दोस्रो अरुणिमा कपको उपाधि आयोजकले नै राख्यो
काठमाडौं : अन्तर विद्यालय स्तरीय ६-ए साइट पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक अरुणिमा माविले जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा बुद्ध सेकेण्डरी स्कुलमाथि ५-१ को फराकिलो जित निकाल्दै अरुणिमाले उपाधि जितेको हो।
फाइनल खेलमा अरुणिमाका कप्तान स्पन्दन बरालले ३ गोल गरे भने क्षीतिज गुरुङ तथा साब्दिक सिम्खडाले १-१ गोल गरे। दोस्रो स्थानमा चित्त बुझाएको बुद्ध सेकेण्डरी स्कुलका लागि सान्त्वना गोल पेम्बा लामाले गरे।
प्रतियोगितामा वेस्ट गोलकिपर, वेस्ट डिफेन्डरको उपाधि अरुणिमाका स्पन्दन बराल, सज्जल दाहाल र क्षीतिज गुरुङले जिते भने वेस्ट प्लेयर बुद्ध सेकेण्डरीका पेम्बा लामा बने।
प्रतियोगितामा राजधानीका १८ टिमको सहभागीता रहेको थियो। असोज ३ अर्थात् संविधान दिवशको अवसरमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपलले विजेता टिमलाई बधाई दिए।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा न नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा तथा काठमाडौं जिल्ला फुटबल संघका उपाध्यक्ष मजेश शाक्यले पुरस्कार वितरण गरे। अरुणिमा स्कुलले खेलकुद मार्फत् विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि अघिल्लो वर्षदेखि अरुणिमा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु गरेको विद्यालयका ईसीए सहायक संयोजक खेमराज ढकालले जानकारी दिए।