सम्झनामा स्वामी प्रपन्नाचार्य

सम्झनामा स्वामी प्रपन्नाचार्य

आरम्भ

सगरमाथा आरोहीहरू भन्छन्, 'सगरमाथा चढ्नभन्दा ओर्लन कठिन हुन्छ ।' पासाङ ल्हामुले आरोहण त गरिन्, अवरोहण गर्दा हिमालकी देवीले उनको जीवन लिइन् । पाँचथरको गरिब परिवारमा जन्मेका काले राईले बनारसमा कठोर संघर्ष गर्दै वेदान्तमा विद्यावारिधि त पूरा गरे । तर, अध्ययनपछिको उनको जीवन सन्तोषजनक भएन । सन्न्यास लिएपछि उनी स्वामी प्रपन्नाचार्य बने ।

जन्मभूमिलाई नै कर्मथलो बनाउन उनी नेपाल फर्किए र अध्ययन एवं अनुसन्धान गर्दै नेपाली, संस्कृतलगायत चार भाषामा ६० वटा कृति लेखे । एक सय १९ संघसंस्थामा प्रत्यक्ष रूपले संलग्न रहेर सामाजिक काम गरिरहे । यद्यपि उनको जीवन अभाव र दु;खमै बित्यो । स्वामी प्रपन्नाचार्यको हालै प्रकाशित हजार पृष्ठको स्मृति ग्रन्थमा उनले भोगेका दु;खहरू छताछुल्ल भएका छन् ।

स्वामी प्रपन्नाचार्यको एक ग्रन्थको संस्कृत भाषामा समीक्षा गर्दै प्राध्यापक विष्णुराज आत्रेयले काले राईको रूपान्तरणको कथालाई भर्तृहरिको सुन्दर पद्यमार्फत बयान गरेका छन् । पद्यको आसय यस्तो छ ; तातो भाँडोमा परेको पानीको थोपा उत्तिखेरै बिलाएर जान्छ । तर, त्यही पानी कमलका पातमा मोतीझैं टल्कन्छ, त्यही पानी स्वाति नक्षत्रमा शंखेकीराको जीउमा पर्दा मोती नै बन्छ ।

संगत जस्तो हुन्छ त्यसले मानिसमा त्यस्तै परिवर्तन ल्याउँछ । गरिब एवं अशिक्षित राई परिवारमा जन्मे पनि वाराणसीका संस्कृत गुरुहरूको सत्संगतले काले राई अन्तत; वेदान्तजस्तो महत्वपूर्ण विषयमा विद्यावारिधि हासिल गर्न सफल भए । संस्कृत भाषा, वाङ्मय, धर्म एवं संस्कृतिका क्षेत्रमा स्वामीजीको योगदान उल्लेख्य छ । उनको जीवनी एउटा ग्रन्थ जस्तै रोचक र शिक्षाप्रद छ ।

 

आत्म/मूल्यांकन

स्मृति ग्रन्थमा करिब तीन सय व्यक्तिले स्वामीजीका बारेमा लेखेका छन् । आफ्नै बारेमा भने स्वामीजीले यसरी खुलासा गरेका छन् / 'शिवपुरी बाबा, खप्तड बाबा, योगी नरहरिनाथ यो देशको लागि एक हजार वाटको बल्ब जत्तिकै उज्याला छन् । पाँच सय वाटको उज्यालो दिन सक्ने बाबाहरू पनि धेरै हुनुहुन्छ । सय वा पचास वाटको उज्यालो दिने महानुभावहरू त अझ धेरै हुनुहुन्छ।'

स्वामीजी भन्थे, देशको सेवा गर्न चाहिने पहिलो योग्यता असल हुनु हो । असल हुनु नै सफल हुनु हो । उनका अनुसार, असल नभई सफल बन्न चाहनु अर्काको घरमा अधिकार जमाउनु जस्तै हो ।

कसैले सोध्यो, 'हजुर चाहिँ कति वाटको ? '
स्वामीजी ले भने, 'म त जिरो वाटको ।'
स्मृति ग्रन्थका चौध खण्डमा नेपाली, संस्कृत र हिन्दी भाषामा स्मृतिपरक लेखहरू, समीक्षापरक लेखरचना, संस्मरणहरू, स्वामीजीका कविता तथा कृतिहरूको समीक्षा, स्वामीजीले लेखेका र सम्पादन गरेका ग्रन्थहरूको नालीबेली, अन्तर्वार्ता र उल्लेख्य भनाइहरू समेटिएका छन् । ग्रन्थको अन्तिम खण्डमा स्वामीजीको जीवनका विभिन्न अवस्था झल्काउने तस्बिर र सम्मानपत्रहरू छन् । यो आलेखमा स्वामीजीका मुख्य कृतिहरूको संक्षिप्त परिचय, संस्कृत प्रेमी र अभियन्ताका रूपमा उनको योगदान, राजनीतिक संलग्नता र उनको जीवनका मुख्य उतार चढाव समेटिनेछ ।

विद्या प्रेम

विद्या हराए काशी जानू । काले राई विद्याको भूमि काशीमा दुई दशकभन्दा बढी रमाए । कालक्रममा संस्कृत वाङ्मयप्रति उनको अभिरुचि र स्वाध्ययन बढ्दै गयो । सत्संग र मेहनतले उनी पूर्वीय दर्शनका पारखी र विद्वानसमेत बने । उनले थाहा पाए, 'पूर्वीय दर्शन र संस्कृति भावनामात्र होइन, वैज्ञानिक तथ्यहरूको अनुपम अभिलेख हो । ज्ञानको विशाल महासागर हो । यसलाई हामीले कसरी खोतलेर उपयोग गर्छौं त्यसैमा हाम्रो जीवनस्तर निर्भर हुन्छ ।'
स्वामीजीका कृतिमध्ये नेपाली भाषामा प्रकाशित 'वेदमा के छ ? ',

'मिल्केका झिल्का', 'प्राचीन किराँत इतिहास', 'मेरो जीवन यात्रा र कटु अनुभव', 'के महिलाहरूले वेद पढ्नहुन्छ? ' मुख्य हुन् । उनलाई चिनाउने एउटै कृति 'वेदमा के छ ? ' नै हो । यो उनले आफ्ना गुरुसँग वेद पढ्दा टिपेका उल्लेख्य प्रसंगलाई किताबको रूप दिएका हुन् । संस्कृत बुझ्न नसक्ने तर वैदिक ज्ञानलाई आधुनिक ज्ञानसँग तुलना गर्ने चाहना भएकालाई 'वेदमा के छ ? 
' सन्दर्भग्रन्थ समान छ । ऋग्वेदलाई संक्षेपमा जान्ने इच्छा भएकालाई पनि यो कृति उपयोगी छ । पुस्तकका दुई खण्डमध्ये पहिलोमा वेदको अर्थ, वेदको भाषा, वेदमा शिक्षा, अर्थशास्त्र, विज्ञान, आर्यहरूको रहनसहन, वेदमा ईश्वरसम्बन्धी धारणा, ऋषिमुनिहरूले रचना गरेका कतिपय अप्राप्य शास्त्रहरूको नालीबेली पनि यो कृतिमा समेटिएको छ । कृतिको दोस्रो खण्डमा वैदिककालका वैज्ञानिक आविष्कारहरूको विवरण छ ।

मिल्केका झिल्का कृतिमा नेपालका विभिन्न जिल्लामा तपस्या, स्वाध्यायन र शब्दको साधना गर्दै समाजमा चेतना बढाउन जीवन समर्पण गरेका सन्त, विद्वानहरूको जीवनी खोजेर प्रस्तुत गरेका छन् । स्वामीजीले हिन्दी भाषामा 'अब हमें भूल नहीं करनी चाहिए, संस्कृत क्यों पढेँ ? 
' विशिष्टाद्वैतके मोक्षलगायत तीन पुस्तक प्रकाशित गरेका छन् । यसैगरी संस्कृत भाषामा 'वेदान्तनयभूषणम' नामको कृति विद्यावारिधिका लागि सम्पादन गरिएको शोध ग्रन्थ हो । सम्पादित अर्को महत्वपूर्ण कृति 'कार्तवीर्योदय महाकाव्य' हो । विश्वका अन्य देशमा संस्कृतको महत्व झल्काउने कृति हो 'कमन्ताराष्ट्रे संस्कृतस्य महत्वम् ? '
वेदको उत्पत्तिलाई अपौरुषेय मानिन्छ । यो धारणालाई स्वामीजीले निम्न संवादमा सरल भाषामा सम्झाएका छन् ।

'वेदको उत्पत्ति कहाँबाट हुन्छ ? '
'कहीँबाट हुन्न । '
'ढुंगामा मूर्ति बन्नुभन्दा पहिला त्यो ढुंगामा मूर्ति थियो कि थिएन? पानीमा आगो छ कि छैन ? छ भने त पिउँदा पोलिहाल्नुपर्ने । छैन भने वैज्ञानिकले बिजुली कसरी निकाले ? '

वेदले आत्मज्ञान सुझाउँछ । सबै विद्या पढे पनि बुझ्नुपर्ने मुख्य कुरा आफू हो, आफ्नो मन हो । स्वामीजी भन्थे, 'संसारमा सबैभन्दा अपूर्व मन हो । दार्शनिकहरूले यस मनमाथि धेरै रिसर्च गरिसकेका छन् । परन्तु विश्लेषणको अझ पनि पारा मिलेको देखिँदैन । मनको उद्भव स्थान अन्न हो । खाएका पिएका पदार्थहरूको सूक्ष्मतत्व मन हो । जस्तो अन्न खान्छ उस्तै मन हुन्छ । पदार्थ खाएको अनुसार नै मन दगुर्छ । समुद्र मन्थन भनेको आसुरी र दैवी प्रवृत्तिको लडाइँ हो ।'

देश प्रेम

स्वामीजीलाई नेपालीपन र नेपाली पहिचान मन पथ्र्यो । बनारसमा एकपटक शास्त्री तहमा पढ्दै गरेका गुल्मीतिरका दुई विद्यार्थी स्वामीजीलाई भेट्न पुगे । केहीबेर कुराकानी गरेपछि स्वामीजीले सोध्नुभयो, 'तिमीहरूले ढिँडो, गुन्द्रुक खाने गरेका छौ ? '
एउटा विद्यार्थीले भन्यो, 'छैन । यो त गरिबहरूले खाने कुरा हो । हामी खाँदैनौं ।'

ती विद्यार्थीको कुरो टुंगिन नपाउँदै स्वामीजीको चर्को स्वर गुञ्जियो, 'गुन्द्रुक, ढिँडोको पहिचान नभएको, ढिँडोको अपमान गर्ने नेपाली हुन्छ ? यहाँबाट निस्किहाल्, यस्ताको मुखै हेर्नु हुँदैन । आइन्दा मेरो छेउमा नपरेस् ।' स्वामीजीले हातमा लठ्ठी उठाएपछि ती विद्यार्थीहरू कालोनीलो हुँदै बाहिर निस्के ।

स्वामीजी भन्थे, देशको सेवा गर्न चाहिने पहिलो योग्यता असल हुनु हो । असल हुनु नै सफल हुनु हो । उनका अनुसार असल नभई सफल बन्न चाहनु अर्काको घरमा अधिकार जमाउनु जस्तै हो । यो मानवअधिकार हनन हो । सफलताको घडेरी त असलपना हो । असल भए सफलता हस्तगत हुन्छ । सफलता भीख होइन, धैर्यपूर्वक कर्मनिष्ठ व्यक्ति सफल हुन्छ । असल भएमात्र व्यक्ति सही अर्थमा सफल हुन सक्छ ।
'मेरो रिसको हेन्डिल हरिले मोडिदिन्छ'

पशुपति मृगस्थलीमा रहेको चन्द्रेश्वर सत्तलमा लामो समय स्वामीजीसँगै बस्दाका अनुभव कृतिका सम्पादक तथा शिष्य हरिप्रसाद सोडारीले उल्लेख गरेका छन् । स्वामीजी अनुशासनप्रिय थिए । 'हरेक बिहान ४ बजे उठेर नुहाएपछि सबै शिष्यहरू अनिवार्य रूपमा स्वामीजीलाई ढोग्न जानु पथ्र्यो । कुनै शिष्यले नचाहिने काम गरेको फेला परेमा कारबाही हुन्थ्यो ।

खराबै गरेको रहेछ भने सुत्ने गरेको ओछ्यान टिपेर जुनसुकै बेला भए पनि बाटो लागिहाल्नुपथ्र्यो ।' अर्को प्रसंगमा सोडारीले अगाडि भनेका छन्, गुरुजी रिसाउनुभयो भने पृथ्वीनारायण शाह, विशिष्टाद्वैत र अद्वैत दर्शनको अन्तर, अचार र चट्नीको फरक, किराँत र जनजातिमा भिन्नता, सिस्नुको महत्वतिर मैले कुरा मोडिहाल्थेँ । यी विषयमा स्वामीजी खुसी भएर चर्चा गर्नुहुन्थ्यो । केही बेरमै उहाँको रिस मत्थर हुन्थ्यो । 'मेरो रिसको हेन्डिल हरिले मोडिदिन्छ' भनेर गुरुजी हाँस्नुहुन्थ्यो ।

स्वामीजी मनुका सन्तान मानव भएका हुन् भन्ने दृढ विश्वास गर्थे । डार्बिनको विश्लेषण मन पर्दैनथ्यो । उनी रिसाउँदै भन्थे, 'डार्विनका पुर्खा चिम्पान्जी थिए होलान् । कटौरामा भाङ परे त जसले पियो त्यही पागल हुने थियो । यहाँ त कुवैमा भाङ परेको देखिन्छ । जसले कुवाको पानी पिउँछ त्यही पागल हुन्छ ।'

जीवनका उकाली ओराली

स्वामीजीको जीवनमा उकाली ओराली, मोड र घुम्तीहरू परिरहे । आर्थिक अभावले सधैंजसो पिरोलिरह्यो । राजपरिषद् स्थायी समितिमा गएपछि अभाव त केही समयलाई समाधान भयो, तर त्यसपछि स्वामीजी राजावादी गनिन थाले, स्वतन्त्र व्यक्तित्व एक प्रकारले समाप्त भयो । प्राध्यापक सुरेन्द्र केसी लेख्छन्, 'राजसभाका सम्माननीय बनाइएपछि उनी जनताको पंक्तिबाट पनि टाढिए, एकजना प्रखर नेपाली विद्वान राजावादी भए । राजतन्त्र हटेपछि त उनी सोझै प्रतिगामी पनि हुन पुगे।'

उता, आप्mनै दाजुभाइ किराँत राईहरूले स्वामी प्रपन्नाचार्यलाई कहिल्यै विश्वास गरेनन् । स्वामीजीले किराँत राईहरूको मूल पत्ता लगाउन चालीस वर्ष सोधखोज गरे । अन्तत; राईहरू मंगोलियन या जनजाति होइनन्, आर्य हिन्दु नै हुन्, ऋषिमुनिहरूकै सन्तान हुन् भन्ने तथ्य पत्ता लगाए । यद्यपि यो तथ्य उनको जीवनकालसम्म लक्षित वर्गबाट स्वीकार्य भएन । उल्टो, स्वामीजीले स्वजातिहरूबाट अपमान पाइरहे । राईहरूको थलो पाँचथर जिल्लामा त स्वामीजीले खुट्टै राख्न पाउनुहुन्थेन ।

स्वामीजीका कुरा सुन्ने त परै जावस् । राईहरूले 'प्रपन्ने बाहुनसँग घाँटी जोड्न गयो' भन्ने आरोप लगाइरहे । तर, जसले जति आरोप लगाए पनि स्वामीजी खोज अनुसन्धानमा जुटिरहे । उनी भन्थे, 'किराँतले जाँडलाई पितृप्रसाद मान्ने गलत परम्परा छोडेको दिनमात्रै थाहा पाउनेछन्, मैले कोसँग गर्धन मिलाउन गएको हुँ ।'

संस्कृत भाषाको सेवा गरिरहे पनि बाहुनहरूले स्वामीजीलाई पूर्णत; स्वीकार गरेनन् । बाहुनहरूले खुट्टा तान्नसम्म ताने, नेपाल आउँदै नआओस् भनेर तगारो लगाउने काम पनि गरे । यद्यपि स्वामीजीले यसलाई सहज रूपमा लिए, 'मेरो बाहुनसँग कुनै लेनादेना छैन ।

मुख्यत; ब्राह्मणसँग मैले हाम्रा पुर्खाको भाषा पढेँ, त्यसैले उनीहरूप्रति कृतज्ञ हुनु मेरो धर्म हो ।' स्मृति ग्रन्थ तयार गर्ने बेला सम्पादक मण्डलका अधिकांश सदस्य आर्थिक जोहो गर्नुपर्ने देखेर पन्छिए । स्वामीजीलाई संस्थाको अध्यक्ष वा संरक्षक बनाएर संस्था चलाउनेहरू ग्रन्थ प्रकाशनमा सहयोग गर्नुभन्दा लुसुक्क एकातिर तर्किनु जाति माने । ग्रन्थ प्रकाशनको अधिकांश आर्थिक भार सम्पादक स्वयंले वहन गर्नुपरेको दु;खेसो सोडारीले लोकार्पणका बेला बताए ।

धर्म र संस्कृतिको जति माया गरे पनि दु;ख पाएको हुँदा स्वामीजीले मर्नुअघि आफ्नो अनन्य शिष्यलाई सुझाए, 'हरि, कसैलाई पनि अत्ति माया नगर्नू । त्यसले हरपल रुवाउँछ । मात्र आवश्यक प्रेम गर्नू।'

काले राई अभाव र दु;खकै कारण पाँचथरबाट बनारस पुगेका थिए । दु;खैदु;खमा अध्ययन समाप्त गरे तर फर्केर आउँदा पुराना दु;खले स्वदेशमा उनलाई पछ्याइरहे । स्वामीजीको स्वीकारोक्ति छ, 'विद्यावारिधि सकेर नेपाल फर्केपछिका केही वर्ष खानकै लागि परिचितहरूको घरदैलो चाहर्दै बर्वाद गरेँ ।' स्वजातिले माया गरेनन्, संस्कृतिले पत्याएन । उनी अक्सर दु;ख पाइरहने र गुनासो गरिरहने प्रतिपक्षमा परे । सायद यही कारणले होला, भेट्न आउने अधिकांश आगन्तुकलाई स्वामीजीले एउटा शोक सायरी दोहोर्‍याएर सुनाइरहन्थे /
जिन्दगी खुबसुरत था, मगर जिना नहीं आया
नशा हर चीज में था, मगर पिना नहीं आया ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.