जहाँ सज्जनहरू झुट बोल्छन्
परालका त्यान्द्रोले भरिएको मधेसको बाटो ! मानौं कि तपाईंको अघिअघि ट्याक्टरले गुन्टाबाट बाटैभरि पराल छर्दै गएको छ । तर, यो वातावरणमा पनि खासै गर्मी छैन । किनभने यी पराल मधसेको अनुभव गराउनका लागि मण्डला थिएटरको प्रवेशद्वारमा छरिएका हुन्, जहाँ मधेसको परिवेशमा बनेको नाटक 'लाटीको छोरो' प्रदर्शन भइरहेको छ ।
कथाकार श्याम साह लिखित कथा 'लाटीको छोरो' समाजको पिँधमा रहेकालाई आर्थिक, राजनीतिक, सामाजिक रूपमा कसरी दबाइन्छ भन्ने विषयमाथि केन्द्रित छ । नाटकमा सम्पूर्ण कथा 'लाटी' पात्रमार्फत दर्शकसामु भनिएको छ । लाटी (केनिपा सिंह) को चरित्रमार्फत समाजमा रहेका पुरुषको दरिद्रतालाई निकै सशक्त रूपमा प्रस्तुत गरिएको छ ।!'
लाटी पुनित (सुदीप खतिवडा) को प्रेममा परेको हुन्छ अथवा पुनित लाटीको प्रेममा परेको हुन्छ । खास कथा उनीहरूको प्रेमबाट सुरु हुन्छ । लाटी निर्दोष प्रेम गर्छिन् र पुनित पनि । बेवारिसे लाटीलाई व्यवस्थित बनाउने उद्देश्यले पुनितले पवित्रा (पशुपति राई, जसलाई बोक्सी भनी अलग्गै बसाइएको छ) लाई आफूसँगै राख्न अनुरोध गर्छ । केही भइहाले त्यसको जिम्मेवारी पुनितले नै लिने सर्तमा पवित्राले लाटीलाई आफूसँग राख्न सहमति दिन्छे । तब, सुरु हुन्छ रात र लाटीको कथा ।
समाजको चरित्र
रातमा गाउँका भलाद्मी पुरुषहरू चल्मलाउँछन् र लाटी अचानक गर्भवती हुन्छे । तब कोमार्फत उनी गर्भवती भइन् ? टोलभरि आश्चर्य प्रकट हुन्छ । लाटीको गर्भमा के पुनितको बच्चा हुर्किरहेको छ ? कि अरू कसैको ? प्रश्न टड्कारो हुन्छ ।
लाटी गर्भवती भएपश्चात् गाउँमा पञ्चायत बोलाइन्छ । पञ्चायतमा पुनितलाई केही सोधिन्छ, 'लाटीको पेटमा भएको बच्चा तेरो हो ? ' पुनित मौन रहन्छ, समाज मौन रहन्छ । पुनित व्यापारी सीताराम अग्रवाल (राजन काफ्ले) का छोरा भए पनि सिंगो समाज भने आर्थिक रूपले तल्लो वर्ग र सामाजिक रूपले विभेदको पिँधमा छ ।
केही समयअघि निर्ममतापूर्वक हत्या गरिएकी भारतीय पत्रकार गौरी लंकेशको भनाइलाई उद्धृत गर्दै चैतन्य केएमले भनेका छन्- 'असहिष्णुहरूले हाम्रो मौनताबाट शक्ति आर्जन गर्छन् ।' लाटीको छोरोमा रहेको समाज पनि असहिष्णुहरूका लागि शक्ति आर्जन गर्ने मौनता साँध्न बाध्य छ । अर्थात् विशनाथहरू त्यो मौनतामा आफूलाई बलियो भेट्टाउँछन् । र, लाटीलाई न्याय दिलाउने ढोंग गर्छन् ।
वास्तविकता पवित्राले ओकल्छे । तर, उसको कुरा सुन्ने पक्षमा कोही पनि हुँदैनन्, किनभने उसलाई समाजले अर्कै उपमा दिएर अपहेलित गरेको छ, जसको कुरा सुन्न लायक हुँदैन ।
गाउँका नेता विशनाथ (टीका पहारी) लाटीलाई न्याय दिने पक्षमा आफू रहेको पटकपटक दोहोर्याउँछन् । उनी भन्छन्, 'म छु त न्याय छ, म छैन त न्याय छैन ।' पञ्चायत बोलाउनुअघि विशनाथकहाँ गाउँका शिक्षक, व्यापारी, प्रहरी अधिकारी सबै पुग्छन्, गोप्य सल्लाहका लागि । ती सबैको आग्रह हुन्छ- 'लाटीको पेटमा भएको बच्चा मेरो हो । यसलाई सल्टाइदिनुपर्यो ।' निर्वाचन नजिक आउँदै गरेको सन्दर्भमा विशनाथ सबैलाई आश्वासन दिन्छन्- 'ठीक छ, तर चुनावमा चाहिँ...।'
अन्तत; पञ्चायतले निर्णय सुनाउँछ- 'लाटी र सुर्जा (कन्दन थारू) को विवाह गराउने र गाउँ निकाला गर्ने । उनीहरूलाई त्यसअघि मालिकको घरमा रहँदा एक अर्काबीच शारीरिक सम्बन्ध कायम गरेको आरोप लगाइन्छ र उक्त निर्णय सुनाइन्छ ।
तर, डोम समुदायकी लाटी र सुर्जा चेलीमाइती हुन्छन् । सुर्जाले लाटी आफ्नो दिदी भएको बयान दिए पनि पञ्चायतले कानमा तेल हाल्नुको विकल्प भेट्दैन र आफ्नो फैसलालाई वैधानिकता दिन्छ ।
कथाको वास्तविकता
दस वर्षपछि विशनाथ मन्त्री हुन्छ । र, स्कुल गइरहेको सानो बालकलाई भेट्छ । गाउँमा नयाँ केटोलाई देखेर मन्त्री विशनाथ सोध्छ- 'तिमी कसको छोरा ? ' केटो जवाफ दिन्छ- 'म लाटीको छोरा ।' विशनाथ छाँगाबाट खसेझैं हुन्छ । लाटीको छोरोको निधारमा कोठी हुन्छ, जसरी विशनाथको निधारमा पनि त्यस्तै कोठी छ । कथाको वास्तविकता फर्दाफास भएसँगै थिएटरका सबै बत्ती निभ्छन् र नाटक समाप्त हुन्छ ।
नाटकको कथाले मधेसको वास्तविक मुद्दालाई बुझ्न निकै गहन मद्दत गरेको छ । मधेसलाई पहाडिया वा उनीहरूको वर्णलाई खाली गहुँगोरोपनको दृष्टिबाट हेर्ने एकात्मक सोचमाथि नाटकले धावा बोल्न कुनै कसुर बाँकी राख्दैन । त्यहाँको तथाकथित समाजले पिँधमा परेका समुदायलाई अझै पनि पशुसमान ठान्छ भन्ने कुरा 'सुर्जा र लाटी चेलीमाइती हुन्' भन्ने थाहा भएर पनि विवाह गराइदिनुले प्रमाणित गर्छ ।
सुलक्षण भारतीद्वारा नाट्य रूपान्तरण र निर्देशन गरिएको यो कथा श्याम साहको कथासंग्रह 'अब्बा'मा संग्रृहीत छ । नाटकमा कलाकारको अभिनयले दर्शकलाई कुनै पनि हिसाबले बोर गराउँदैनन् । केनिपाको अभिनय हेरेपछि उनलाई बाहिर भेट्दा यस्तो लाग्छ- 'आहो ! यो मान्छे त बोल्ने पो रहेछ