सीमावर्ती बजारमा खचाखच हुँदा नेपाली बजार सुनसान
बर्दिया: भारतीय सीमावर्ती क्षेत्रका बजारहरुमा खचाखच नेपाली ग्राहकहरुले किनमेल गर्न थालेपछि नेपाली बजार सुनसान छन्। खुला सिमाना लगायत भन्सार खुकुलो भएका कारण नेपाली ग्राहकहरुले दैनिक करोडौको किनमेल सिमावर्ती बजारबाट गर्नेक्रम बढेसँगै नेपालका बजार सुनसान बनेपछि यहाँको व्यवसाय समेत धरासायी बन्दै गैरहेको हो।
जिल्लामा सीमावर्ती क्षेत्रका भारतीय बजारबाट नेपाली ग्राहकहरुले दैनिक करोडौंको कारोवार गर्ने गरेको ईद्रिसी ईम्पोरियम गुलरियाका प्रोपराईटर मोविन अहमद ईद्रिसीले बताए।चाड पर्व लगायत दशै नजिकिँदै गर्दा पनि हाम्रो यहाँको व्यापार सुनसान छ।
उनले भने, 'खुला सिमाना र चेकजाँच फितलो भएका कारण नेपाली ग्राहकहरु भारतीय बजारमा किनमेल गर्न सहज मान्छन्।सिमावर्ती भारतीय बजारमा दैनिक करोडौ रुपैयाको खरिद विक्री नेपाली कस्टमरले गर्ने गरेको स्थानिय व्यापारीहरु बताउँछन्। बर्दियाको सदरमुकाम गुलरिया लगायत बाँसगढी, मैनापोखर, मधुवन, राजापुर लगायतका बजारहरु सीमावर्ती भारतीय बजारका कारण ओझेलमा परेको उनले बताए।
भारतको बलैगाउँ बजारका कारण मैनापोखर, सितला, बाँसगढी, गुलरिया लगायतका बजारहरु प्रभावित वनेका हुन्। त्यस्तै बठनिया बजारका कारण मधुवन बजार, तिकुनिया बजारका कारण राजापुर बजार प्रभावित बनेको स्थानिय व्यवसायी मतिन अहमद बताउँछन्। मिहिपुरवा, लौकाही, कर्तनिया, बठनिया बजार लगायतका बजारले नेपाली बजार धरासायी वन्दै गएको उनको गुनासो छ।
बर्दियामा १ किलोग्राम चिनी समेत भारतीय बजारबाट भित्रीने गरेको सावित्री जनरल स्टोरका व्यापारी वावुराम पौडेलले बताए। उनले भने,'ग्राहकहरु सस्तो सामान पाईने प्रलोभनमा भारतीय बजारमा जाने तर ठगिने गरेको उनको भनाई छ।
भारतीय बजार भन्दा गुणस्तरिय सामाग्री नेपाली बजार मै पाईन्छ तर ग्राहकले गुणस्तरियता तर्फ ध्यानै नदिई सस्तो सामानको प्रलोभनमा ठगिने गरेको उनले बताए। करोडौंको लगानी गरेर व्यवसाय संचालन गरेपनि दैनिक हुनुपर्ने विक्री नभएको पौडेलले गुनासो गरे।
उनले थपे हामीले सरकारलाई भन्सार र राजस्व तिरेर व्यवसाय संचालन गरेपनि राज्यले उचित प्रवन्ध मिलाउन नसक्दा नेपाली बजार र व्यवसायी धरासायी वन्दै गएको हो। दिनहुँ करोडौंको सरसामान भारतीय बजारबाट ल्याईदा समेत सम्वन्धीत निकायहरु टुलुटुलु हेरेर वस्न वाध्य छन्।
व्यापारीहरुले विक्रिका लागि ल्याउने सामान पक्राउ परेतापनि ग्राहकहरुले लाखौं रुपैयाको सामान विना भन्सार ल्याउँदा समेत भन्सार कार्यालय बेखवर रहेको व्यापारीको गुनासो छ।प्रहरीले राजापुर नगरपालिका वार्ड नम्वर ४ स्थित लठुवा सामुदायिक वनमा वेवारिसे अवस्थामा राखिएको करिव साढे ४ लाख रुपैया बराबरको सामान वरामद गरी भन्सार कार्यालय राजापुरमा बुझाएको छ।
शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान पछि बचेको समय हामीले सीमावर्ती गस्तीमा दिन्छौ प्रहरी उपरिक्षक जनक भट्टराईले भने,'भन्सार छली गरी ल्याईएको चोरी निकासी रोक्न प्रहरीले सक्दो प्रयास जारी राखेको बताउँदै उनले थपे हामीले चोरी निकासी सामान पक्राउ गर्दै भन्सार कार्यालयलाई बझाउने गरेका छौं।