बुढी पोल्ने संक्रान्ति मनाइदैँ
बैतडी : आज असोज संक्रान्ति अर्थात बुढी पोल्ने दिन बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा यो पर्व धुमधामसँग मनाइदै छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ।
यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठलाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ। द्वापर युगमा राक्षसी पुतनाले राजा कंसको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाई उल्टै राक्षसी पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा सुदुरपश्चिममा यो पर्व मनाउने गरिन्छ।
बुढी पोल्ने पर्व राक्षसी पुतनाको बध गरेको खुशीयालीमा मनाउने गरिएको आचार्य घनश्याम लेखकले बताए। उनले भने,‘आसुरी प्रवृतिमाथि दैवीय शक्तिले विजय प्राप्त गरेको अवसरमा यो पर्व मनाइने गरिन्छ। यसले कसैले पनि गलत काम गर्नुहुँदैन। गलत कामको परिणाम पनि गलत हुन्छ भनेर देखाउँछ।'
जासुसी राक्षस पुतना दहनका लागि आज साँझ सबै घरबाट कांस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाँउमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए। उनले भने,‘बुढी पोल्दा लुतो फाल्ने भन्दै स्थानीय युवाहरु काँक्रो चपाउदै थुक्ने गर्दछन् र समाजमा भएका ठुलाबढा व्यक्तिहरुको नाम पुर्कादै लुतो लैजान भनी नाच्दै रमाउने गर्दछन्।'
साँझ आकासमा तारा चम्केपछिमात्रै राक्षसी पुतनाको पुत्ला दहन गरिन्छ। यसो गर्दा गोठमा पालिने जनावरहरुलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक जनविश्वास रहि आएको छ। यो पर्व सुदूरपश्चिमको पहाडी जिल्लाका साथै छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउँ, गढवालमा पनि मनाइने गरिन्छ। तर पछिल्लो समयमा बुढी पोल्ने पर्व लोप हुँदैछ।