औद्योगिक ग्रामले उत्साह
धनकुटा : धनकुटा नगरपालिका-६ अमलटारस्थित लद्यु घरेलु औद्योगिक ग्रामको थप पूर्वाधार निर्माण गर्न सरकारले तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। गतवर्षदेखि औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै निर्माणको काम अघि बढाएपछि कोसी पहाडी क्षेत्रका उद्यमी उत्साहित भएका छन्। तत्कालीन सरकारले ३४ वर्षअघि २०४० सालमा सो ठाउँलाई औद्योगिक ग्राम घोषित गरेको थियो।
औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न गत आर्थिक वर्षमा सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो बजेटले कोसी राजमार्गदेखि औद्योगिक ग्रामसम्म आइपुग्ने पाँच सय मिटर बाटोमा ढुंगाको सोलिङ गरिएको थियो। त्यस्तै ग्रामको ६४ रोपनी जग्गामा सात सय मिटर लामो फ्रेमिङ वाल लगाइएको छ।
चालू आवका लागि छुट्टिएको बजेटबाट ग्रामभित्र उद्योगका लागि आवश्यक टहरा निर्माण गरिने धनकुटा नगर कार्यपालिका उद्योग विकास शाखाका निमित्त निर्देशक सत्यनारायण राईले बताए। ‘सरकारबाट वर्षैपिच्छे बजेट विनियोजन हुन थालेपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढेको छ', उनले भने। उद्योगहरूलाई एउटै क्षेत्रमा ल्याएर उद्योगलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, कच्चापदार्थ उपलब्ध गराएर एकै थलोमा सञ्चालन गर्ने ग्रामको उद्देश्य रहेको उनले बताए।
औद्योगिक ग्रामको भौतिक पूर्वाधारको काम अघि बढेपछि कोसी पहाडी जिल्लाका उद्यमीले वर्षौंदेखिको सपना पूरा हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटा शाखाका अध्यक्ष विजयसन्तोषी राईको भनाइ छ। ‘लघु औद्योगिक ग्रामको काम सम्पन्न भएर छिट्टै सञ्चालन होस् भन्ने सबै उद्यमीको चाहना छ', उनले भने।
औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न गत आर्थिक वर्षमा सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सो ग्रामभित्र आर्थिक वर्ष २०७१/७२ मा २५ लाख रुपैयाँ खर्चेर तालिम केन्द्र र चौकीदार भवन निर्माण गरिएको थियो। देशको केन्द्रीकृत शासन व्यवस्थालाई विकेन्द्रीकरण गर्ने नीतिअनुरूप तत्कालीन राजा वीरेन्द्रले २०२९ सालमा पाँच विकासक्षेत्रको घोषणा गरेसँगै धनकुटालाई पूर्वाञ्चल विकासक्षेत्रको सदरमुकाम बनाइएको थियो। विकासक्षेत्रका सदरमुकाममा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुरूप तत्कालीन राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणका क्रममा २०४० सालमा औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
औद्योगिक व्यवस्थापन लिमिटेड काठमाडौंको नाममा रहेको उक्त जग्गालाई अहिले धनकुटा नगरकार्यपालिका उद्योग विकास समितिको नाममा नामसारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उक्त समितिले निर्णय गर्न मात्र बाँकी छ। २० वर्षअघि सरकारले ५६ लाख रुपैयाँ बजेट विनियोजन गरी अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिने र प्रारम्भिक सर्वेक्षण गरी पानीको पाइपलाइन बिछ्याउने, सामान्य रूपमा काँडेतार घेराबार कार्य भएको थियो। घरेलु उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौंले तयार गरेको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो।
औद्योगिक ग्रामभित्र तीन खण्डमा ६४ ब्लक बन्नेछन्। यहाँ सानो पुँजीमा सञ्चालित सानो परिणामका उद्योग (फलफूल प्रशोधन, ग्रिल उद्योग, फर्निचर) रहने यादवले बताए।
धनकुटा नगरपालिका-६ अमलटार निर्माणाधीन लद्यु घरेलु औद्योगिक ग्राम। चालू आवमा ग्रामभित्र थप भौतिक पूर्वाधार निर्माण गर्न सरकारले तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।