बौद्धिक सत्ता कि महानायक ?
सन् २०१७ को मध्यतिर अरुन्धती रोयको बहुप्रतीक्षित किताब 'द मिनिस्ट्री अफ अटमस्ट ह्याप्पिनेस' बजारमा आउनेबित्तिकै यसले संसारभरका पाठकको ध्यान खिच्न कामयाव भयो । त्यतिमात्रै होइन, यस वर्षको 'म्यान बुकर'को १३ आख्यान किताब समेटिएको लामो सूचीमा पनि अटायो । त्यसो त, सन् १९९७ मा 'द गड अफ स्माल थिङ्स'का लागि उक्त पुरस्कार हत्याउने उनै रोयको झन्डै २० वर्षको अन्तरालमा आएको उक्त उपन्यास यस पटक पनि 'म्यान बुकर'को प्रबल दाबेदार मानिन्छ ।
मूलधारको भारतीय शासनको मामिलामा 'बौद्धिक हस्तक्षेप'का जे-जति प्रयत्न भएका छन् अथवा सिंगो शासकीय संरचनामा बौद्धिक क्षेत्रको जे-जति योगदान रहेको छ, त्यसमा कुनैकुनै रूपमा रोयको सक्रिय भूमिका देखिन्छ । उनी महिलावादी लेखकभन्दा बढी एक विकासवादी÷मानवतावादी सामाजिक अभियन्ता हुन् ।
उनले १६ वर्षको हुर्कंदो वयमा नै पारिवारिक दबाबको पासो र स्वतन्त्रताविरुद्धको जञ्जिर चुँडाउने निधो गरिन् र त्यसको खिलाफमा अडानसाथ उभिइन् । अनि, हेनरिक एब्सेनकी चर्चित पात्र 'नोरा' जसरी घरपरिवार त्यागेर आफ्नो आत्माले गरेको निर्णय कार्यान्वयनको लागि निस्किइन् । घरै छोडेर हिँड्ने त्यही कठोर निर्णय नै आज 'पब्लिक स्फेयर'मा उनको बलियो र अर्थपूर्ण उपस्थितिको कारक हो । होइन भने आज रोय पनि आम भारतीय हिन्दु नारीकै हैसियतमा कुनै पतिको सेवासु श्रुसामा तल्लीन भएकी हुँदी हुन् !
त्यतिबेलाको आँटिलो र सही निर्णयले उनलाई आज सामाजिक न्यायको पैरवीकर्ताको रूपमा उभ्याएको छ । तत्कालीन सामाजिक मान्यताको सूचकलाई आधार मानेर हेर्दा उक्त निर्णय तात्कालिक सन्दर्भका लागि सही थिएन होला, भलै आज रोयको उक्त निर्णयको औचित्य पुष्टि भइसकेको छ । सार्वजनिक न्यायका पक्षमा वकालत गर्ने बल पनि त्यहीँबाटै आएको हुनुपर्छ ।
उनी सानै थिइन् जतिबेला उनले 'म एउटा लेखक बन्छु' भनेर संकल्प गरिन् । लेखक बन्ने सपना बोकेर हिँडेपछि उनले आफ्नो जीवनका बाटामा आइपरेका असंख्य अप्ठ्यारा गौंडा उक्लिँदै र अड्चनका कयौं जंघार तर्दै आफूमा रहेको सामाजिक चेतनाको निब तिखारिन् ।
मूलधारको भारतीय शासनको मामिलामा 'बौद्धिक हस्तक्षेप' का जे-जति प्रयत्न भएका छन् अथवा सिंगो शासकीय संरचनामा बौद्धिक क्षेत्रको जे-जति योगदान रहेको छ, त्यसमा कुनैकुनै रूपमा रोयको सक्रिय भूमिका देखिन्छ ।
रोयको उपन्यास 'द गड अफ् स्मल थिङ्स'ले उनको आफ्नो समयका भारतीय कलिला जुम्ल्याहा बालपात्रका माध्यमबाट तत्कालीन सामाजिक परिस्थितिलाई औपन्याशिकीकरण गरेकी हुन् । त्यस आख्यानले नै हो उनको लेखकीय उचाइलाई ह्वात्तै बढाइदिएको पनि । त्यही किताबको माध्यमबाट उनी भारतीय भौगोलिक सीमा छिचोलेर संसारभरका पाठकमाझ आफ्नो मौलिक र फरक पहिचान स्थापित गराइन् ।
रोयले पर्यावरणीय सरोकारको 'नर्मदा बचाऊ आन्दोलन'लाई उचाइ दिने कार्यका लागि मात्रै अगुवाइ गरेकी छैनन्, अन्य कयौं सार्वजनिक महत्वका सामाजिक, अर्थ-राजनीतिकलगायतका आन्दोलनले रोयको दूरदर्शी र सुझबुझपूर्ण नेतृत्व पाएका छन् ।
वातावरणीय विनाशदेखि भ्रष्टाचारविरुद्ध पैरवी गर्नेमात्रै होइन, आणविक हातहतियार प्रयोगको होडबाजीको खिलापको बहसमा पनि उनको सघन उपस्थिति रहँदै आएको छ । परिणामत; रोयको परिचयको दायरालाई बहुआयामिक बनाउन सघाएको छ । राजनीतिक मुद्दा सरलीकरण गर्नेदेखि शासकीय जटिलताको न्यूनीकरण गर्नेसम्मको काममा रोयको अग्रसरता उल्लेखनीय रहेको छ ।
आफ्नो किताब 'ब्रोकन रिपब्लिक'मा भारतीय माओवादी विद्रोहबारे र त्यसका राजनीतिक एवम् सामाजिक आयाम तथा असरको लेखाजोखा गरेकी रोयले भारतको एउटा चर्चित पत्रिका 'आउटलुक'मा सन् २०१० मा प्रकाशन गरेको 'वाकिङ विथ द कमरेड्स' शीर्षकको आलेखले तत्कालीन भारतीय सरकारको टाउको समेत दुखाइ दिएको थियो ।
जंगलको ओझेलमा बसेर छापामार युद्ध गरिरहेको भारतीय माओवादी 'नक्सलाइट'को सशस्त्र आन्दोलनका लुकेका तन्तु केलाउन कामयाव बनेको त्यस लामो अनुसन्धानपरक आलेख २०११ मा किताबी आकारमा पनि छापियो । 'नक्सलाइट'को आधारभूमि छत्तीसगढको दन्तेवडाको स्थलगत भ्रमणपछि लेखिएको उक्त आलेख विवादित पनि बनिदियो किनभने माओवादी सशस्त्र विद्रोहबारे रोयले एकखाले नैतिक समर्थन गरेको ठहर तत्कालीन सरकारले गरेको थियो । शासकीय सत्ता हल्लाउने हैसियत राख्ने त्यस आलेख गुदीबिना 'हिट' भएको चाहिँ पक्कै पनि थिएन ।
एउटा अंशको भाव यस्तो थियो ; 'दन्तेवडामा विद्रोहीले बर्दी लगाउँछन्, बर्दी लगाउनुपर्ने प्रहरीले सादा पोसाक । जेलका हाकिम जेलभित्र छन्, कैदी चाहिँ बाहिर । हरियो जंगल मान्छे नै मन्छेले भरिएर मान्छेरूपी जंगल भएका छन्, अनि गाउँ रित्तै भएको छ । विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा छैनन्, उनीहरूका विद्यालय त सुरक्षाकर्मीका ब्यारेक र अखडामा बदलिएका छन् ..।' उनको लेखाइ यति दमदार थियो कि जोकोही पाठकलाई पनि त्यहाँको खास अवस्था बुझ्न छत्तीसगढ गइरहनु परेन, रोयको एउटै आलेख नै काफी बनिदियो तत्कालीन छत्तीसगढ बुझ्न ।
सन् २००४ मा रोयलिखित 'एन अर्डिनरी पर्सन्स् गाइड टु एम्पाएर'ले भारतमा घटित हिंसात्मक धार्मिक द्वन्द्वदेखि वातावरणीय दृष्टिकोणले अनुपयुक्त जलविद्युत् आयोजना एवं भारतको आन्तरिक÷बाह्य विस्थापन मुद्दाको पिँधैसम्म पुगेर चासो राखेको छ । यसमा चुनाव जिताएर सत्ताको साँचो थमौती गरेर पठाएका राजनीतिका ठेकेदार भनौँदाको प्रत्यक्ष रखवारीमा लोकतान्त्रिक मूल्यको ह्रास कसरी भएको छ वा न्यायिक सिद्धान्तको खिलापमा अनुत्तरदायित्व प्रणालीको विकास कसरी भएको छ, त्यो औंल्याउन खोजेकी छन् ।
भारतमा क्रिश्चियन धर्म, मार्क्सवादी दर्शनमात्रै होइन हिन्दु र इस्लाम धर्मको फैलावटसँगै रोयको वैचारिक जग निर्माणमा प्रभाव पारेको देखिन्छ । सानै उमेरमा घर छोडेर हिँडेपछि बाँच्नका लागि रोयले धेरै संघर्ष गरिन् । 'दिल्ली स्कुल अफ् आर्किटेक्चर'मा पढ्दाताका उनीसितै सहयात्रा गर्ने गरी पतिका रूपमा एक पुरुष उनको जीवनसित जोडिन आइपुगे । बिहे भइसकेपछि त्यो जोडीले गोआमा पर्यटकलाई केक बेच्ने काम पनि गर्यो ।
भलै, रोयको वैवाहिक सम्बन्धको गाँठो त्यति बलियो गरी चाहिँ कसिएको रहेनछ । चार वर्ष पुग्दानपुग्दै त्यो गाँठो फुस्किइहाल्यो फेरि नगाँसिने गरी । उनी एक्लिइसकेपछिको यात्रा फेरि जटिल बन्यो । 'नेसनल इन्स्टिच्युट अफ् अर्वान अफियर्स'मा जागिर खान थालिन् । जागिरसँगै फिल्म निर्देशक प्रदीप किसेनसँग बिहे पनि गरिन् ।
लगत्तै सांस्कृतिक सम्पदाको अध्ययनका लागि इटालीको छात्रवृत्ति पाउँदा प्रदीपको आगमन उनलाई फापेको देखिन्छ । करिअरको बाटो निर्माणमा सहजता थपिएको महसुस उनले पनि गरिन् होला सायद । अध्ययन सकाएर इटालीबाट भारत फर्किएपछि भने टीभी सिरियलका लागि कथा लेख्ने काममा अनुबन्द भइन् उनी । 'ब्यान्डिट क्विन'को बहुचर्चित कथा लेखिएको समय पनि त्यही नै हो।
रोयका गैरआख्यानको ताकतमापन गर्न पनि लरतरो हिसाबले सकिँदैन । 'द कस्ट अफ् लिभिङ' (१९९९), 'पावर पोलिटिक्स्' (२००२), अनि 'वार टक' (२००३) वैचारिक हिसाबले धेरै बहस छेडेका रोयका किताबका रूपमा दरिएका छन् । उनको 'पावर पोलिटिक्स्'मा 'आतंकवाद'को खिलापमा केन्द्रित भनिएको अमेरिकी चाखका सम्बन्धमा आफ्नो जब्बर विश्लेषणात्मक टिप्पणी समेटिएको छ ।
आणविक युद्ध÷अस्त्रका विरुद्धमा उनले लिने वैचारिक अडानले उनलाई एक जब्बर राजनीतिज्ञ भन्न सकिने आधार बनेको भए पनि त्यो एक नागरिकको कर्तव्य तहबाट मात्रै गरिएको उनको ठहर छ । त्यसैगरी, 'वार टक' (२००३) मा सांस्कृतिक-आर्थिक परिवर्तन र सामाजिकताको पक्षमा उनको खरो अभिव्यक्ति समेटिएको छ ।
शेखर कपुरको 'ब्यान्डिट क्विन'मा कथा लेखेपछि रोय आख्यान लेखनको दुनियाँमा हेलिएकी हुन् । तर, उनको पहिलो प्रयास 'द गड अफ् स्मल थिङस्'ले नै उनको लेखकीय भविष्य तय गरिदियो । गैरआख्यानका रूपमा विश्वव्यापीकरणका नकारात्मकतादेखि र नवउपनिवेशवादको खिलापसम्म उनले टिप्पणी गर्न छुटाएकी छैनन् । यसरी हेर्दा रोयको लेखनको दायरा यति बृहद् देखिन्छ कि एउटा सामान्य लेखकले त त्यसको कल्पनामात्रै गर्न सक्छ ।
थुपै्र भाषामा अनुदित भएका रोयका किताबले उनको परिचयको जगलाई बहुआयामिक बनाउन सघाएका छन् । समकालीन आधुनिक भारतको विकासको गतिमा विश्वको शासन प्रणालीको सम्बन्ध अनि लोकतन्त्रको पक्षको आफ्नो खास अडानलाई 'लिस्निङ टु ग्रासहोप्पर ; फिल्ड नोट्स अन डेमोक्रेसी'मार्फत प्रस्तुत गरेकी छन् । यसबाहेक, उत्तरअमेरिकी शासन प्रणालीमा मिसिएको रंगभेदी नीति अनि सिंगो मानवतावादको खिलापको परिचायक बनेको युरोपको 'नाजी क्याम्प'जस्ता दृष्टान्त समेटेर समावेशी लोकतन्त्र र मानवतावादी वैचारिक मूल्यमा बढोत्तरी गर्न पनि भ्याएकी छन् । यसैबीच, सन् २००२ को भारतीय मुस्लिममाथिको सांस्कृतिक दमनको विरुद्धमा पनि उनको वैचारिक स्तर उँचो नै सुनिन्छ ।
कलिलै उमेरमा घर छोडेर आत्मनिर्भरताको सिँढी चढ्न खोजेकी रोयले सबैभन्दा पहिला लेखेको कथा हो- 'इन ह्विच एनी गिभ्स् इट दोज वन्स्' (१९८९) । यसलाई फिल्ममा रूपान्तरण गरिँदा रोयले पनि त्यसमा अभिनय गरेकी छन् । कतिपय समालोचकले विश्व साहित्यका नामुद आख्यान हस्ती विलियम फल्कनरको हाराहारीमा राखेर पनि उनको तारिफ गरेका छन् । रोयको अधिकांश लेखनमा एउटा गुदी पाइन्छ, त्यो हो- संसार बदल्नको लागि वा समाज रूपान्तरणको लागि कसै न कसैले त अगुवाइ गर्नै पर्छ । कोही न कोही त अगाडि आउनै पर्छ । 'द गड अफ् स्मल थिङस्' उनको यही दर्शनको औचित्यलाई बल प्रदान गर्ने अत्यन्तै शक्तिशाली आख्यान हो ।
अमेरिकी दुई व्यापारिक केन्द्र 'वल्ड ट्रेड सेन्टर' र 'पेन्टागन' माथिको आक्रमणलाई मध्यनजर गरेर लेखिएको 'द अल्जेब्रा अफ् इन्फाइनाइट जस्टिस' उनको लामो गैरआख्यान हो । यसमा अमेरिकी सैन्य, नीतिगत एवम् संस्थागत शक्ति अभ्यासमाथि खरो टिप्पणी गरेकी छन् । 'आतंकवाद' निमिट्यान्न पार्ने अस्त्र स्वरूप अमेरिकी सरकारले लिएको नीतिगत अदूरशर्शिता र शासकीय फितलोपनको तह केलाउँदै तत्कालीन बुस प्रशासनको हठप्रति धारिलो कटाक्ष गरेकी छन् ।
उनी लेख्छिन्, 'अमेरिकी सैन्य हस्तक्षेपका प्रतीक तथा आर्थिक दमनको औजार भएकै कारण 'वल्ड ट्रेड सेन्टर' र 'पेन्टागन' ध्वस्त गरिएका हुन्, ती जनस्वतन्त्रताको प्रतीक भएका भए आज पनि जस्ताको त्यस्तै हुने थिए ।'
रोयको 'कम सेप्टेम्बर' शीर्षकको लामो लेक्चरमा उनले अमेरिकी सरकारसँग जब्बर सवाल गरेकी छन्, 'तिमीले भन्ने अमेरिका-विरोधी वा जाज-विरोधीको अर्थ के हो ? के टोनी मोरिसन र जोन अपदाइक पनि अमेरिका विरोधी हुन् ? अनि, भियतनाम युद्धका बेला आणविक अस्त्र विरुद्ध उत्रिएर भियतनामबाट फर्किन दबाब दिने अमेरिकी जनताको जनसागर, के ती सबै अमेरिका विरोधी थिए ?
'
सन् १९६१ मा भारतमा जन्मिएकी रोय सामाजिक, राजनीतिक, आर्थिक, आणविक, सांस्कृतिकलगायतका सार्वजनिक सरोकारका विषयमा टिप्पणी लेखेर संसारभर नै बौद्धिक सत्ताको महत्व स्थापित गराउने र त्यसको ताकतको अन्दाज दिलाउने काममा उनको उल्लेख्य योगदान गाँसिएको छ । किनभने, उनले जे जति मुद्दामा लेखिन् ती सवैको केन्द्रमा आम चासो, हित र सरोकार लुकेको थियो । र, त्यसले मूलधारको भारतीय राजनीतिक सत्ताको नीतिगत संरचना एवम् बहुस्तरीय शासकीय शक्ति अभ्यासमा धेरथोर प्रभाव जरुरै पारेको छ ।
('हिन्दुस्तान टाइम्स', 'आउटलुक' र 'द गार्डियन'को सहयोगमा ।)