असी रुपयाँ तिर्न एक हजार खर्च
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ५ का दीपेन्द्रबहादुर विष्टले असी रुपैयाँ विद्युत् महसुल बुझाउन पाँच सयभन्दा बढी खर्च गर्ने गरेका छन् । विद्युत् महसुल बुझाउन ३ घन्टा पैदल हिँडेर पाटन पुग्नुपर्ने बाध्यता छ उनलाई । जिल्लाकै डिलासैनी गाउँपालिका ६ गोकुलेश्वरका कृष्णनाथ योगीलाई पनि असी रुपैयाँ विद्युत् महसुल बुझाउन एक हजारभन्दा बढी खर्च गर्नुपर्छ । उनले भने, 'गोकुलेश्वरबाट सदरमुकाम पुग्न तीन सय एकतर्फी गाडी भाडा लाग्छ । खाना नास्ता गरेर असी रुपैयाँ तिर्न एक हजारभन्दा बढी खर्च हुन्छ ।'
दीपेन्द्र र कृष्णनाथजस्तै पाटन नगरपालिका १० सिद्धपुरका भानदेव पन्तले पनि विद्युत् महसुल बुझाउन एक हजार खर्च गर्नुपर्छ । उनले भने, 'नजिकै विद्युत् महसुल काउन्टर नहुँदा पाटन पुग्नुपर्छ । पाटन पुग्न भाडा, खाना खर्च, नास्तालगायत गरेर एक हजारभन्दा बढी खर्च हुन्छ । विद्युत् महसुल समयमा नबुझाए हर्जाना तिर्नुपर्ने बाध्यता छ ।'
बैतडीमा विद्युत् महसुल बुझाउन सदरमुकाम र पाटनमा मात्रै व्यवस्था गरिएको छ । यसले गर्दा दुवै ठाउँबाट टाढा रहेका नागरिकलाई महसुल बुझाउन निकै सास्ती छ । दशरथचन्द नगरपालिकाकै कतिपय ठाउँका नागरिकले नियमित महसुल बुझाउन पाँच सयभन्दा बढी खर्च लाग्ने बताएका छन् । नगरपालिकाको १, २, ९, ११ र १२ वडाका बासिन्दालाई महसुल बुझाउन महसुलभन्दा बढी रकम खर्च गर्नु परिरहेको छ । यस्तै सुर्नया गाउँपालिका, दोगडाकेदार, डिलासैनी, पाटन नगरपालिकाका विभिन्न वडाका नागरिकलाई विद्युत् महसुल बुझाउन निकै झन्झट छ ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्र । अन्नपूर्ण
नेपाल विद्युत् प्राधिकरणसँग महसुल बुझाउन नजिकै काउन्टर खोल्न पटकपटक आग्रह गरिएको भए पनि केही सुनुवाइ नभएको डिलासैनी ६ गोकुलेश्वरका महेश भण्डारीले बताए । उनले भने, 'विद्युत् महसुल बुझाउन नजिक काउन्टर खोल्न धेरैपटक आग्रह गर्यौं तर सुनुवाइ भएन् । नजिक काउन्टर नहुँदा असी रुपैयाँ तिर्न हामीले एक हजारभन्दा बढी खर्च गर्नुपरिरहेको छ । गाउँका अन्य मानिसको समेत कार्ड लिएर गएको दिन सदरमुकाममै बस्नुपर्ने हुन्छ । त्यो दिन दुई हजार खर्च हुन्छ ।'
नेपाल विद्युत् प्राधिकरणले द्वन्द्वकालमा विस्थापित भएका विभिन्न ठाउँका महसुल संकलन मोबाइल काउन्टर सञ्चालनमा ल्याउन नसक्दा उपभोक्ता मारमा परेका हुन् । महसुल बुझाउन उपभोक्तालाई समस्या भएको कुरा बुझे पनि केही गर्न नसकिने अवस्था रहेको प्राधिकरण बैतडी वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत रुद्रराज पन्तले बताए । उनले भने, 'द्वन्द्वअघि पाँचभन्दा बढी ठाउँमा मोबाइल काउन्टर थिए । यसले उपभोक्तालाई सजिलो भएको थियो । तर कर्मचारी अभाव र व्यवस्थापन गर्न नसक्दा काउन्टर सञ्चालन गर्न सकिएको छैन् ।'
विद्युत् महसुल बुझाउन गाह्रो भएको जानकारी मौखिक रूपमा आए पनि लिखित रूपमा भने कसैले कार्यालयसँग गुनासो नगरेको पन्तले बताए । उनले भने, 'विद्युत् महसुल काउन्टर सञ्चालन गर्न अति आवश्यक भए पनि कर्मचारी अभावका कारण तत्काल सञ्चालनमा आउने कुनै सम्भावना छैन ।'