माओवादीको जम्बो समिति तत्काल नघट्ने

 माओवादीको जम्बो समिति तत्काल नघट्ने

काठमाडौं : माओवादी केन्द्रले पार्टीको ‘भद्रगोल संगठन' लाई व्यवस्थित बनाउन दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ। साउन पहिलो साता उसले चार हजार बढीको आयोजक समितिका कारण पार्टी संगठन भद्रगोल र लथालिंग बनेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति दुई डिजिट (९९ सदस्यीय) मा झार्ने नीतिगत निर्णय गरेको थियो। तर, अहिले बनाउन खोजिएको पार्टीको माथिल्लो निकाय केन्द्रीय सचिवालय नै दुई अंकभन्दा ठूलो बन्ने देखिएको छ। माथिल्लो निकाय हेडक्वार्टर भंग गर्दै माओवादीले केन्द्रीय सचिवालयलाई पार्टीको सर्वाेच्च निकाय बनाउने र त्यसको संख्या बढीमा ९९ सदस्यीय बनाउने बताएको थियो।

 

पछिल्लो समय एकता प्रक्रियामा सहभागी नेतालाई समेट्दा सचिवालय नै तीन अंकमा पुगेपछि सानो समिति बनाउने योजनामा ठेस लागेको माओवादी नेता बताउँछन्। संख्या घटाउन नसकेपछि माओवादीले जम्बो केन्द्रीय समितिको व्यवस्थापन संघीय संसद् र प्रदेशसभा निर्वाचनपछि मात्र गर्ने तयारी गरेको छ।

हेडक्वार्टर विघटन गर्दा माथिल्लो कमिटी केन्द्रीय सचिवालय बढीमा ९९ सदस्यीय बनाउने निर्णय माओवादीले भदौ तेस्रो साता गरेको थियो। तर, अहिले नै सचिवालयमा एक सयभन्दा बढी नेता छन्। अझै केही नेतालाई अटाउनुपर्ने भएकाले माओवादीलाई सचिवालय व्यवस्थापन गर्न हम्मे परेको छ। सचिवालयमा ८३ जना नेता यसअघि नै थिए भने पछिल्लो समय एकता प्रक्रियामा आएकै १७ भन्दा बढी नेता थपिइसकेका छन्।

धु्रवीकरण र एकता प्रक्रिया बढेपछि माओवादीले संगठनात्मक व्यवस्थापनका लागि गृहकार्य गर्न वर्षमान पुनको नेतृत्वमा कार्यदल नै गठन गरेको छ। कार्यदलमा नेता देवेन्द्र पौडेल, रामकुमार शर्मा, विश्वभक्त दुलाल, रामेश्वर राय यादव, जीवन खड्का सदस्य छन्। ‘संख्या थपिँदै गएपछि अब ९९ सदस्यीय संख्याको सीमामा मात्र बाँधिन नहुने र त्यसलाई खुलाउनुपर्ने विषयमा कार्यदल तहमा छलफल चलिरहेको छ,' सदस्य पौडेलले अन्नपूर्णसँग भने, ‘अध्यक्षसँग बसेर अब यसको सीमा खोल्नेबारे छलफल गरेर टुंगो लगाउने तयारी छ।'

कार्यदलले केन्द्रीय सचिवालयमा देवेन्द्र पौडेल, परशुराम तामाङ, पासाङ शेर्पा, कुमार पौडेल, वामदेव क्षत्री, महेन्द्र्र पासवान, बलावती शर्मा, सुशीला श्रीपाइली, मुक्ति प्रधान, अमरध्वज लामा र तिलक थापा लाई समेट्ने निर्णय गरेपछि उनीहरू सचिवालयमा समेटिइसकेका छन्। त्यस्तै, नयाँ शक्तिमै रहे पनि अलगै एकतामा आएका रामचन्द्र झा, रामकुमार शर्मा पनि सचिवालयमा परेका छन्।


पछिल्लो समय एकता प्रक्रियामा सहभागी नेतालाई समेट्दा सचिवालय नै तीन अंकमा पुगेपछि सानो समिति बनाउने योजनामा ठेस।

लोकतान्त्रिक फोरम नेपालका सहअध्यक्ष छाडेर माओवादी प्रवेश गरेका रामेश्वर राय यादव, सद्भावनाका संस्थापक महासचिव अनिस अन्सारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा छाडेर आएका जीवन खड्का पनि सचिवालयमा परेका छन्। ‘पार्टीको माथिल्लो निकायदेखि क्रमशः तल्ला कमिटीको व्यवस्थापन गर्ने गरी हामीले गृहकार्य गर्ने र व्यवस्थापनको काम पनि सँगसँगै गर्दै आइरहेका छौं,' पौडेलले भने।

उनका अनुसार अब दुई नम्बर प्रदेशको सोमबार हुने निर्वाचनलगत्तै सचिवालय, पोलिटब्युरोलगायत संगठनात्मक संरचनाको पनि व्यवस्थापनमा कार्यदलले होमवर्क गर्नेछ। ‘केन्द्रीय समितिमा रहनेको समायोजन भइसके पनि पोलिटब्युरोमा रहने नेताहरूको टुंगो लगाउन बाँकी छ,' अर्का नेता कुमार पौडेलले भने।
साउनमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकले केन्द्रीय आयोजक समिति घटाउन गरेको नीतिगत निर्णय भने फेरि लथालिंग भएको छ।

पार्टीको सातवटै प्रदेशको बैठकबाट केन्द्रीय समिति घटाउने सचिवालयको निर्णयलाई अनुमोदन गराउने र हेडक्वार्टर बैठक बसेर निर्णय लिने कार्ययोजना माओवादीले बनाएको थियो। त्यही कार्ययोजनाका आधारमा सातै प्रदेशले केन्द्रीय समिति घटाएर दुई अंकको बनाउने निर्णय अनुमोदन पनि गरिसकेको थियो। तर, अब त्यसलाई घटाउनेतिर भने माओवादीले तत्काल निर्णय नलिने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.