घट्न थाल्यो बैंकको ब्याजदर
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउन थालेका छन्। कर्जाको ब्याजदर तत्काल घटाउन नसक्ने अडान राख्दै आएका बैंकले अधिक तरलतापछि ब्याजदर घटाउन थालेका हुन्। संस्थालाई प्रत्यक्ष फाइदा पुग्ने कर्जाको ब्याजदर कायमै राखेर वित्तीय संस्थाले बचतकर्ताको हिस्सामा पर्ने फाइदा भने कटौती गरेका हुन्। बैंक तथा वित्तीय संस्थाले मुद्दति खातामा सञ्चित रकमको ब्याजदर घटाउँदा व्यक्तिगत बचतकर्ताभन्दा संस्थागत निक्षेपकर्तालाई बढी बेफाइदा हुने देखिएको छ।
निक्षेपमा व्यक्तिगत बचतकर्जाको हिस्सा धेरै भए पनि व्यक्तिको बचत सानो आकारमा हुने हुँदा दुई/तीन प्रतिशत ब्याज घट्दासमेत खासै ठूलो असर नपर्ने देखिएको बैंकर्सले बताएका छन्। संस्थागत निक्षेपकर्ताको ठूलो रकम हुने भएकाले थोरै ब्याजदर घट्दा पनि ठूलो असर पर्ने देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा नौ खर्ब ९८ अर्ब २५ करोड र बचतमा आठ खर्ब १६ अर्ब ६७ करोड निक्षेप छ।
अहिले बैंकिङ प्रणालीमा ७१ अर्ब रुपैयाँभन्दा बढी पुँजी छ जुन अधिक तरलता हो। अधिक तरलताका कारण ब्याजदर घटाउने दबाबमा बैंकहरू परेका हुन्। कतिपय बैंकर्सले असोजदेखि निक्षेपको ब्याजदर घटाएर दोस्रो त्रैमासपछि कर्जाको ब्याजदर घटाउने योजना बनाइरहेका छन्। यसलाई सहयोग पुर्याउन ब्याजदर घटाए भन्न नमिल्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए। ‘कर्जाको माग बढी भयो भने ब्याजदर कम नहुन पनि सक्छ', उनले भने, ‘अहिले घटाएको भनेको अधिक तरलताको कारण नै हो। ‘पछिल्लो समय बैंकको ‘कस्ट अफ फन्ड' पनि घटेको छ, यो सुधार हुने संकेत हो', उनले भने, ‘पुरानो कर्जाको ब्याजदर नघटाए पनि नयाँ कर्जा प्रवाह गर्दा भने दुई प्रतिशतसम्म ब्याजदर घटेको छ।'
ब्याजदर घटाउने वित्तीय संस्थामा ग्लोबल आईएमई, प्रभु, सानिमा, नबिल, नेपाल इन्भेस्टमेन्ट, नेपाल बंगलादेश, एनबी, नेपाल बैंक लिमिटेडलगायत छन्।
हाल अधिक तरलताकै असोजदेखि लागू हुने गरी वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएको दाहालले बताए। गत वर्ष पहिलो त्रैमासमा अत्यधिक लगानी भएपछि क्रेडिट क्रन्चको अवस्थामा पुगेका बैंकले निक्षेप संकलनलाई बढावा दिन चार/पाँच प्रतिशतमा रहेको मुद्दति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशतभन्दा माथि पुर्याएका थिए। बजारमा तरलता अभाव देखिँदै गर्दा गत असोज २०७३ देखि बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाउँदै लगेका थिए। अहिले निक्षेप संकलनलगायत कारण वित्तीय संस्थामा अधिक तरलता देखिएपछि विकल्पका रूपमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउन लागेका हुन्।
ब्याजदर घटाउने वित्तीय संस्थामा ग्लोबल आईएमई, प्रभु, सानिमा, नबिल, नेपाल इन्भेस्टमेन्ट, नेपाल बंगलादेश, एनबी, नेपाल बैंक लिमिटेडलगायत छन्। ग्लोबल आईएमईले दुई वर्षमाथिको निक्षेपका लागि ६ दशमलव ५० र एक वर्षमाथिका लागि सात दशमलव ५० प्रतिशत तोकेको छ। नेपाल बंगलादेश बैंकले पनि व्यक्तिगत निक्षेपकर्ताका लागि अधिकतम आठ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेको छ। उक्त दर दुई वर्षभन्दा बढीको निक्षेपमा लागू हुनेछ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ‘स्पेसल ब्लक' निक्षेप खातामा व्यक्तिगत निक्षेपकर्ताका लागि नौ प्रतिशत ब्याज तोकेको छ। अन्य निक्षपकर्ताका हकमा अधिकतम आठ प्रतिशतमा ब्याजमा सीमित गरेको छ। एनबी बैंकले पनि नौ प्रतिशतमा निक्षेप संकलन गर्ने भएको छ। नबिल बैंकले आठ, प्रभुले साढे नौ, सनराइजले साढे आठ प्रतिशत ब्याजदर कायम गरेका छन्। लगानीयोग्य पुँजी नभएका बेला व्यक्तिगतभन्दा संस्थागत निक्षेपमा बढी ब्याजदर दिँदै आएका बैंकले अब केहीपछि उक्त निक्षेपमा ह्वात्तै ब्याज घटाउने संकेत गरेका छन्।
नेपाल राष्ट्र बैंकको विभिन्न निर्देश तथा निर्देशिकाले पनि अबको केही समयपछि बैंकमा तरलता थुप्रिने देखिएको छ। बढी कर्जा प्रवाह हुने क्षेत्र घरजग्गाको मूल्य बढेका कारण किनबेच त्यति हुन सकेको छैन भने सवारी र सेयर कर्जामा लगाम लगाएको छ। राष्ट्र बैंकले तोकेभन्दा बढी लगानी गर्न नपाउने व्यवस्थाले लगानीको क्षेत्रलाई खुम्चाइदिएको छ।