शंखेकीरा खरिद गर्दै सहकारी
सुर्खेत : उत्पादन हुँदै गरेको बाली नोक्सान गर्न थालेपछि सुर्खेतमा शंखेकीरा संकलन अभियान थालिएको छ। खेतमा लगाइएको धान, मकै र तरकारीबालीमा नोक्सान पुर्याउन थालेपछि शंखेकीरा नियन्त्रण अभियान थालिएको हो। यो अभियानअन्तर्गत किसान खेतबारीमा रहेका कीरा संकलनमा जुटेका हुन्।
जिल्लाको भेरीगंगा नगरपालिकाका किसान शंखेकीराका कारण हैरान भएका छन्। किसानको पाक्दै गरेको बाली जोगाउन स्थानीय सहकारी संस्थाले शंखेकीरा खरिद सुरु गरेको हो। छिन्चुमा रहेको साना किसान सहकारी संस्थाले किसानबाट पाँच रुपैयाँ किलोमा शंखेकीरा खरिद गरेको हो। सहकारीले खरिद गर्न थालेपछि स्थानीय किसान खेतबारीमा रहेका शंखेकीरा संकलनमा जुटेका हुन्। किसानले बिक्रीका लागि कीरा संकलन गर्न थालेपछि बालीमा लाग्ने शंखेकीरा नियन्त्रणमा सहयोग पुगेको छ।
भेरीगंगा नगरपालिकाका विभिन्न वडामा लगाइएको बालीमा शंखेकीराले क्षति पुर्याएको हो। शंखेकीराले बालीमा क्षति पुर्याएपछि कृषकले हैरानी खेप्नुपरेको छ। यहाँ हरेक वर्षातको समयमा शंखेकीराले बालीमा क्षति पुर्याउने गरेको छ। बालीमा नोक्सान गर्न थालेपछि नियन्त्रणका लागि सहरकारीले यस्तो पहल सुरु गरेको हो। भेरीगंगा नगरपालिकाको सहयोगमा साना किसान सहकारी संस्थाले शंखेकीरा नियन्त्रण अभियान चलाएको छ। अभियानअन्तर्गत संस्थाले किसानलाई शंखेकीरा संकलन गर्न लगाई खरिद गरेको हो। किसानबाट खरिद गरिएको कीरा सहकारीले नष्ट गर्ने गरेको छ। यो अभियानमा पाँच सय २६ किसानले सहभागिता जनाएका छन्।
साना किसान सहकारी संस्थाले किसानबाट प्रतिकेजी पाँच रुपैयाँमा शंखेकीरा खरिद गरी नष्ट गर्ने गरेको छ।
किसानको बालीमा लागेका कीरा संस्थाले खरिद गरेको छ। अर्कोतर्फ किसानले आफ्नो बारीमा भेटिएका शंखेकीरा संस्थाले सञ्चालन गरेको कीरा संकलन केन्द्रमा ल्याएर बिक्री गरेका छन्। किसानलाई कीरा संकलन गर्न सजिलो र सबैकीरा उठाउन सकून् भनेर सहकारीले किलोको पाँच रुपैयाँ दिने गरेको छ। पाँच रुपैयाँ किलोमा बिक्री हुने भएपछि किसानले बालबालिका परिचालन गरेका छन्। यस्तै किसानले खेतमा खोजीखोजी कीरा संकलन गरेको सहकारीले जनाएको छ। पैसाको लोभ र बाली जोगाउन किसान सक्रिय भएपछि शंखेकीरा नियन्त्रणमा सजिलो भएको हो। स्थानीय किसान लक्ष्मी विकले शंखेकीराले बाली नोक्सान गरेको पीडा पोखिन्। सहकारीले खरिद गर्न थालेपछि आफ्नो बारीको कीरा पनि अरुले नै संकलन गरेकाले बाली जोगिने उनको विश्वास छ।
संस्थाले कीरा खरिद गरेर सम्बन्धित ठाउँमा खाल्डो खनी नष्ट गर्ने गरेको छ। कीरा मार्न कुनै पनि विषादी नभएका कारण कीरा नियन्त्रण गर्न कठिन भएको थियो। हालसम्म २९ क्विन्टलभन्दा बढी कीरा खरिद गरेर खाडलमा पुरिएको साना किसान सहकारी संस्थाका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिए। अभियान भेरीगंगा नगरपालिकाको शंखेकीरा प्रभावित वडामा सञ्चालन गरिएको थियो। भेरीगंगा नगरपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेकाले शंखेकीरा नियन्त्रण अभियानमा सहयोग गरिएको नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बताइन्। किसानका हरेक समस्या समाधान गर्नका लागि नगरपालिकाले आवश्यक अभियान सञ्चालन गर्दै जाने उनको भनाइ छ। नगरमा कीरा नियन्त्रणलाई दीगो समाधानको उपाय खोजी भइरहेको उनले बताइन्।
बर्सेनि शंखेकीराले बालीमा नोक्सान पुर्याउने भएकाले किसानलाई समस्या हुने गरेको छ। यसका लागि नगरपालिकाले विशेष योजना ल्याउने उनको प्रतिबद्धता छ। वर्षाको समयमा बढी मात्रामा देखिने यो कीरा भेरीगंगाका किसानका लागि टाउको दुखाइको विषय बनेको छ। हरेक वर्ष शंखेकीरा नियन्त्रण अभियान सञ्चालन गरे पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। यहाँका किसान बर्सेनि यो समस्याबाट पीडित छन्।