दर्शक : फोटो कथा
'ऊ ऊ पुलुकिसी आयो' । 'आयो आयो' । 'अब लाखे पनि आउँछ है' । 'आयो आयो लाखे आयो । झ्यालिंजा खै त ? ' 'उ अगाडि अगाडि कुदिरहेको छ ।' 'अब कुमारी निकाल्छन् है ? ' 'अँ आज त कुमारीलाई हिँडाएर लेराउँछन् ।' 'ताने ताने ।'
दर्शकको भीड हल्लाखल्लाको स्रोत हो । जात्रैजात्राको सहर हो काठमाडौं । काठमाडौंका रैथाने नेवारहरूले नेपाली कला र संस्कृतिमा दिएका धेरै देनमध्ये खाना र जात्रा पनि हो । ती जात्रामध्ये सबैभन्दा लोकप्रिय र महत्वपूर्ण हो— इन्द्रजात्रा । 'पारिजातको फूल' बेच्ने ज्यापूको फूल चोर्न आएका देवताहरूका राजा इन्द्र पक्राउ परेको अवसरमा सुरु गरिएको मिथकमा आधारित छ यो जात्रा । यो काठमाडौंको वसन्तपुरमा आठ दिनसम्म मनाइने गरिन्छ ।
इन्द्रजात्रा हेर्न घन्टौं एकै ठाउँमा उभिएर प्रतीक्षा गर्ने उपत्यकावासी, देशका विभिन्न ठाउँबाट आएका दर्शक र विदेशी पर्यटकको भीडले काठमाडौंको आकाशमा आवाजहरूको अर्को जात्रा गरिरहेको हुन्छ । छाता ओढेर घामपानीमा, च्यापिएर भीडभाडमा, फेसन पोतेका अनुहार र जीउमा उभिएका मानिसहरूको भीडले एउटा भिन्दै कोलाज बनाइदिन्छ । सायद यही हो यस्ता जात्राहरूको सौन्दर्य ।
जात्राका अवसरमा लाखे नाच, भैरव नाच, पुलुकिसी तथा अरू विभिन्न गतिविधि हुने गर्छ । इन्द्रजात्राको महत्वपूर्ण र रोचक पाटो जीवित देवी कुमारी, गणेश र भैरवको रथलाई टोल परिक्रमा गराउनु हो ।
फेरि पनि जात्राको रौनक त दर्शकले नै बढाउने हुन् । टन्टलापुर घाम, ठेलमठेल घुइँचो अनि घरि पानी बर्सिने, यस्तो अवस्थाको केही मतलब नगरी जात्रालुहरू जात्राको रौनकमा रमाइरहेका हुन्छन् । भूकम्पले जीर्ण बनाएको दरबार परिसरका भत्किएका मन्दिरमा चट्ट मिलेर रथ तानेको हेर्न बसेका यिनै जात्रुको मुखबाट बेलाबेला उब्जिन्छ शंका— भुइँचालो आयो भने के गर्ने । शंकाले मन नै चिसो बनाए पनि जात्राको उमंग त कहाँ छोड्न सक्छन् र दर्शकहरू !