रौतहटमा तारजालीले घेरेर मतगणना सुरु
रौतहट : रौतहटका केही तहमा मध्यरातबाट मतगणना सुरु भएको छ । केही तहमा गणना सुरु भएको छैन । सदरमुकाम गौर त्यसैगरी जिल्लाका ठूला नगरपालिका चन्द्रपुर, परोहा, फतुवा बिजयपुर, बौधिमाइ लगायत नगरपालिकाको मतगणना सुरु भएको छ ।
बृन्दाबन नगरपालिकामा बदरमत दलका प्रतिनिधीहरु लाइ नदेखाइ कर्मचारीहरुले नै भन्ने जानकारीपछि एमालेले गणना रोकेको छ । राजदेवी नगरपालिकामा पनि बिहान ८ बजे देखि मतगणना सुरु हुने बताइएको छ ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ । चन्द्रपुर, गौर, मौलापुर नगरपालिकाको गणनास्थलमा तारजाली लगाइएको छ । गणनास्थलमा सबै सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख राजन श्रीवास्तवले जानकारी दिए ।
सोमवार भएको मतदानमा रौतहटमा ७५ प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाको मतपेटिका मध्यरातसम्म गणनास्थलसम्म पुर्याइएको थियो ।
सदरमुकाम गौरको मतपत्र जिल्ला विकास समितिको हलमा गणना हुनेछ भने चन्द्रपुर नगरको जनज्योती क्याम्पस र गरुडा नगरको नमुनामावि गरुडामा हुनेछ । अन्य नगर तथा गाउँपालिकाको गणना पायक पर्ने उपयुक्त स्थानमा गणना हुँदै छ ।
रौतहटमा एक लाख ७५ हजार ६३ पुरुष र एकलाख ५४ हजार ९ सय ५४ महिला गरी ३ लाख २१ हजार १८ मतदाता छन । जिल्लाको २ सय ७७ मतदान स्थलको ४ सय ४३ मतदान केन्द्रमा सोमवार मतदान भएको हो ।