गोजीमा देकार्त
धरानस्थित बरगाछीमा मेरो निवासस्थान भएको चोकमा एउटा चियापसल छ । सो चिया पसलमा म चिया पिउन दिनको तीन, चार पटक गइरहन्छु । यसै क्रममा केही दिनअघि म चिया पिउन गएको थिएँ । जब टेबलमा बसे, मेरो अघिल्तिर एकजना मंगोलियन अनुहारका व्यक्ति थिए । चीनका ताओ वा कन्फुसियाली ऋषिजस्ता ती व्यक्तिले लगाएको टिसर्टले मेरो मन तान्यो ।
टिसर्टमा भन्दा पनि त्यसमा लेखिएको उक्तिले मेरो मन तानेको थियो । त्यहाँ लेखिएको थियो, ‘आई थिकं देयरफोर आई एम’ -रेने देकार्त । फ्रान्सका सत्रैाँ शताब्दीका दार्शनिक रेने देकार्तको त्यो उक्ति छापिएको टी सर्टको गोजीले मलाई चिन्तनमग्न बनायो । त्यसले मलाई आधुनिक युगको बौद्धिक उथलपुथलमा पर्यायो । यसरी पहिरनमा लोकप्रिय उक्तिहरू लेखेको लगाउने चलन युरोप र अमेरिकामा प्रचलन छ ।
देकार्त जसलाई आधुनिक दर्शनका आधार स्तम्भ भनिन्छ, उनको प्राज्ञिक र जनजिब्रोमा अटेको त्यो उक्तिले मलाई सोच्न बाध्य बनायो । अब्राहम लिंकन, ज्याँ पाल सात्र्र र कार्ल माक्र्सका उक्तिहरू लेखिएका पहिरनहरू युरोपमा प्रचलित नै छन् । रेने देकार्तको उक्ति टाँसिएको त्यस टिसर्ट लगाएका व्यक्तिको साक्षात्कारपछि मलाई देकार्तको त्यो युगमा पुर्यायो । फ्रान्समा जन्मिएका देकार्तले १६३७ मा पहिलोपल्ट ‘कोगिटो इर्गो सुम’ अर्थात ‘आई थिंक देयरफोर आई एम’ (म सोच्छु त्यसैले म हुँ) भन्ने वाक्य प्रयोग गरेका थिए । ज्यामिती र अल्जेब्रामा अनुसन्धान गरेका देकार्तले केही समय सैन्यजीवन बिताए ।
उनले जीवन र प्रकृतिको यान्त्रिकी परिभाषा खोजेका थिए । उनीमा चेतनाको सम्बन्धमा संशय थियो । त्यसैले मस्तिष्क र शरीरको द्वैत सम्बन्ध सिर्जना गरे । सोच्नु नै म हुनु हो भन्ने भनाइबाट उनले मस्तिष्कको उपस्थितिलाई प्राथमिकता दिएको निष्कर्षमा पुग्न सकिन्छ । उनको यो भनाइ चेतनाको प्रकृति अध्ययन गर्ने “कगिटो रुट” हो । आज तीन सय वर्षपछाडि पनि उत्तिकै सशक्त र अर्थपूर्ण लाग्ने देकार्त आधुनिक दर्शनका जन्मदाता हुन् ।
ती व्यक्ति बेलाबेला त्यही टिसर्ट लगाएर बरगाछी वरिपरि घुमिरहन्छन् । म भने अहिले सुरु भएको उत्तरमानव समाजको दर्शनतर्फ बेलाबेला घोत्लिने गर्छु । अब मान्छेले म सोच्छु त्यसैकारणले म हुँ भन्नुपर्ने अवस्थाबाट मेसिनले सोच्छ, त्यसकारणले म हँ भन्नुपर्ने अवस्था आएको छ । विशेष गरेर कृत्रिम बुद्धिको आविष्कारले मानव समाजलाई कहिल्यै पनि नसोचेको सामाजिक, सांस्कृतिक र व्यावहारिक अवस्थामा ल्याइपुर्याउँदैछ ।
बीसौं शताब्दीमा बेलायतका समलिंगी वैज्ञानिक एलेन टुरिङले सुरुमा आविष्कार गरेको कृत्रिम बुद्धिको आयामले मानव समाजलाई गाँज्न थालेको छ । इन्टरनेट, रोबोट, मोबाइल फोनजस्ता शक्तिशाली मेसिनहरू आज मानिसको जीवन सञ्चालनमा निर्देशन गर्ने ईश्वर बनिरहेका छन् । एलेन टुरिङले त्यसताका एउटा प्रभावशाली निबन्ध लेखेका थिए ‘क्यान मेसिन थिंक’ अहिले आएर मेसिनले सोच्न थालेको छ र यसको क्षमता बढेर मानवभन्दा कैयौं गुणा बढी सोच्न सक्ने भविष्यमा हुनेछ ।
अब देकार्तको विनिर्माण भयो किनभने उनको पालामा मेसिन सोच्न सक्ने थिएन । सीएनएनका होस्ट फरिद जाकरियाले भनेका छन्, विगत सय वर्षमा नभएको परिवर्तन अब दस वर्षभित्र हुनेछ । यत्रो उथलपुथल नयाँ विज्ञान र प्रविधिले ल्याइरहेको छ जस्लाई रोक्न कसैले सक्दैन । राष्ट्रहरूभन्दा गुगल, फेसबुक, एप्पल र माइक्रोसफ्ट सफल शक्तिशाली कर्पोरेट हाउस बनिरहेका छन् । अब मानिस र मेसिन जोडिन आइपुगेको छ ।
अहिलेसम्मको मानिस समाज, संस्कृति र राजनीतिले सञ्चालित थियो । त्यो मानिस अब प्रविधिले जोडिएको छ । यो जोडाइले यसलाई उत्तर मानव बनाएको छ । सांस्कृतिक मानव अब पुरानो भयो, प्रविधि मानव नयाँ भयो । ऊ उत्तरमानव भयो । अब मानव मस्तिष्क कृत्रिम रूपले बनाउन सकिने भएको छ । भविष्यशास्त्री तथा आविष्कारक रे कुर्जबेलले ‘हाउ दु क्रियट माइन्ड’ भन्ने पुस्तक लेखेका छन ।
उनले गुगलमा दिएको एक घण्टा लामो भाषण यू ट्युबमा सुनेको थिएँ । मस्तिस्क विज्ञान अहिले सबैभन्दा बढी अध्ययन अनुसन्धान भएको विषय हो । यो क्षेत्र अल्बर्ट आइन्स्टाइनजस्ता वैज्ञानिकको प्रतीक्षामा छ जसले मस्तिष्कको सापेक्षवाद आविष्कार गरोस् । कुर्जवेल भन्छन्, मस्तिष्क मेसिन हो । यो जैविक रसायन, विद्युतीय क्षमता र एल्गोरिदमले बनेको छ जसको निर्माण गर्न सम्भव छ ।
अब देकार्तको मस्तिष्क पुरानो छोपिएको विचारद्वारा बुझिने मस्तिष्क मेसिनको रूपमा निर्माण हुनेभयो।
यो भन्दा ठूलो क्रान्ति के हुन सक्छ ? मेसिनले अब मानवलाई चुनौती दिनेछ । मान्छेभन्दा बढी क्षमतावान् मेसिनहरू उत्पादन गर्नेछ । स्टिफन हकिन्सजस्ता ब्राम्हण्डशास्त्री कृत्रिम बुद्धिको प्रयोगले मानवजातिलाई नै समाप्त पार्न सक्षम छ भन्छन । यिनै सर्वनाशको परिकल्पना गरिएका साइन्स फिक्सन चलचित्रहरू हलिउडले बनाउँदै आएको छ । यस्ले सांस्कृतिक सामाजिक परिवेशमा बाँचेका अर्बौं मानिसको जीवनशैलीलाई चुनौती दिन्छ । अहिले नै संसारमा सूचना प्रविधिको असमान वितरण र प्रयोगले डिजिटल डिभाइड ल्याएको छ भने कृत्रिम बुद्धिको प्रयोगले झन् ठूलो खाडल ल्याउने छ।
पश्चिमी देशहरूमा रोबोटको प्रयोगले श्रम क्षेत्रमा मानिसलाई विस्थापित गर्न थालेको छ जसले करोडौंलाई बेरोजगार बनाउनेछ । मेसिनले जीवनमा नयाँ ईश्वरको भूमिका खेल्नेछ । नयाँ प्रविधिले चिकित्सा, श्रम, उत्पादन, सञ्चार र चेतनाको विविध आयामहरूलाई प्रभाव पार्ने छ । यसबाट फाइदा उठाउनेहरू समाजमा शक्तिशाली हुनेछन् भने उठाउन नसक्नेहरू कमजोर र निरीह हुनेछन् ।
भारतीय दार्शनिक यू.जी. कृष्णमूर्तिले शरीरको युगको परिकल्पना गरेका थिए । शरीरमा भएको असीमित बुद्धि र क्षमतालाई अहिलेसम्मको संस्कृति र धर्मले आत्माको नाममा दबाएको उनको मत थियो ।
यसर्थ उनले आत्मा र मनलाई केन्द्रबाट विस्थापित गरी त्यसको ठाउँमा शरीरलाई स्थापित गरेका थिए । मस्तिष्क उनको लागि ‘मिथक’ थियो भने मानवमा विचारको उत्पत्ति स्नायुविक त्रुटिबाट उत्पन्न भएको मान्दथे । पूर्वीय दर्शनमा म छु त्यसै कारणले म सोच्छु भन्ने परम्परा हाबी छ । किनभने, आत्माको अमरता र अनन्तताको बोध यसले दिन्छ । देकार्त पश्चिमी परम्पराका दार्शनिक थिए, त्यसैले उनले विचारमा जोड दिए ।
देकार्तको दर्शनको अहिले धेरै खण्डन भएको छ । उनी द्वैतवादी थिए, शरीर र मस्तिष्क दुबै बेग्लै अस्तित्व भएका बस्तुहरू हुन भनी मान्दथे । जोन सर्लजस्ता स्नायु वैज्ञानिक मस्तिष्क र शरीर एकआपसमा जोडिएको बताउँछन् । उनको मतअनुसार शरीरबिना मस्तिष्क छैन, मस्तिष्कबिना शरीर छैन । चेतनाको तत्वमिमांसामा असाधारण योगदान दिने देकार्तबाट अस्तित्ववादी दार्शनिक ज्याँ पाल सात्र्र ऋणी थिए ।
उनको यस भनाइमा अनन्तताको बोध थियो । जसमा विविध सोचाइहरूको आयाममा योगदान दिएका थिए । तर सोचाइ अहिले मेसिनको क्षेत्रमा पर्दछ कुनै दिन मानिसभन्दा बढी म सोच्छु, त्यसैले म हँ, तिमीहरू छैनौं भनेर मेसिनले भनेछ भने के होला ? भन्ने चिन्ताका साथ ती ताओवादी ऋषिजस्ता मान्छेको गोजीमा भएको देकार्तको उक्ति हेर्दै टोलाउने गर्छु ।