सभामुखको विदेश मोह
नेपालका नेता र उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणप्रतिको मोह बुझिनसक्नु छ । आफ्नो पदको गरिमासँग मेल नखाने ससाना कार्यक्रममा सहभागिता जनाउन विदेश भ्रमणमा जाने प्रवृत्ति हाम्रोमा बढी नै छ । यस्तो प्रवृत्तिको लहरमा अहिले सभामुख ओनसरी घर्तीमगर उभिन पुगेकी छन् । संसद्मा महत्वपूर्ण विधेयक विचाराधीन रहेको र संसद्को आयु छोटिँदै गएको अवस्थामा सभामुखले एकपछि अर्को भ्रमण गर्नु कति उपयुक्त हो ? असोज ४ देखि ८ सम्म चीनको कुन्मिङ जाँदै गरेकी सभामुख घर्तीमगर फर्किंदा दसैंको वातावरणले छोपिसक्छ ।
दसैंका बेला संसदीय गतिविधि खासै हुँदैन । कोजाग्रत पूर्णिमाअगाडि असोज १८ देखि २२ सम्म उनी दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) का सभामुखस्तरीय बैठकमा भाग लिन श्रीलंका जाने तयारीमा छिन् । असोज २८ देखि ३० सम्म रूसमा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयु) को बैठकमा पनि सहभागी हुन रुचि देखाएकी सभामुख श्रीलंकाबाट फर्केपछि रूसका लागि प्रस्थान गर्नेछिन् । यस बीचमा नेपालमा एक साता पनि उनी रहने छैनन् । यी शृंखलाबद्ध भ्रमणको सीधा असर संसद्को बिजनेसमा पर्नेछ ।
संसद्को आयु एक महिनाजति बाँकी रहँदा राष्ट्रिय सभा निर्वाचन, राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन, कर्मचारी व्यवस्थापनलगायत महत्वपूर्ण विधेयक पारित गर्नुपर्नेछ । यी विधेयक संघीयतातर्फको रूपान्तरणको लागि असाध्यै महत्वपूर्ण छन् । यसका अलावा अहिले संसद्मा ३६ वटा विधेयक विचाराधीन छन् ।
यी विधेयक तयार गर्ने क्रममा राज्यको धेरै लगानी परेको छ र अहिले पास नहुने हो भने यी विधेयक अब बन्ने संसद्मा नसरेर अलपत्र पर्न सक्छन् । मुलुकी ऐन प्रतिस्थापन गर्ने देवानी संहिता पनि चाँडो पारित गर्नुपर्ने अवस्था छ । स्वदेशमा यस्ता महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने बेलामा र संसद्को आयु छोटो हुँदा सभामुखले एकपछि अर्को विदेश भ्रमणको योजना बनाउनु उचित होइन ।
श्रीलंकामा हुने सार्कस्तरीय सभामुखहरूको बैठकमा सभामुख घर्तीमगरको उपस्थिति स्वाभाविक हो । यसबाहेकका अन्य कार्यक्रममा उनले आफू नगएर आफ्ना प्रतिनिधि पठाउन सक्ने प्रकृतिका छन् । त्यसकारण कम महत्वका भ्रमण रोकेर भए पनि संसद्लाई बिजनेस दिनेतिर सभामुखको ध्यान केन्द्रित हुनुपर्छ । तर सभामुखको ध्यान विदेशतिर छ । उनले विदेश भ्रमणप्रति मोह देखाउँदै त्यसको लागि हतारिनु पदीय गरिमाको दृष्टिले सुहाउँदैन ।
त्यसो त दलका नेता, कर्मचारी र अन्य जिम्मेवार पदमा रहेका व्यक्ति विदेश भ्रमणमा ज्ञान लिन र बाँड्नभन्दा पनि सयर गर्दाको मज्जा लिन यसप्रति बढी आकर्षित हुन्छन् । त्यसबाट राज्यकोषमा व्ययभार पनि पर्छ । राज्यका जिम्मेवार ओहोदामा भएका व्यक्तिले सयर गर्नकै लागि विदेश जान रुचि देखाउनु आपत्तिजनक हो ।
विदेशमा हुने कार्यक्रममा सहभागी हुनु र त्यहाँबाट प्राप्त ज्ञान र अनुभव राष्ट्र हितमा प्रयोग गर्नुलाई सकारात्मक पक्ष मान्न सकिन्छ । हाम्रोजस्तो कम विकसित र धेरै सीमितता भएको देशको नागरिकका लागि विदेश भ्रमण सामान्यतः नयाँ विषय सिक्ने खालकै हुन्छन् । तर हामीकहा“ विदेश घुम्न र रमाइलो गर्न जाने प्रवृत्ति बढी छ । अहिले सभामुख एकपछि अर्को विदेश भ्रमणमा जानु भनेको कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो । तसर्थ सभामुखले विदेश भ्रमणका कार्यक्रम स्थगित गरेर महत्वपूर्ण विधेयक पारित गर्न समय सदुपयोग गर्नु विवेकसम्मत हुनेछ ।