सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक
काठमाडौं : सामसङले बहुप्रतीक्षित फ्ल्यागसिप स्मार्टफोन ‘सामसङ ग्यालेक्सी नोट ८’ सोमबार नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘एसपेन’ र दुईवटा क्यामेरा भएको ग्यालेक्सी नोट ८ लाई सार्वजनिक गरेको हो । यससँगै यसको प्रि-बुकिङ पनि खुला भएको कम्पनीले जानकारी दिएको छ ।
विशेषगरी प्रोफेसनल प्रयोगका लागि विश्वबजारमा चिनिएको सामसङ नोट सिरिजका स्मार्टफोनमध्ये नोट ८ सबै कुराले पूर्ण रहेको सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताए । कम्पनीले यसअघि बजारमा आएको नोट ७ मा देखिएको ब्याट्री समस्यालाई निर्मूल पार्दै नोट ८ बजारमा ल्याएको उनको भनाइ छ । कम्पनीले ब्याट्रीमा भएको घटनालाई आत्मसात् गरी त्यसलाई सुधार गर्दै नोट ८ ग्राहमाझ ल्याएको उनले जानकारी दिए । फोनमा ब्याट्री सुरक्षाका लागि कम्पनीले ‘८ पोइन्ट ब्याट्री सेफ्टी चेक’ सिस्टम प्रयोगमा ल्याएको स्थापितले बताए । यसले कति तापक्रममा स्मार्टफोनले कस्तो काम गर्छ र पानी छिर्दा मोबाइलले कस्तो काम गर्छ भन्ने जानकारी दिने उनको भनाइ छ ।
मानिसका सानाठूला सबै आवश्यकतालाई एउटै डिभाइसमा समेट्ने गरी एउटा पूर्ण प्याकका रूपमा समासङ नोट ८ सार्वजनिक भएको हो । कम्पनीका अनुसार नोट ८ मा राखिएको एसपेनको सहायताले स्मार्टफोन प्रयोगकर्ताले नयाँ अनुभव लिन सक्नेछन् । कम्पनीले फिनर टिम सुविधासहितको प्रेसर सेन्सेटिभयुक्त एसपेन प्रयोगमा ल्याएको छ । फोनमा सुरक्षाका लागि सामसङ नक्स प्रविधि प्रयोग भएको छ । ६.३ इन्च क्वाड एचडी प्लस सुपर एमलोड इन्फिनिटी डिस्प्लेका साथ आएको नोट ८ मार्फत एकैपटकमा धेरै कार्य गर्न सकिने कम्पनीले जानकारी दिएको छ । स्मार्टफोनमा मल्टी विन्डोजका साथै एप पेयर सिस्टमसमेत छ ।
सामसङ ग्यालेक्सी नोट ८ को मूल्य एक लाख २ हजार ९९० रुपैयाँ छ । ग्राहकले यसको प्रि-बुकिङमा सामसङ कन्भर्टिभल वायरलेस चार्जर निःशुल्क पाउनेछन् ।
यसमार्फत भिडियो हेर्दै गरेको अवस्थामा पनि साथीलाई मेसेज वा फोन गर्न सकिनेछ । फोनमा स्क्रिन अफ मेमोका साथै परिष्कृत एसपेनमार्फत कुनै पनि कुरालाई ७१ वटा भाषामध्ये आफूलाई आवश्यक परेको भाषामा रूपान्तरण गर्न सकिनेछ ।
सामसङले हालसम्मकै शक्तिशाली क्यामेरा आफ्नो ग्यालेक्सी नोट ८ मा प्रयोगमा ल्याएको छ । यसमा १२ मेगापिक्सेलका दुईवटा क्यामेरा लेन्स प्रयोगमा छन् । फोटो र भिडियोका लागि अप्टिकल इमेज स्टेबलाइजर (ओआईएस) प्रविधि छन् । यसमार्फत प्रयोगकर्ताले वाइड एंगल र टेलिफोटो दुवै खिच्न सक्ने कम्पनीले जनाएको छ । मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलोपटक प्रयोगमा आएको कम्पनीको दाबी छ । क्यामेरामा प्रयोग भएको लाइभ फोक प्रविधिले उच्चस्तरीय फोट खिच्न मद्दत गर्नेछ । यसले फोटोको ‘डेफ्त फिल्ड’लाई नियन्त्रण गरी कुनै पनि फोटो लिनुअघि र पछि ‘बोके इफेक्ट’ मिलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
६ जीबी र्याम र ६४ जीबी रोमका साथ नोट ८ आएको हो । १० एनएम प्रोसेसरमा आधारित यो स्मार्टफोनमा वायरलेस चार्जिङ सुविधा पनि छ । यसमा आईपी ६८ प्रविधि प्रयोग गरिएको छ । यसले स्मार्टफोनलाई धूलो र पानीबाट सुरक्षित गर्नेछ ।
३३ सय एमएएच ब्याट्रीका साथ बजारमा आएको यो स्मार्टफोनको बजारमूल्य एक लाख २ हजार ९९० रहेको छ । स्मार्टफोनका प्रि-बुकिङमा ग्राहकले सामसङ कन्भर्टिभल वायरलेस चार्जर निःशुल्क प्राप्त गर्नेछन् । साथै ग्राहकले एससलेको १६ जीबी डाटा, प्रतिमहिना २ जीबी दरले आठ महिनासम्म प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीले शिखर इन्स्युरेन्ससँगको सहकार्यमा आठ महिनाभित्र सेट फुटेमा बिमा सुरक्षाका साथै विभिन्न बैंकमार्फत सहज किस्ताबन्दी योजना पनि ल्याएको छ ।