नेचर रिट्रिट ट्राभल्सको ‘दशैं तिहार’ टुर प्याकेज
काठमाडौं : दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष टूर प्याकेज धमाधम घोषणा गरेका छन् । पर्यटकीय याम शुरु भएसँगै पर्यटन व्यवसायीहरुले टूर प्याकेज घोषणा गरेका हुन् । चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षण गर्न यतिखेर आकर्षक कार्यक्रम ल्याइरहेका हुन् ।
आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘नेचर रिट्रिट टुर एन्ड ट्राभल्स’ले चाडपर्व लक्षित गरेर विशेष ‘टूर प्याकेज’ ल्याएको छ । सेवामा विविधीकरण गर्दै कम्पनीले स्वदेश तथा विदेशका प्रमुख पर्यटकीय गन्तव्यमा जाने पर्यटकलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । पाँच दिन र सात दिनको टूर प्याकेजमा पर्यटकीय गन्तव्य घुमघामसँगै स्वास्थ्य उपचार पनि उपलब्ध गराइने बताइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नयाँ टूर प्याकेज ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालले जानकारी दिए । नेपालबाट जाने पर्यटकका लागि हाल थाइल्याण्डको चर्चित सिकारिन अस्पतालमा उपचार उपलब्ध गराइने छ । त्यहाँ हाडर्जोनी र नशासम्बन्धी सम्पूर्ण उपचार पाउने छन् । विदेशी पर्यटकका लागि नेपालमा योगा चिकित्सा, थेरापी आदि उपचारको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गरिरहेको छ । यो याममा विदेशी पर्यटक नेपालका मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा चर्चित पदयात्रामा निस्कने गर्छन् भने धेरै नेपाली विदामा घुमफिरका लागि लोकप्रिय एसिया तथा युरोपका गन्तव्यमा जाने गर्छन् । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरी व्यवसायीले पनि सोही किसिमका प्याकेज ल्याउने गरेका छन् ।