् । भन्सार कार्यालयको ब्यारियल नजिकै सशस्त्र र जनपद प्रहरीले छुट्टैछुट्टै चेकजाँच गर्दा यात्रुले विना कारण सास्ती खेप्दै आएका छन् ।
एक्सरे मेशिन सञ्चालनमा आएपछि दुई/तीन ठाउँमा चेकजांच हुने अवस्था अन्त्य हुने भन्सार अधिकारीहरु बताउँछन् । कार्यविधि बनाएर भन्सार कार्यालयले एक्सरे मेशिनमा के कस्ता सामान चेकजाँच गर्ने भन्ने तयारी गर्नेछ । भारतीय कष्टम बनवासाका प्रमुख एके सिन्हाले भारततर्फको कष्टममा देखिएका समस्या सुधारका लागि काम गर्ने बताए । उनले नेपालीहरुमाथि कष्टममा हुने गरेको ज्यादती रोक्न आफूले काम गर्ने बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष जंगबहादुर मल्लले भन्सार कार्यालयमा मेशिन जडानले व्यवसाय क्षेत्रलाई समेत सहज हुने बताए । उनले तीन-तीन ठाउँमा हुने चेकिङ अन्त्य हुनुका साथै भन्सार भएर हुने अवैध सामानको समेत रोकथाम हुने बताए । करिब एक करोड भन्दा बढि मुल्यमा उक्त मेशिन खरिद गरिएको भन्सार कार्यालयले जनाएको छ ।