एनआरएन अध्यक्षमा भवन भट्टको उम्मेदवारी

एनआरएन अध्यक्षमा भवन भट्टको उम्मेदवारी

काठमाडौं : गैरआवासीय नेपाल संघ (एनआरन)को अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। असोज २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुन गइरहेको एनआरएनको आठौं विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

भट्टले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्मा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। जापानबाट स्थापनाकालदेखि सक्रिय भूमिका निभाउँदै आएका उनी अहिले संघको उपाध्यक्ष हुन्। उनले एनआरएन जापानको स्थापनाकाल र दोस्रो कार्यकालमा कार्यसमिति सदस्य हुँदै राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

 ‘गैरआवासीय अभियानमा सुरुदेखि सक्रिय भूमिका निभाउँदै आएको छु’, भट्टले भने, ‘यही निरन्तरता र जिम्मेवारी बोधले मलाई सिंगो गैरआवासीय अभियानको नेतृत्व लिन अभिप्रेरित गरेको हो।’ स्थापनाकालदेखि एनआरएन अभियानमा निरन्तर सक्रिय रहेकाले संस्थापकको भावनादेखि वर्तमान नेतृत्वको सोचलाई समेत नजिकबाट बुझेको उनले बताए। यो अभियानलाई अगाडि बढाउने चुनौती स्वीकार गर्दै नेतृत्व लिन तम्सिएको उनको भनाइ छ।

एनआरएनले अहिलेसम्म लिएका निर्णय र पूरा हुन बाँकी रहेका काम सम्पन्न गर्ने उनले बताएका छन्। उनले गोरखाको लाप्राक नमूना बस्ती समयमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने बताए। यसपछि दोलखामा अर्को नमूना बस्ती निर्माणका लागि काम अगाडि बढाउने उनको प्रतिबद्धता छ। एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भवः लगायत कामलाई निरन्तरता दिने उनले बताएका छन्।

यसैगरी वैदेशिक रोजगार कोषको विस्तार गर्ने घोषणा गरेका छन्। अहिले कोषमा दुई करोड ५० लाख रुपैयाँ छ। उनले स्की कमिटिमार्फत नेपालको बौद्धिक पलायन रोक्न र बाहिरिएका बौद्धिक नेपालीलाई स्वदेश फर्काउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

भट्टले आफ्नो कार्यकालका लागि केही नयाँ एजेन्डा अगाडि सारेका छन्। वैदेशिक रोजगारी आपतकालीन कोषलाई सदुपयोग गरी संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमा गर्ने उनको उद्घोष छ। श्रम सहचारीलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने भएका छन्। यस्तै, महिला फोरमलाई सशक्त बनाउने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उनले बताए। हरेक एनसीसीका एक विशेष परियोजनाको परिकल्पना गरेको र सामाजिक उद्यमशीलता प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्ने उनको एजेन्डा छ।

जापानको हस्पिटालिटी बिजनेसमा भट्ट सफल व्यवसायी मानिन्छन्। जापानमा हस्पिटालिटी बिजनेसमा उनको एक किसिमको साम्राज्य खडा भइसकेको छ। नेपालमा पनि होटल, हवाई उड्डयन, मदिरा, सञ्चारलगायत व्यवसायमा उनी संलग्न छन्। नेपालमा हस्पिटालिटी बिजनेस विस्तार गर्ने क्रममा धुलीखेलमा होटल सञ्चालन गरेका छन्।

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित १४ वर्षअघि गैरआवासीय नेपाली संघको अभियान सुरु भएको थियो। गैरआवासीय अभियान अहिले विश्वको ७७ राष्ट्रमा संगठित भइसकेको छ। समृद्ध नेपालको सपना साकार पार्न लागिपरेको संघको अभियानलाई उचाइमा पुर्‍याउने भट्टले प्रतिबद्धता जनाएका छन्। ‘हाम्रो सञ्जाल जति बढिरहेको छ, नेतृत्व वर्ग र अभियान्तालाई उत्तिकै जिम्मेवारी थपिँदै गइरहेको छ’, उनले भने, ‘हामी परिवर्तित परिस्थितिअनुसार अगाडि बढ्नु आवश्यक हुन्छ, म यसमा निरन्तर सक्रिय भएर लाग्नेछु।’ इन्प्mोअसोज २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुन गइरहेको एनआरएनको आठौं विश्वसम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.